पोखरेलविरुद्धको उजुरी दर्ता गर्न प्रहरीले आलटाल गरेको माओवादीको आरोप


बुटवल – लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्री वलीको दिएको किटानी जाहेरी लिन प्रहरीले आलटाल गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ ।
साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर आफूलाई बन्धक बनाइएको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य खत्रीले बप्रहरीमा जाहेरी दिएकी थिइन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार पोखरेलसहित ४ जनालाई कारबाहीको माग गर्दै खत्रीले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न आलटाल गरेको लुम्बिनी प्रदेशसभाका माओवादी मुख्य सचेतक तुलाराम घर्ती मगरले आरोप लगाए ।
खत्रीले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका किरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् । उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दर्ता गर्न प्रहरीले आलटाल गरेको माओवादीले आरोप लगाएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको भए पनि विमलाको घटना सुरु दाङमा भएकाले त्यहाँ नै उजुरी दर्ताको लागि जानुपर्ने बताए । ‘हामी कहाँ आउनु भएको थियो तर यहाँ भन्दा उतै जानु पर्ने कानुनी आधार रहेको आफूहरूले उतै जान सल्लाह दिएका छौं’, उनले भने ।
माओवादीका प्रमुख सचेतक घर्तीले प्रहरीले बुटवलमा दर्ता गरेर दाङमा रिफर गर्नु पर्नेमा ढिलाइ गरेको बताए । प्रहरीले तीन दिनसम्म दर्ता गर्न आलटाल गरेको भन्दै आज दिउँसो डिआइजीसँग कुरा गरेर भए पनि दर्ता गर्ने उनले बताए ।
दाङ प्रहरीले भने जाहेरी आफूकहाँ आइनपुगेको बताएको छ। दाङ प्रहरी प्रमुख सुरेश काफ्ले दाङमा उजुरी आएको बिषयमा अहिलेसम्म आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘बाहिर के छ थाहा भएन । तर कहाँ अहिलेसम्म केही आएको छैन।’
दाङबाट उप निर्वाचनमा विजेता वली सुरुमा एमाले कि माओवादीको तानातान परेको बेला मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् । एमालेले उनी आफूहरूको सांसद रहेको र मुख्यमन्त्री कार्यालयमा स्वइच्छाले बसेको पत्रकार सम्मेलन गरी एमाले प्रमुख सचेतक ढकालले दाबी गरेका थिए ।
एमालेले अहिले पनि विमला र नवलपरासीबा निर्वाचित अजय बहादुर शाही एमालेको सूर्य चिन्हबाट टिकट लिएर चुनाव जितेकोले आफूहरू सांसद रहेको जिकिर गर्दै प्रदेशसभा अवरुद्ध पार्ने सम्मका गतिविधि गरेको छ ।
काओवादी सचेतक घर्तीले भने, ‘हामी अस्ति इलाका प्रहरी कार्यालय बुटवलमा गएका थियौं । तर प्रहरीले दाङ रिफर गर्नुपर्ने भन्दै अझैसम्म जाहेरी दर्ता गर्न आलटाल गरेको छ । हामीले यही गर्नुहोस् त्यसपछि जहाँ रिफर गरे पनि गर्नु होला भनेका छौं तर प्रहरीले मानेको छैन ।’








प्रतिकृया दिनुहोस्