April 18, 2025, Friday
२०८२ बैशाख ५

रुपन्देहीमा एमालेको समानान्तर कमिटी समाजवादीमा समाहित

बुटवल– युवा नेता राजु गुरुङले नेतृत्व गरेको नेकपा एमाले रुपन्देहीको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा रूपान्तरित भएको छ । रूपन्देही जिल्ला कमिटीले सर्वसम्मतरुपमा निर्णय गर्दै माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुने निर्णय गरेको हो ।

समानान्तर कमिटीका अध्यक्ष गुरूङको अध्यक्षतामा बुटवलमा बसेको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित हुने निर्णय गरेको हो । बैठकमा सहभागी सदस्यहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकीकृत समाजवादी पार्टीमा रुपान्तरित हुने निर्णय गरेको साविक एमाले रुपन्देही समानान्तर जिल्ला कमिटीका अध्यक्ष गुरुङले जानकारी दिए ।

Advertisement

बैठकमा नेताहरुले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । बैठकमा साविक एमाले उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेलगायतले क्रान्तिकारी रुपान्तरणका लागि एकीकृत समाजवादीमा समाहित हुनुको विकल्प नभएको बताए ।

सिद्धार्थ नगरपालिकाका नगर प्रमुख हरि अधिकार र तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसके पनि आफूहरुको समर्थन नेकपा (एकिकत समाजवादी)मा रहेको सन्देश पठाएको अध्यक्ष गुरुङले बताए । ‘उहाँहरु हामीतिर नै हुनुहुन्छ । रुपन्देहीका अधिकांश वडा अध्यक्षहरु पनि एकीकृत समाजवादीमा आउने तयारी हुनुहुन्छ’, गुरुङले भने ।