March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

रूपन्देहीमा २६ जनप्रतिनिधिले रोजे नेकपा (एस) र लोसपा

भैरहवा– रुपन्देहीबाट २६ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) र लोकतान्तित्रक समाजवादी (लोसपा) रोजेका छन् । नयाँ दर्ता भएका यी दल रोज्नका लागि स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन आयोगले आजसम्मको समयावधि तोकेको थियो ।

Advertisement

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर नेकपा (एस) र लोसपा बनेका थिए । जिल्लाका १६ स्थानीय तहका जम्मा २६ जना जनप्रतिनिधिले नयाँ दलका सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत अयोध्या भण्डारीले जानकारी दिए ।

Advertisement

भण्डारीकाअनुसार १९ जना जनप्रतिनिधिले लोसपा रोजेका छन् भने ७ जनाले नेकपा (एस)मा सनाखत गरेका छन् । नेकपा (एस)मा सनाखत गर्नेहरुमा एक जना उपप्रमुख र अन्य वडासदस्यहरु छन् । यसअघि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवल उपमहानगरपालिका वडा नं २, ३ र ८ तथा तिलोत्तमा नगरपालिका वडा नं ११ का वडा सदस्यले यो पार्टीमा सनाखत गरेका थिए । मंगलबार देवदह नगरपालिका-७ का वडा सदस्यहरु सरस्वती पोखरेल र सीतादेवी विकले नेकपा एसमा सनाखत गरेका छन् ।

लोसपामा सनाखत गर्नेहरुमा मर्चवारी गाँउपालिका अध्यक्ष केशबनन्द बनिया र उपाध्यक्ष सुनिता कलवार छन् । बाँकी १७ जनाहरुमा वडाअध्यक्ष तथा वडा सदस्यहरु रहेको रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

नेपाली नागरिकको आधिकारिक परिचय–पत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाण–पत्र वा सम्बन्धित स्थानीय तहको प्रमाणित परिचय–पत्र सनाखतका अनिवार्य गरिएको प्रमुख भण्डारीले प्रमुख भण्डारीले जनाए । राजनीतिक दलसम्बन्धी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधीले नयाँ पार्टी दर्ता भएको दिनदेखि २१ दिनभित्र सनाखत गर्नुपर्ने व्यवस्था छ । जसअनुसार नयाँ पार्टीमा सनाखत गर्न जनप्रतिनिधीलाई आज मंगलबार सम्मको समय थियो । उक्त समय सकिएको छ ।