April 18, 2025, Friday
२०८२ बैशाख ५

महन्थ एण्ड कम्पनी प्रतिगमनको मतियार : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र उनी पक्षीय नेताहरुलाई प्रतिगमनको मतियार भएको आरोप लगाएका छन् । विगतमा जसपाका अध्यक्षसमेत रहेका ठाकुर र उनी पक्षीय नेताहरुले अहिले अर्को दल दर्ता गरिसकेका छन् । जसपामा हुँदा उनीहरुले एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनमा साथ दिएको भन्दै यादवले ठाकुर पक्षलाई त्यसको मतियार भनेका हुन् ।

आइतबार रुपन्देहीको भैरहवामा जसपाको लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने, ‘दुई–दुईपल्ट प्रतिनिधि सभा विघटन गर्ने ओली प्रतिगमनलाई साथ दिने महन्थ एण्ड कम्पनी प्रतिगमनको मतियार हो । प्रतिगमनलाई साथ दिँदै सरकारमा पनि गएको हो ।’ उनले ओली तानासाह र अधिनायकवादी भएको र त्यसको साथ महन्थ पक्षले दिएको बताए ।

Advertisement

इतिहासमै नभएको एउटै कार्यकालमा ओलीले दुईपल्टसम्म संसद विघटन गरेको यादवले बताए । केशरजंग रायमाझीको, राजा महेन्द्र र ज्ञानेन्द्र पथमा ओली चलेको बताए । ‘केही समय सफल भए तर नेपालको इतिहासमा एक प्रतिगमनकारीको सपना जसपाले चकनाचुर पारिदियो । जव प्रतिगमनको कदम चाले, हामीले यो संविधान र लोकतन्त्रविरुद्ध छ, हाम्रो व्यवस्थाविरुद्ध छ भन्यौं, काठमाडौंबाट आन्दोलन सुरु गर्यौ’, उनले भने, ‘हामी सडक र कानूनी लडाई लड्यौं, अन्ततः प्रतिगमन पराजित भयो ।’

अध्यक्ष यादवले संविधान त्रुटीपूर्ण भएको बताए । उनले संविधानका केही प्रावधान विभेदकारी भएको समेत जनाए । यसलाई सुधार गनु पर्ने बताउँदै उनले यसका लागि संविधान संशोधन गरिनुपर्ने माग गरे । अध्यक्ष यादवले नागरिकता, साशकीय संरचना लगायतका विषयमा आफूहरुको विमती रहेको जनाए । ‘सात प्रदेको संरचनालाई बदल्नुपर्छ । उच्चस्तरीय राज्य पुनर्संरचना आयोगले जुन प्रस्ताव गरेको थियो, त्यो कार्यान्वयन गनुपर्छ’, उनले भने, ‘१० प्लस एक प्रदेशको त्यो प्रस्ताव राम्रो छ, यसलाई कार्यान्वयन गर्नुपर्छ ।’

उनले अब पहिचान र सामथ्र्यका आधारमा प्रदेश बनाउनुपर्ने बताए । ‘नेपालको राज्यका संरचना गलत छ । अव्यवहारिक र अवैज्ञानिक छ’, उनले भने, ‘मधेशी, जनजाति र अन्य समुदाय र भाषाभाषीविरुद्ध छ । यसलाई परिमार्जन गर्नुपर्छ ।’ अध्यक्ष यादवले साशकीय स्वरुप पनि बदल्नुपर्ने जनाए । ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली चाहिन्छ’, उनले भने, ‘अहिलेको व्यवस्थाले मुलुक बन्दैन ।’

उनले अब समावेशिता सहितको संसद चाहिने बताए । ‘नागरिकता कानून सुधार्नुपर्छ । निर्वाचन प्रणाली विकृत छ, महंगो छ । सबै वर्ग चुनाव लड्नसक्ने गरी यसलाई बदल्नुपर्छ’, उनले भने, ‘महंगो निर्वाचन प्रणालीले गरिब किसानको छोरा चुनाव लड्न नसक्ने अवस्था आयो ।’ उनले लोकतन्त्रका नाममा लुटतन्त्र र धनतन्त्र चलेको बताए । यसलाई बदलेर समानुपातिक निर्वाचन प्रणाली ल्याउनुपर्ने बताए ।

मुलुकमा प्राप्त उपलब्धी रक्षा गरे मात्रै बाँकी अधिकार प्राप्त हुने बताए । ‘लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र मौलिक हक संरक्षण गरे मात्रै बाँकी अधिकार पाइन्छ । यदि यी अधिकार रक्षा भएनन भने अरु अधिकार पाइँदैन’, उनले भने । उनले नेपालका कम्युनिस्ट नाममात्रको भएको आरोप लगाए ।

