आज इतिहासको स्वर्णिम दिन : मुख्यमन्त्री केसी


बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रुाद केसीले संविधान दिवस–२०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै असोज तीन नेपाली इतिहासकै स्वर्णिम दिन भएको बताएका छन् । ‘सार्वभौम संविधान सभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै स्वर्णिम दिन हो । यो स्वर्णिम दिन प्राप्तार्थ भएका विभिन्न जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२–०६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूप्रति उच्च सम्मानसाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, मुख्यमन्त्रीले संविधान दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
उनले संघर्षका क्रममा घाइते अपाङ्ग योद्धाहरूप्रति सम्मानसहित स्वास्थ्य लाभको कामना गर्दै बन्दी, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् । केसीले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को गौरवपूर्ण अवसरमा प्रदेशवासी र समस्त देश, विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रदेशको निरन्तर समुन्नती तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको उनले जनाएका छन् । ‘यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु’, उनले भनेका छन् ।
संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरिएको उनले जनाएका छन् । ‘विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ’, उनले भनेका छन् ।
संविधानमार्फत संकल्प गरेको समृद्ध प्रदेश राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त रहेको उनले जनाएका छन् । ‘नयाँ संविधान जारी भएको ६ वर्ष पुगिसकेको सन्दर्भमा संविधान पालनमा केहीं चुनौती आए तापनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको छ । म यस अवसरमा संविधानको पूर्ण पालन र संवर्धनका लागि सबै प्रदेशबासी एवं नेपालीहरुमा आग्रह गर्दछु’, केसीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने मुख्यमन्त्रीको भनाई छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीयतह गरी ३ तहको राज्यको संरचनाबाट जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने गरी गरेको व्यवस्था अनुसार प्रदेश सरकारलाई संघ र स्थानीय तहरुलाई संयोजनका लागि महत्पूर्ण भूमिका निर्वाह गर्दै यस प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी , आत्मनिर्भर लुम्बिनी” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको कुरा समेत व्यक्त गर्दछु ’, उनले भनेका छन् ।
प्रतिकृया दिनुहोस्