April 23, 2025, Wednesday
२०८२ बैशाख १०

अवैध सत्ता उत्पादन

  • उमेशचन्द्र रिजाल

वर्तमान नेपाली राजनीतिमा देखिएको अस्थिर राजनैतिक अव्यवस्थाको मुख्य दोषी नेपालमा रहेका राजनैतिक दलहरु र तिनीहरुका अस्थिर मानसिक अवस्थाले गरेको जघन्य अपराध नै हो । नेपाली जनताको नाममा ल्याइएको संविधानको हर्कत पुरै नेपाली जनताकाविरुद्ध खडा भएर देशलाई अधमरो अवस्थामा बाँच्न वाध्य पारिएको छ । दलहरुको हर्कतलाई नजिकबाट हेर्ने हो भने यो पुरै जनता, देश र स्वयं पार्टीप्रति आवद्ध लाखौं लाख कार्यकर्ताहरुविरुद्धमा उन्मूख रहेको छ ।

दलहरुको हरेक भाषणमा जनताको नाम जपेको देखिन्छ । मानौं बलिका लागि ठिक पारेको बोको जस्तो । जनताका नाममा मागिएका भिखहरुले दलका नेताहरुले बाँडीचुडी मस्ती गरिरहेका छन् । पहिले (२०५२) पछि माओवादी समाप्त पार्न गरिएको खर्च र पछि दिल्ली सम्झौता हुँदै वर्तमान अवस्थामा आइपुग्दा मार्ने र मरिने एकै ठाँउमा बसेर जनताको नाममा लोकतन्त्रको दुहाइ दिंदै जनताको ढाड सेक्ने गरिएको अवैध सत्ता उत्पादन हो ।

Advertisement

किसान, मजदूर तथा गरीव जनताका नाममा विदेशी ऋण लिएर तिर्ने जनतालाई देखाएर मागिएको भिखले खडा गरिएको नेताका महत्वहरुको अन्त गर्ने बेला आयो कि ? हिसाब माग्ने अवस्थामा किसान मजदुर र आमनागरिक पुग्न सकेका छैनन् । लोकतन्त्रको नाममा कालो बादलले यसरी ढाकिदिएको छ कि प्रत्येक दलहरु मित्र लोकतन्त्रको नाममा चलाइएको माफियाले पुरै देश मदहोस छ । मात लागेझै यस्तो कुनै ठाउँ छैन, जहाँ अनुशासन नामको कुनै चित्र होस् । अझ यो अनुशासनहीनता पार्टी भित्र चरम अवस्थामा पुगेको छ ।

जुन–जुन पार्टीहरुले देश चलाए, लोकतन्त्रको नाममा तिनैतिनै पार्टी भित्र अलोकतान्त्रिक अनुशासनहीनता छ । जनताले बोल्न, लेख्न पाएका छन् । नेताहरुले खान खेल्न र बोलेका, लेखेका कुरामा परिहास गर्न पाएका छन् । कही कतै नेपाली समाजमा नपचाइएको संघीयता खराब व्यवस्था भन्यो की प्रतिगामीको बिल्ला भिराइन्छ ।

सबैभन्दा डरलाग्दो पाटो भनेको पार्टीहरु भित्र देखिएको चरम गुटबन्दी र त्यो गुटबदीले श्रृजित गरेको भयानक अनुशासनहीनता हो । त्यो अनुशासनहीनताको छिरा कर्मचारी, पुलिस प्रशासन, राजनैतिक दलहरुका भातृ संघसंगठनहरुमा टड्कारो रुपमा देखिन्छ ।

आफूलाई लोकतन्त्रको मसिहा र अग्रणी मान्ने नेपाली काँग्रेस आफै अराजकताको पर्याय बनेको छ । विगतदेखि वर्तमानसम्म विशेष गरेर २०४६ साल पछि सत्तारोहण गरेको काँग्रेस आफै भित्रको किचलो वर्तमानसम्म आइपुग्दा धेरै खुम्चिएको छ । बेलाबेला सत्तारोहण गर्ने र आफ्ने नीति, कार्यक्रम, दिशा–गन्तव्य विहीन भएर आफै भित्र सत्ता, पद र पैसाका लागि अनैतिक र नेपाली जनतालाई नकारात्मक दूरगामी असर पर्ने खेल खेल्ने काम भएको छ । यसको जिम्मेवारी कसले लिने ? एक अर्थमा भन्ने हो भनें यसको नेतृत्व गर्ने व्यक्ति मात्र जिम्मेवार छन् कि ? उनीहरुसँग भाइ अंश माग्ने अंशियारहरु पनि दोषी छन् ?

सुक्ष्म दृश्यले हेर्ने हो भने नेपाली काँग्रेस भित्रको गुटले देशको भविष्यलाई गंभिर मोडमा धकेलिदिएको छ । चार–चार वर्षसम्म आफ्ना भातृ संगठनहरु व्यवस्थित गर्न नसक्ने नेतृत्वले देशको के नेतृत्व गर्छ ? त्यसैले नेतृत्वका पछि लाग्ने युवा जमातले भविष्यमा नेपालको सुन्दर खाका कोर्ने असम्भव छ । युवा नेताहरुले जति नै क्रान्तिकारी, अग्रगामी र युगान्तकारी भाषण गरे त्यो कर्ण प्रिय हुन सक्छ, ताली बज्न सक्छ, आर्कोष र आशा मनमा पलाउन सक्छ तर त्यसको कार्यान्वयन कदापि हुन सक्तैन । त्यो फोकट टाइम पास मात्र हुन सक्छ ।

विहान–बेलुकी मजदुरी गरेर जीवन यापन गर्ने मजदुर, दिनभरी खेतमा काम गर्ने किसान, खाडी मुलुकको रुपमा विभिन्न चाप सहेर काम गर्ने युवाहरुका लागि यो संविधान, संसद र संसदभित्रका कर्तुतहरु, मन्त्री, प्रधानमन्त्री हेरफेरमा एक रत्ति पनि सरोकार छैन । आश्वासन मान्नु पर्छ, यही तप्काले सत्ता सिंढिमा पुर्याइएका दलहरुको कर्तुत चाहिँ श्रीमती, भाइ, साला र आफन्तमा मात्र अडेको देखिन्छ । देश र जनताप्रति कनै उत्तरदायित्व नभएका यिनीहरु आफन्त, आफ्ना गुट र अफ्ना छिमेकी मित्रहरुप्रति वढी उत्तरदायी छन् । यो भन्दा लाज मान्ने कुरा अरु के हुन सक्छ ??

दलहरुको केन्द्रीय अनुशासनहीनता र अकर्मण्यता प्रदेश, जिल्ला, नगर, गाउँ हुँदै वडावडामा सरेको छ । चाहे त्यो संविधान प्रदत्त तहहरु हुन् वा दलहरुका इकाइ हुन् । त्यस्तो अवस्था यो देशमा कसको हो भन्ने चिन्ता आमजनतमा रहेको पाइन्छ । जसले आफ्नो पार्टीका लागि तन, मन, धन र ज्यान दिएर यो संसारबाट नेपाल र नेपालीको भलो हुन्छ भनेर गए, उनीहरुको कठोर तपस्या सबै दलका नेताहरुले अवैध सत्ता उत्पादन गरेर खाइदिए ११