थारु समुदायमा अट्वारी पर्वको रौनक


भैरहवा– थारु बाहुल्य जिल्लामा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाइँदै छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात् श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वको रुपमा मनाउने चलन छ । मुलुकभरका थारु बाहुल्य जिल्लामा अट्वारी पर्वको रौनक छ ।
रुपन्देहीमा पनि अट्वारी पर्व मनाइने थारु अगुवा सन्तराम चौधरीले बताए । ‘द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन छ’, उनले भने ।
हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ । दुई दिनसम्म मानिने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको उनले बताए ।
अर्कोथरि मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ ।
अट्वारी पर्व थारु समुदायको दसैंपछिको ठूलो चाड भएकाले यसको महत्व धेरै रहेको थारु चौधरीले जनाए । अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । व्रत बसेका व्रतालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन छ । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ ।
अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् ।
‘चेलिबेटीको सम्मान गर्ने, सूर्य उपासनासँग जोडिएका भगवानहरुको पूजा र शक्तिशाली बलवान भीमको पूजा गर्ने चलन छ’, उनले भने, ‘यस पर्वमा मन प्रशन्न रहने, पारिवारिक समृद्धि हासिल हुने मान्यता छ ।’ तर पछिल्लो समय अट्वारीको मौलिकता लोप हुने अवस्थामा छ । यसको संरक्षण गर्न आवश्यक रहेको थारु थारु अगुवा बताउँछन् ।
लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दियामा थारु समुदायको बाहुल्यता छ । यी जिल्लामा यो पर्व धुमधामसहित मनाइँदै छ । ‘हाम्रा भाषा, कला संस्कृति लोप हुने अवस्थामा पुगेका छन्’, उनले भने, ‘यी लोक संस्कृति हाम्रा सम्पत्ति हुन् । यसको मौलिकता जोगाइराख्नु हामी सबैको जिम्मेवारी हो ।’
अट्वारी पर्वमा थारु बाहुल्य रहेका जिल्लाका स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् । थारु समुदायले आफ्ना पर्व र परम्परा मौलिक तरिकाले मनाउने गर्छन् । तर पछिल्ला दिनमा संस्कृति मनाउने मौलिक शैलीमा परिवर्तन आउन थालेको छ ।
प्रतिकृया दिनुहोस्