July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मर्चवारीका अध्यक्ष बनियाँसहित चार जनाले रोजे लोसपा

भैरहवा– रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) रोजेका छन् । उनीसहित चार जना जनप्रतिनिधिले लोसपा रोजेका हुन् । बिहीबार जिल्ला निर्वाचन कार्यालयमा आएर उनीहरुले सनाखत गरेका छन् ।

Advertisement

जनता समाजवादी पार्टी, नेपाल विभाजन पछि नेता महन्थ ठाकुरले लोसपा निर्वाचन आयोगमा दर्ता गरेका छन् । दल दर्ता पछि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने समय दिएको छ ।

Advertisement

मर्चवारी अध्यक्ष बानियाँ, कार्यपालिका सदस्यहरु पुनम मिश्रा, सुनिता हरिजन र राजेश हरिजनले बिहीबार जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीमा आएर लोसपा रोजेको सनाखत गरेर गएको प्रमुख जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिए । ‘उहाँहरुले आयोगले तोकेको मापदण्ड पूरा गरेर लोसपा रोजेको सनाखत गरी जानुभयो’, भण्डारीले भने ।

तत्कालीन स्थानीय निर्वाचनको समयमा उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम नेपालबाट बनियाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । पछि पार्टी एकीकृत भएपछि जसपामा रहँदै आएका उनी दल विभाजनपछि लोसपामा लागेका हुन् । लामो समय उपेन्द्र नेतृत्वको पार्टीमा रहेर काम गरेका उनले लोसपा रोजेसँगै उपेन्द्रको साथमा रहने छैनन् ।

सातवटा वडा रहेको मर्चवारीमा जसपाले पालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नम्बर २, ३, ४, ५ र ७ मा वडाध्यक्ष पनि तिजेको थियो । यी वडामध्ये २, ५ र ७ मा सबै सदस्य जितेको थियो । यस्तै, वडा नम्बर ३ मा ३ जना सदस्य र ४ मा २ जना सदस्य पनि जितेको थियो । वडा नम्बर १ र ६ मा भने कुनै पद जितेको थिएन ।

गाउँपालिका अध्यक्ष बनियाँले एक–दुई दिनमा उपाध्यक्षसहित अधिकांश वडाध्यक्ष र सदस्य र कार्यपालिका सदस्यहरुले पनि लोसपा रोज्ने बताए । ‘आज मसहित चार जनाले लोसपा रोज्यौं’, उनल भने, ‘छलफल भइरहेको छ, केही दिनमा धेरै साथीहरु यतै आउनुहुन्छ ।’