November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

लुम्बिनी प्रदेशमा कतिले लगाए कोरोनाविरुद्धको खोप ?

सरकारले चैत अन्तिमसम्म कोभिड–१९ विरुद्धको खोप लगाउन योग्य सबै लक्षित जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । असोज अन्तिमसम्म कम्तीमा एक तिहाई जनसंख्यालाई खोप दिइसक्ने योजनाका साथ अघि बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही योजनाका साथ सरकारले बुधवार १५.४ प्रतिशत नागरिकलाई खोप दिइएको तथ्यांक सार्वजनिक गरेको छ । छोटो समयमा १५ प्रतिशत जनसंख्यालाई खोप दिन सफल भएको भन्दै विश्व स्वास्थ्य संगठनले नेपालाई बधाइसमेत दिएको छ । 

Advertisement

एक करोड १६ लाख नागरिक खोप लगाउन बाँकी  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लक्षित नागरिकको संख्या २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको छ । यो संख्यामध्ये भदौ १६ गतेसम्म ५४ लाख २४ हजार ८ सय ३६ जना (१७.९ प्रतिशत)ले पहिलो डोज र ४६ लाख ६७ हजार ३ सय २८ जना (१५.४ प्रतिशत)ले पूर्ण खोप अर्थात् दुवै डोज लगाएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको थियो । यो संख्या बढेर बिहीवार ५४ लाख २५ हजार ८ सय ८८ (पहिलो मात्रा) र ४६ लाख ७७ हजार ९ सय ७६ (दुवै डोज) पुगेको छ । यसरी भदौ १७ गतेसम्म नेपालमा कोभिड १९ विरुद्धको खोप लिनेको जम्मा संख्या पहिलो र दुवै डोज गरी जम्मा खोप लगाउनेको संख्या १ करोड १ लाख ३ हजार ८ सय ६४ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा अब १ करोड १६ लाख ५२ हजार ८ सय ९९ जना नागरिक कोभिड १९ विरुद्धको खोप लगाउन बाँकी रहेको मन्त्रायलको तथ्यांक छ । 
 
कुन खोप कतिले लगाए ?
नेपालमा जनसंख्याका आधारमा सबैभन्दा बढी वाग्मती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा कोभिड १९ विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको भदौ १६ गतेसम्मको तथ्यांक अनुसार भेरोसेल खोप सबैभन्दा धेरै नागरिकले लिएका छन् । भेरोसेल खोपको दुवै डोज लिनेको संख्या प्रदेश १ मा १ लाख ७ हजार १ सय ९६ रहेको छ भने प्रदेश २ मा यो संख्या ८१ हजार ३ सय ४५ मात्रै रहेको छ । त्यस्तै वाग्मती प्रदेशमा भेरोसेल खोपको दुवै डोज लिनेको संख्या ११ लाख २० हजार ६३, गण्डकीमा १ लाख ९१ हजार ७९, लुम्बीनीमा ३ लाख ४६ हजार ७ सय १, कर्णालीमा ७० हजार ६१९ र सुदूरपश्चिम प्रदेशमा १ लाख ५३ हजार ८ सय ५६ रहेको छ । 

Advertisement

नेपालमा हालसम्म २० लाख ७० हजार ८ सय ५९ जनाले भेरोसेल खोपको पूर्ण मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै कोभिसिल्ड खोपको पूर्ण मात्रा लगाउनेमा लगाउनेमा प्रदेश १ मा १ लाख २४ हजार ८ सय ५ जना, प्रदेश २ मा ६० हजार ३९४ जना, वाग्मती प्रदेशमा ४ लाख २० हजार ९ सय ५९ जना, गण्डकीमा १ लाख ४७ हजार ४ सय ९७ जना, लुम्बीनीमा २ लाख ५२ हजार ९ सय ७८ जना कर्णालीमा ६६ हजार ३२० जना र सुदूरपश्चिममा १ लाख ५९ हजार ८ सय ९८ जना रहेका छन् । कोभिसिल्ड खोपको पूर्ण मात्रा लगाउनेको संख्या नेपालमा १२ लाख ३२ हजार ८ सय ५१ पुगेको छ ।

त्यस्तै एक डोज मात्र लगाइने जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या प्रदेश १ मा १ लाख ९० हजार ८ सय ९०, प्रदेश २ मा २ लाख २ लाख ७३ हजार १०, वाग्मतीमा ३ लाख ४३ हजार ५ सय ४७, गण्डकीमा १ लाख ३ हजार १ सय ८७, लुम्बिनीमा २ लाख ५२ हजार ८०, कर्णालीमा ६७ हजार ५ सय ११ र सुदूरपश्चिम प्रदेशमा १ लाख ३३ हजार ३ सय ९३ रहेको छ । नेपालमा कुल १३ लाख ६३ हजार ६ सय १८ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको मन्त्रालयको तथ्यांक छ ।
 
प्रदेश २ खोपमा किन पछाडि ?
जनसंख्याको हिसाबले वाग्मतीपछिको दोस्रो ठूलो प्रदेश प्रदेश २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या भने निकै न्यून छ । स्वास्थ्य मन्त्रालयको भदौ १६ गतेसम्मको तथ्यांकमा प्रदेश २ मा पूर्ण खोप लगाउनेको संख्या ४ लाख १४ हजार ७ सय ४९ मात्रै छ भने पहिलो डोज लगाउनेको संख्या ६ लाख ६९ हजार ४ सय ८७ छ । कुल ५४ लाख ४ हजार १ सय ४५ जनसंख्या रहेको प्रदेश २ मा खोप लगाउनेको यो संख्या निकै न्यून हो जबकी ५५ लाख २९ हजार ४ सय ५२ जनासंख्या रहेको वाग्मती प्रदेशमा १८ लाख ८४ हजार ५ सय ६९ जनालाई पूर्ण खोप नै लगाइसकिएको छ । खोपको उपलब्धताका आधारमा सबै प्रदेशमा मिलाएर खोप पठाइएको स्वास्थ्य सेवा विभाग अन्तरगत खोप शाखा प्रमुख सागर दाहाल बताउँछन् । “सुरुका दिनहरुमा खोप कम आएको थियो त्यसैले कुन प्रदेशमा कति पठाउने भन्ने अन्योल भयो त्यसैले कुनै प्रदेशमा कम र कुनैमा बढी वितरण गर्ने अवस्था थियो तर अब खोप नियमित आउँछ, प्राथमिकताका आधारमा सबै प्रदेशमा पर्याप्त खोप पठाइनेछ,” दाहालले भने ।