पार्टीका बरिष्ठ नेता अशोक कुमार राईले पनि संघीयता पूर्ण नभएको बताए । ‘प्रदेश स्वायत्त, अधिकार सम्पन्न र पहिचानसहितको हुनुपर्छ । अहिले संघीयता यस्तो छैन । त्यसैले संघीयता पूर्ण छैन’, उनले भने, ‘यसलाई पूर्ण गराउनुपर्छ ।’ उनले प्रदेशले गर्नसक्ने काम प्रदेशले नै गर्न पाउनुपर्ने र स्थानीय सरकारले गर्न सक्ने काम स्थानीय तहले नै गर्नुपर्ने संघीयताको मर्म भएको बताए ।

‘प्रदेश स्वायत्त हुने र संघ साझा हुनुपर्छ । तर, यसको मर्मविपरीत संविधान बनेको छ’, उनले भने । उनले संघीयतालाई सही ढंगले कार्यान्वयन गर्न जसपा पार्टी बनाएको बताए । जसपा बनाएको सुशासनका लागि, संघीयता कार्यान्वयन र समृद्धि हासिल गर्न भएको उनले बताए ।

‘जसपाले यस्तो राज्य चाहेको छ, जहाँ सदाचार होस्, भ्रष्टाचार नहोस्’, उनले भने, ‘यसका लागि जसपा स्थापना गरेका हौं ।’ उनले पार्टीले समृद्धि र समाजवादको परिकल्पना गरेको बताए । ‘जहाँ समाजिक न्याय, विभेदरहित राज्य छ, विकास छ, त्यो नै समाजवाद हो’, उनले भने । उनले मुलुकमा अझै कानूनी रुपमा विभेद भएको र राज्यले बनाउने कानून लैंगिकमैत्री नभएको बताए ।

ओलीले संविधानमा भएको अलिकति उपलब्धी पनि संस्थागत र संरक्षण गर्न नसकेकाले उनलाई प्रतिगमनकारी भनिएको बताए । ‘ओलीको प्रतिगमनकारी प्रवृत्ति आन्दोलन, अदालतको कानूनी व्याख्याले एकपल्ट घुँडा टेकेको छ’, उनले भने, ‘फेरि प्रतिगमत उठ्न सक्छ, त्यसलाई रोक्न जसपा तयार छ ।’

भदौदेखि मंसिर मसान्तसम्म पार्टी जनजागर र सुदृढीकरण अभियान सुरु गरिने बताए । यसपछि पार्टीको रोडम्याप तयार हुने बताए । ‘चुनाव लड्नेबेला पार्टी सुदृढीकरणमा लागेर हुँदैन । अहिलेबाट लागेमात्रै हुन्छ । त्यतिबेला टिका लागेर आएकाबाट पार्टी बन्दैन । चुनाव जितिँदैन । जिते पनि अहिलेजस्तो स्थिति आउँछ’, उनले भने ।

जसपाका केन्द्रिय कार्यकारिणी परिषद् सदस्य महेन्द्र राय यादवले महन्थ ठाकुर पक्षले अर्को पार्टी खोले पनि केही फरक नपर्ने बताए । पार्टीमा ८० प्रतिशत सांसद र केन्द्रिय सदस्यको साथ आफूहरुलाई रहेको बताउँदै उनले भने, ‘उहाँहरु (महन्थ पक्ष) गएपछि पार्टी थप शुद्धिकरण भएको छ । उहाँहरु जाँदैमा हामीलाई कुनै असर पर्दैन ।’

अब विगतमा जस्तो पार्टीमा बैचारिक, सांगठिनक सामस्या नभएको उनले बताए । ‘एउटा समूह बाहिरिएपछि हामी एक ढिक्का भएका छौं’, उनले भने । यादवले राष्ट्रिय एकता, स्वाधिनता र संघीयताका सवालमा जसपाको नीति प्रष्ट भएको बताए । अहिलेको व्यवस्थाले मुलुक नचल्ने बताउँदै अब मुलुकमा राष्ट्रपतीय प्रणाली चाहिने उनले पनि माग गरे । ‘जसरी केपी ओलीले मुलुकको संविधान र संघीयता मास्न खोजे, यसलाई जोगाई राख्न राष्ट्रपति प्रणाली चाहिन्छ’, उनले भने ।

उनले जसपा सरकारमा जाने बताए । सरकारमा गएर आफूहरुको प्राथमिकता संविधान संशोधन, नागरिकता विवाद समाधान, विभिन्न आन्दोलनका क्रममा जेलमा रहेका नेता–कार्यकर्ता रिहाईमा पहल गर्ने बताए । ‘केपी ओलीका कारण नागरिकता विधेयक रोकिएको छ । लाल आयोगको प्रतिवेदन रोकिएको छ’, उनले भने, ‘यी मुद्दा पूरा गर्न र जनताको काम गर्न हामी सरकारमा जाने हो ।’ उनले नेपाल–भारत सीमा समस्या दुई देश मिलेर समाधान गर्नुपर्ने बताए ।