जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा समस्या


रुकुम पूर्व – विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल रुकुम पूर्वमा जटिल अवस्थाका बिरामीले सास्ती भोग्दै आएका छन्। विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए।
अस्पताल स्थापना भएदेखि विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता भएको हो । अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको मात्र १० दरबन्दी रहेको अस्पतालका प्रमुख चौधरीले बताए ।
अस्पतालमा कन्सल्टेन्ट अब्सट्रे तथा गाइनो विशेषज्ञ दुई र बाँकी कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट जनरल सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट रेडियोपोजिष्ट, कन्सल्टेन्ट प्याथेब्लोजिष्ट, कन्सल्टेन्ट साइकाट्रिष्ट र कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट एकएक जना विशेषज्ञ डाक्टर प्रदेश सरकारले रिक्त रहेको दरबन्दी पदपूर्ति गर्न नसकेको अस्पतालले जनाएको छ।
अस्पतालमा अहिले ६ मेडिकल अधिकृत डाक्टरहरूले धानिरहेका छन् । ‘विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल, जटिल सुत्केरी सेवा‚ बाल रोग, नाक–कान–घाँटी, छालालगायतका जटिल प्रकृतिका बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको छ’, चौधरीले भने ।
अस्पताल विकास समितिको बैठक बसि पटक–पटक विशेषज्ञ डाक्टरको माग गरिराखेकोमा सरकारले माग सुनुवाइन नगरेको अस्पतालका प्रमुख चौधरीले बताए । ‘जसको सास्ती जिल्लाका सर्वसाधारण बिरामीलाई परिरहेको छ’, चौधरीले भने । विशेषज्ञको अभावमा जटिल अवस्थाका गर्भवती महिलाले बढी सास्ती भोग्न बाध्य भएको उनले सुनाए ।
प्रतिकृया दिनुहोस्