May 12, 2025, Monday
२०८२ बैशाख २९

लुम्बिनीकी सांसद घर्तीले रोजिन नेकपा एकीकृत समाजवादी

बुटवल – प्रदेशसभा सदस्यरमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्। नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्।

घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको निर्वाचन कार्यालयमा जानकारी गराएकी छन्। माधवकुमार नेपाल निकट भएर पनि यसअघि उनले लुम्बिनी सरकार बनाउँदा मुख्यमन्त्री कुलप्रसाद केसीलाई साथ दिएकी थिइनन् ।

Advertisement

आयोगका प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ। भट्टराईले घर्तीले समाजवादी रोजेको बताए।

८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए। घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ मा झरेको छ। समाजवादी रोजेकी उनी गठबन्धन सरकारमा मन्त्री बन्ने चर्चा छ।

भट्टराईले निर्वाचन आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई घर्तीले पार्टी रोजेकाबारे पत्राचार गरेपछि प्रदेशसभामा कायम राजनीतिक दल र प्रदेशसभा सदस्यको अभिलेख अद्यावधिक गर्न लागिएको बताए।

घर्तीले समाजवादी रोजेसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ। घर्ती सरकारमा जाने भएकाले मुख्यमन्त्री नेतृत्वको गठबन्धन थप मजबुत भएको छ ।