September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

गणतन्त्र : मदारीको खेलमा मस्त बाँदर

  • उमेशचन्द्र रिजाल

गणतन्त्रको रट लगाएर मात्र मुलुक बाँच्न सक्तैन । गणतन्त्र अथवा राष्ट्र छान्नु पर्याे भने हामी के छान्छौ ? २०६२–६३ पछिका १५ वर्ष र बहुदलीय ब्यवस्था पछिका ३१ वर्ष गरी जम्मा ४६ वर्षको हिसाब–किताब दलका नेताहरुले जनतालाई दिनु पर्छ की पर्दैन ? यसले मुलुकलाई कति आहात गर्यो ? गणतन्त्र र लोकतन्त्रको दुहाई दिएर मात्र जनता बाँच्न सक्तैनन् न राष्ट्र नै बाँच्न सक्छ ।

यस्ता प्रश्न उठ्नु आफ्नो ठाउँमा स्वभाबिकै ठानिएला तर यी प्रश्नहरु गंभिर र खतरनाक पनि छन् । नेपाललाई सुन्दर र समृद्घि राष्ट्र« बनाउन ल्याइएको गणतान्त्रिक लोकतन्त्रको यस्तो जर्जर अवस्थामा पुर्याउनेहरु मुलुककै अपराधि हुन् होइनन् ? यसलाई करिब–करिब अवसानतिर पुर्याउने को हुन् ? यो बर्तमानमा क्षतबिक्षत पारिएको छ । गणतान्त्रिक लोकतन्त्र ब्यवस्था भनेको ‘नङ्गा नाचे हजार दाउ’को रुपमा परिभाषित गर्न लागिएको छ ।

एउटा गहन र लामो इतिहास बोकेको नेपाली काँग्रेसले आफ्नो सत्ताबाहेक अरु केही देखेन । नत्र भनें नेपाली जनताको यस्तो हविगत हुने थिएन । जहिले पनि सत्ताको कुरुप खेलमा कसका लागि सहभागी भएको हो ? यसको उत्तर आम जनताले खोजिरहने छन् । मुलुकको यो नारकीय अवस्था, निर्लजता, लोकतन्त्रको धज्जी उडाउने काम कसका कारणले भएको हो ? यो ब्यवस्थालाई नारकीय ब्यवस्थाको पर्यायमा कसले रुपान्तरण गर्न लागेको हो ? यो गणतान्त्रिक ब्यवस्था कुन कारणले संबैधानिक राजतन्त्र भन्दा असल छ ?

आज आम नागकिका अगाडि बिकल्परहित भविष्य र डरलाग्दो वर्तमान छ । यो कसले गर्दा हो ? यो ब्यवस्थालाई कसरी नराम्रो भन्न सकिन्छ ? राज्यको ढुकुटी यही ब्यवस्थाको नाममा केन्द्रदेखि वडासम्म दोहन गर्न पाएकै छ । यहाँ कसैको तेजोवध गर्न र कसैलाई वा–वा गर्ने मनसाय पटक्कै होइन । गल्ति र कमजोरी भएका छन् भने यो वा उ बाट मात्र नभएर सबैबाट भएका छन् । जसले आजका दिनसम्म सत्ता संचालन गरे ।

आफ्नो नाङ्गोपन ढाक्न अरुको लुगा फुकाउने निर्लज्जतापूर्ण कार्यहरु बारम्बार भएका छन्, यो क्रम ऐले पनि जारी देखिन्छ । जनहितलाई मध्यनजरमा राखिएन भनें सत्तामा जानु–नजानुको केही अर्थ रहँदैन । गएको तीन दशक भन्दा बढी अवधि सत्ताको खिचातानी, अस्थिरता, अब्यवस्था र मनपरीतन्त्रले मुलुक ब्याप्त भयो । नेताहरुले आफ्नो अनुकूल नभएमा गणतन्त्र र लोकतन्त्रमा खतरा देख्छन् । जुन लोकतन्त्र वास्तविक अर्थमा हाम्रो देशमा छैन ।

नेतैपिच्छे प्रतिगमनको ब्याख्या छ । लोकतन्त्रमा खतरा देख्नेहरुले त्यो कहाँबाट ? कसरी ? कुन रुपमा ? आउन लागेको प्रष्टाउन जरुरी भएको छ । होइन भनें यो छाडातन्त्रमा लाने सबैले जिम्मेवार लिन जरुरी छ । हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्रको आगमनसँगै जनमतको तेजतबध भएको छ । जनतालाई आहत पारिएको छ र पूर्ण रुपले जर्जर बनाइएको छ ।

