March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

दाउन्ने खण्ड सधैं ‘धराप’

भैरहवा– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने पहाड नयाँ ‘धराप’ बनेको छ । ४–५ वर्षदेखि दाउन्ने खण्डमा बाह्रैमास यात्रुले सास्ती झेल्नु परिरहेको छ । हिउँदमा सुक्खा पहिरो र धुलोले सास्ती हुन्छ । वर्षायाममा पहिरो र हिलोले यात्रा कठिन बनेको छ ।

Advertisement

१४ किलोमिटर लामो खण्ड सांघुरो छ । बीचमा एउटा गाडी बिग्रिए घण्टौं जाम हुने गरेको छ । अहिले बुटवल–नारायणगढ खण्ड बिस्तार क्रममा छ । तर, यो खण्ड फराकिलो बनाइएको छैन । ठेक्का लागि सकेकाले यसको सुधारमा सडक डिभिजनले ध्यान दिएको छैन ।

Advertisement

ठेकेदार कम्पनीले यात्रुको कठिनाईलाई बेवास्ता गरेको छ । बुटवलबाट नारायणगढसम्म साढे दुई घण्टा यात्रा अवधि लम्बिएर ६ घण्टा भएको छ । मुलुकको मेरुदण्डका रुपमा रहेको राजमार्ग खण्ड अलपत्र परेको छ । अविरल वर्षाले दाउन्ने सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो खस्यो । केही स्थानमा सडक भाँसियो । सडक खुलाउन सडक विभाग र सुरक्षाकर्मीलाई तीन दिन लाग्यो ।

अmभै दाउन्ने सडक खण्डमा सहजरूपमा यात्रा गर्न कठिन छ । वैकल्पिक मार्ग नहुँदा घण्टौं जाममा परेर पनि यात्रु यात्रा गर्न बाध्य छन् । पूर्व–पश्चिम राजमार्ग निकै व्यस्त सडक हो । पश्चिम नेपालका सवारी साधन यही सडक हुँदै केन्द्रीय राजधानी र पूर्वी भेगसँग सम्पर्क कायम गर्ने गर्छन् । तर, यस सडकको दुरावस्थाका कारण चालक र यात्रुले दिनहुँ सास्ती भोग्नवाध्य छन् ।

सडक जीर्ण ह“ँदा हरेक दिन घण्टौं जाम हुने गर्छ । पहाडको खोंचमा रहेको यस सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । हरेक दिन सानाठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । बुटवल–काठमाडौं रुटका बस चालक कमल जीसीलाई दाउन्ने सडक सम्झँदा यो रुटमा सवारी नै चलाउन छोडौंजस्तो हुन्छ ।

दिनहुँ जाम र पहिरोको समस्याले समयमा गन्तव्य पुग्न सकिँदैन । यात्रुलाई समयमा गन्तव्य पुर्याउन नसक्दा यात्रुको भनाइ सुन्दा चालकलाई दिक्क लाग्छ । ‘सडक बिग्रेपछि तुरुन्त बनाउनुपर्नेमा वर्षौंसम्म पनि मर्मत नगर्दा सवारी साधन बिग्रने र इन्धन बढी लाग्ने गर्छ,’ उनले भने, ‘दिनहुँ सवारी साधनमा समस्या आउँदा एकातिर साहु रिसाउने र अर्कोतर्फ यात्रुको भनाइ सुन्नु पर्छ । सबैभन्दा पिर त एम्बुलेन्समा बिरामी छट्पटाएर जाममा परेको देख्दा सारै दुःख लाग्छ ।’

साँघुरो बाटोमा सवारी साधन पल्टिएपछि पन्छाउने स्थान नहुँदा दिनहुँ जाम भए पनि सडक विभागले यसलाई प्राथमिकतामै राखेको छैन । सामान्य टालटुलबाहेक सडकको अवस्था सुधार नगर्दा दिनहुँ जाम र पहिरोको जोखिम बढेको हो । हिउँदमा सुक्खा पहिरो जान थालेपछि सवारी साधन सञ्चालनका लागि थप कठिनाइ हुने गरेको छ ।

सडकको दायाँबायाँ पानीको निकास नहुँदा वर्षायामको पानीले सडक भत्काएको छ । भिरालो पहाडबाट झरेको भलपानीले सडक भरिँदा सडकमा खाल्टाखुल्टी छन् । पहाडका रुख ढलेर दुर्घटनाको जोखिम बढाएको छ । बुटवल–नारायणगढ सडक विस्तार हुनेक्रम जारी रहेकाले सडक विभागले यस खण्डमा खासै चासो दिएको देखिँदैन ।

मर्मत सम्भारको जिम्मा पनि सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीको भएकाले सरकारी निकाय उदासिनजस्तै छ । पहिरो गएर घण्टौंसम्म जाम पर्यो भने मात्र पहिरो हटाउन ठेकेदार कम्पनीलाई आग्रह गर्नुबाहेक अन्य काम सडक डिभिजनले नगर्दा सडकको अवस्था थप बिग्रिंदो छ । जसका कारण यात्रुले दिनहुँ सास्ती खेप्नुपर्ने अवस्था आएको हो ।

बाटोको अवस्था जीर्ण हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको छ । साँघुरो बाटोमा भारतीय ट्यांकर र ठूला सवारी उकालोमा गुड्दा सडकको अवस्था थप बिग्रिएको छ । ठूला सवारी साधन बिग्रिएपछि किनारा लगाउने स्थान नहुँदा घण्टौं जाम हुन्छ । कति सवारी यहाँ दुर्घटना भइसकेका छन् । कयौं घाइते भए । धेरैले ज्यान गुमाए । बैकल्पिक व्यवस्था गर्न सरकार निरीह बनेको छ ।