सिद्धार्थनगर उप–प्रमुखसहित पाँच जनप्रतिनिधिले रोजे नेकपा समाजवादी


भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका उप–प्रमुख उमा काफ्लेसहित पाँच जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । सोमबार भैरहवास्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरु समाजवादीमा सनाखत गरेका हुन् ।
काफ्लेसहित बुटवल उपमहानगरपालिका वडा नम्बर–२ का वडा सदस्य सुनिल शाक्य, ३ का वडा सदस्य चीनबहादुर गुरुङ, १८ का वडा सदस्य गोपाल नेपाल र तिलोत्तमा नगरपालिका–११ का वडा सदस्य यज्ञेश्वर क्षत्रीले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले बताए ।
स्थानीय निर्वाचनमा काफ्ले नेकपा एमालेबाट सिद्धार्थनगरको उप–प्रमुखमा निर्वाचित भएकी थिइन् । लामो समय एमाले उपमहासचिव घनश्याम भुसालको निकट रहेर काम गरेकी काफ्ले एमाले विभाजनपछि समाजवादीमा लागेकी हुन् ।
काफ्लेले लोकतन्त्र र संविधानको रक्षार्थ तथा जनमतको सम्मान हुने गरी आफूले नेकपा एकीकृत समाजवादी रोकेको बताइन् । पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङले तत्काल केही जनप्रतिनिधिले नेकपा (एस) रोजे पनि २२ गतेसम्म अन्यले पनि सनाखत गर्ने बताए । निर्वाचन आयोगले भदौ २२ गतेसम्म नयाँ दल रोज्न चाहने जनप्रतिनिधिलाई समयसीमा दिएको छ ।
प्रतिकृया दिनुहोस्