भीम अस्पतालका स्वास्थ्यकर्मीले तोडे अनसन


भैरहवा– ६ बुँदे मागसहित आमरण अनसनरत भैरहवाको भीम अस्पतालका स्वास्थ्यकर्मीले अनसन तोडेका छन् । बिहीबार अस्पताल प्रशासन र स्वास्थ्यकर्मीबीच भएको छलफलमा माग सम्बोधन गर्न समिति गठन गर्ने सहमति पछि अनसन तोडेका हुन् ।
बुधबारदेखि स्वास्थ्यकर्मी अनसन बसेका थिए । अस्पतालले डा.बद्री बैदवारको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिले सात दिनभित्र प्रतिवेदन अस्पताल प्रशासनलाई बुझाउने छ । यस्तै, स्वास्थ्यकर्मीको भत्ता उपलब्ध गराउने, तलब बृद्धि लगायतका विषयमा समितिको प्रतिवेदनअनुसार कार्यान्वयन गर्ने सहमति भएको अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीले बताए ।
यसअघि अस्पतालमा आयोजित सम्मान कार्यक्रमको विषयलाई लिएर स्वास्थ्यकर्मीले सामाजिक संजालमा टिप्पणी गरेका थिए । यस विषयलाई लिएर अस्पताल प्रशासनले डाक्टर संजीवबाबु क्षेत्री, अहेव गोपाल उपाध्याय र शशिकान्त उपाध्यायलाई स्पष्टिकरण सोधेको थियो ।
त्यसपछि अहेव गोपाल उपाध्यले ६ बुँदे मागसहित आमरण अनसन सुरु गरेका थिए । आमरण अनसनमा ३० बढी चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगीलगायतका कर्मचारीले समर्थन जनाएका थिए । स्वास्थ्यकर्मीले मेसु डा.शकुन्तला गुप्ता राजीनामा माग गर्दै आएका थिए । छलफलमा राजीनामा माग नगर्ने सहमति भएको छ ।
प्रतिकृया दिनुहोस्