यो बयवस्थाले जनताका छोराहरुलाई सत्तामा त पुर्यायो तर सत्ताको मदले जनतालाई ढाँटने, छल्ने र धोका दिने काम मात्र भयो । नेकपा एमाले टुक्रिएको छ । पूर्ण बहुमतको सरकार निस्तेज भएपछि मुलुक र मुलुकका जनताले के प्राप्त गर्छन् ? यो अपराधको दोष कसले लिने ? अनिश्चयको खाडलमा देश धकेलिएको छ ।

पाँच वर्ष देश हाँक्न नसक्ने लाछिहरुले मुलुकलाई अँधेरो खाडलतिर धकेलिदिएका छन् । अनि, हामी रमिते बनेका छौं । नेपालका प्रमुख दलहरु पतित, पापी, फटाहा, निर्लज्ज, कामचोर आदि देखिएका छन् । यस्ता जालीका हातमा गणतन्त्र र लोकतन्त्र थमाउने हामी पनि कम जिम्मेवार छैनौं । दलहरुले हामीलाई २०४७ सालदेखि नै धोका दिँदै आइरहेका छन् । जनताका नाङ्गा डाढमाथि परेड खेलिरहेछन्, यो वा उ दलको नाममा ।

यिनीहरुलाई लोकतन्त्र बाँदरको हातमा नरिवल बोको छ । मदारीले जता नचायो उतै नाच्ने बाँदरलाई के थाहा उ किन त्यसरी नाच्दैछ ? तर तमासेहरुका लागि मनोरन्जन भएको छ । समय र पैसा बर्बाद भएको छ । राजनीतिका पण्डितहरुका पछाडि रहेका मदारीहरुको जबसम्म पर्दाफास हुन्न, जनताहरु तमासे मात्र भएर रहने छन् । राजनैतिक पीडादायी मनोरन्जनले नेताहरुलाई जनताहरुको सरोकारबाट निकै टाढा पुुर्याएको छ ।

अबको प्रश्न भनेको देश र जनताको अस्तित्व रक्षाको लडाइँ हो । राजनीतिमा बिश्वास सबै भन्दा ठूलो कुरा हो । यही बिश्वासको आधारमा ठूला–ठूला सन्धि, समझदारी, तथा संझौताहरु हुने गर्दछन्; राजनैतिक दलहरुमा पनि यो लागू हुन्छ । सत्ता र स्वार्थले माथि उल्लेखित कुनै पनि कुरा नेपाली राजनीतिमा लागू भएको देखिएन ।

समाजमा न्याय दिन्छु भन्ने दलले आफ्नै घरभित्र भएको अन्यायलाई पनि चिरफार गर्न सक्नु पर्छ । राष्ट्रको उन्न्ति भनेको जनताको उन्नति नै हो । ‘धनको लोभले राजनीतिलाई बिगार्दछ । धन र राजनीति एकसाथ चल्न गयो भनें समाज बिग्रन्छ । कसैलाई पनि धन कमाउन र राजनीति गर्न एक साथ दिनुहुन्न । धन कमाउन चाहन्छौ भनें राजनीति छोड भन्नु पर्छ । यसो गरिएन भनें राजनीति भ्रष्ट र बदनाम भई जनतामा गिर्छ ।’ भनेर सी.के. प्रसाई (भरतबाबु)ले आज भन्दा ३१ वर्ष अगाडि भन्नु भएको हो ।

गरिबी हटाउन जनताको नाममा बटुलिएको भोटले जहिले पनि जनताको ढाड सेक्ने काम गर्यो । लोकतन्त्रको दुहाइ दिएर पाएको भोटले निरंकुुश भएर शक्ति प्रदर्शन गर्यो । समाजमा समानताको जरो गाड्छु भनेर मागिएको भोटले असमानताको डरलाग्दो खाडल शृजना गर्यो । यसमा दोषी को ? अझै पनि रुख, सूर्य, हलोले (निर्जिव) सजिव (नेताहरु) ब्यक्तिहरुलाई बाटो देखाउन सक्छ र ? नेताहरुको व्यवहार, सदाचार र सैध्दान्तिक निष्ठा भएको भए उनीहरुको इज्जत कति हुन्थ्यो होला ? जनताको गाँस काटेर उठाइएको कर नेताहरुलाई मोज गर्न हो र ? लोकतन्त्र आदर्शको प्रतिक नभएर नातावाद, भ्रष्टाचार, कृपावाद, अनाचार, दुराचार, पापाचार र नैतिकताहीन सत्ता खेलमा परिणत भएको छ ।

