लुम्बिनीमा खुम्चियो माधव पक्ष, ओली पक्ष बलियो


लुम्बिनी – नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशमा कमजोर बनेको छ । एमाले बलियो बनेको छ । प्रभावशाली नेताहरु घनश्याम भुसाल, युवराज ज्ञवाली, गोकर्ण विस्ट एमालेमै रहेपछि माधवले नेतृत्व गरेको पार्टी खुम्चिएको हो । विगतमा यी नेताले नेपाललाई साथ दिँदै आएका थिए ।
एमाले विभाजन गरि नेकपा (एस) पार्टी खोलेका माधवकुमार नेपाल पक्षमा लुम्बिनीमा निकै कम जनप्रतिनिधि आएका छन् । केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेलाई धेरै जनप्रतिनिधिले साथ दिएका छन् । लुम्बिनीमा एक जना प्रदेशसभा सदस्य र ७१ जना स्थानीय तहका जनप्रतिनिधिले मात्रै नेकपा (एस) रोजेका हुन् ।
पहिले नेपाललाई साथ दिएका नेताहरु एमालेमै बसेपछि नयाँ दल रोज्नेहरुको संख्या कम भएको हो । लुम्बिनी प्रदेश सभामा पाल्पाका रमा घर्ती मगर मात्रै नेकपा एकिकृत समाजवादीमा खुलेकी छन् । लुम्बिनीमा एमालेका ३७ जना सांसद छन् । तर, पाल्पाकी घर्ती नयाँ दलमा गएपछि एमालेमा भने ३६ जना सांसद संख्या छ । यसअघि नेपाल पक्षमा खुलेका विष्णु पन्थी एमालेमै बसेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिले पनि निकै कम मात्रै नयाँ दल रोजेका छन् । सबैभन्दा धेरै दाङ जिल्लामा २१ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । रुपन्देहीमा घनश्याम भूसालले केही जनप्रतिनिधिलाई रोक्न सफल भएका छन् । रुपन्देहीमा नेकपा एमालेका एक जना उपमेय सहित सात जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याय भण्डारीले सोमबार ५ जना र मंगलबार २ जना गरि ७ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको बताए । मंगलबार रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ का सदस्यहरु सरस्वती पोखरेल र सितादेवी विकले एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिए । गुल्मीमा त एकजनाले पनि नेकपा (एस) रोजेनन् ।
नेकपा (एस) रोज्ने (स्थानीय तह जनप्रतिनिधि)
दाङ – २१
बाँके – ११
रुपन्देही– ७
प्युठान – ७
अर्घाखाँची – ६
बर्दिया – ६
रुकुम पूर्व – ५
रोल्पा – ५
पाल्पा –१
नवलपरासी (पश्चिम) –१
कपिलवस्तु – १
गुल्मी – ०
प्रतिकृया दिनुहोस्