झन्डाको रातो भागलाई कार्यकर्ताहरुको रगत चुस्ने–मार्नेको प्रतिक बनाएको छ भनें सेतो भाग लास ढाक्ने कात्रोको रुपमा..। अधोगतिको यो भन्दा पराकाष्ठा कहाँ देख्न सकिन्छ र ? नेपालमा अस्तित्वमा रहेका पार्टीका शुभचिन्तकहरु, पार्टीलाई माया गर्ने जनसमुदायहरुको हृदय छिया–छिया भएको छ । अझ पार्टीलाई आपत बिपतमा ज्यानको परवाह नगरी सघाउने कार्यकर्ताहरुको मनमा कत्रो बिषाद होला ? अझ नेताहरुले आफ्नो लहडमा सत्ताका लागि पार्टी फुटाउँदा कस्तो भएको होला ? नेपाली काँग्रेसले पार्टी फुटको पीडा भोगिसकेको छ, तै पनि लामो इतिहास र संघर्षपूर्ण बलिदान दिएर बाँचेको पार्टीले आफ्नो गनतब्य बिर्सिएको छ ।

सत्ताको घिनलाग्दो खेलमा अबैध तरिकाले धसिएको छ । गरीब नेपालीले फेरि राजनैतिक निकासका नाममा अरु धेरै दुःख भोग्नु पर्ने बाध्यता आइपरेको छ । नेपालमा अस्तित्वमा रहेका ठूला दलका नेताहरुप्रति जनताको बिश्वस छैन, किनकि बिगतमा यिनीहरुको कर्तुत नेपाली जनताले हेरिसकेका छन् । तै पनि बिकल्परहीत छन् ।

राजनीति गर्ने पण्डितहरुका लागि जसरी पनि चुनाव जित्नु पर्ने बाध्यता होला र त्यसका लागि आफ्ना–आफ्ना रणनीतिहरु तय गर्छन् र गर्दै आएका छन् । तर, बर्तमानसम्म आइपुग्दा मुलुकले त्राण पाउन सकेको छैन । बोल्न, सडकमा पसारिन, लेख्न, आदि पाएका छन् । यस्तो लोकतन्त्र संसारमा कहाँ छ र ? मुर्दाघाटमा विशाल शान्ति त छाएको हुन्छ तर लाश जलिरहेको हुन्छ, मौन कोलाहल हुन्छ र दुःख हुन्छ त्यहाँ ।

राजनैतिक खेलको मैदानमा कोही पनि नहार्ने बाचा गरेर उत्रिएका छन् । लोकतन्त्रलाई मदारीको खेल बनाइएको छ । आज मुलुक गन्तब्यबिहीन यात्रामा हिंडिरहेको छ । केही नेताहरुको राजनैतिक तुष्टि पुरा गर्न । लोकतन्त्रमा हार जितलाई सामान्य रुपमा लिन सक्नु पर्दछ तर यस्तो भइरहेको छैन । आफ्नो हारजित भन्दा देश र लोकतन्त्रको जित हुनुपर्नेमा यहाँ उल्टो भइरहेको छ ।

देश र लोकतन्त्रलाई नेताहरुले बिदेशीको खालमा दाउ लगाएका छन् । आफ्नो अडान बिदेशीसामु कुनै पनि एजेन्डामा नेताहरु राख्नै सक्तैनन् । यति नीरिह कुटनीति नेपाली इतिहासमा कल्यिै देखिएन । दल र पदलोलुप नेताहरु देखियो । मुलुकका लागि राजनेता र सफा दृष्टिकोण भएको देखिएन । नेपाली जनतालाई राजनैतिक दलहरुले जहिले पनि धोका दिएका छन् । दिएको जनमतको हुर्मत लिएका छन् ।

जनताले जाहेर गरेको अभिमतलाई कुरुप, नाङ्गो एवं बिभत्स बनाइरहेको बर्तमानमा पनि देखिरहेका छौ, लोकतन्त्रको नाममा..। केद्रदेखि प्रदेश एवं स्थानीय तहसम्म लोकतन्त्रको नाममा अराजकता प्रवेश गराएका छन् । राजनीति सही लिकमा हिँड्यो भने यसले मुलुकको भलो गर्दछ । राजनीतिमा घृणित खेल खेलियो भने एक क्षणलाई सत्ता, भत्ता र माला आउला तर त्यसले ल्याउने बिभिषिका अकल्पनीय हुन्छ । देश ऐले यही बाटोतिर लम्किरहेछ । सबैलाई चेतना भया …।