June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

शिशुको हातमा दुईवटी आमाको नाम लेखिएको ट्याग लगाइदिए पछि …

बाँके– सिमलघारी, बाँकेकी चन्द्रा विकले बुधबार दिउँसो एक बजे ३.८ किलोको शिशु जन्माइन् । बाँकेको नेपालगंजमा रहेको भेरी अस्पतालमा विकले शिशु जन्माएकी हुन् । उसैदिन साँझ पाँच बजेतिर शिशुको मृत्यु भयो । मृत्यु भएपछि अभिभावकले शव बुझे । दाहासंस्कार गर्न लगे । शव दाहसंस्कार गर्ने बेलामा खोलेर हेर्दा हातमा गीता थारु लेखेको ट्याग भेट्टियो ।

Advertisement

दाहासंस्कार नै नगरी आफन्तहरु सबै अस्पतालमा फर्किए । बच्चाको दाहिने हातमा रहेको ट्यागमा गीता थारु लेखिएको थियो भने बायाँ हातमा चन्द्रा विक लेखिएको थियो । चन्द्रा विक लेखेको ट्याग घोप्टाएर लगाइएकाले राम्ररी देखिएको थिएन ।

अस्पताल आएपछि आफन्त आक्रोशित बने । आक्रोशित आफन्तले अस्पतालमा आएर बच्चा जन्मिदाको तौल नापे । तौल सही ठहरियो । अरु बच्चाको हातमा लगाइएको ट्याग हेरे । आफ्नो नाम लेखेको देखेनन् । गीता थारुले दश दिन अघि बच्चा जन्माएकी थिइन् । त्यसपछि अस्पतालका कर्मचारीले बच्चा चिन्नका लागि ट्याग लगाइदिएका थिए ।

अस्पतालका कर्मचारीले लापरबाही गर्दा विकले जन्माएको बच्चालाई दुईवटा ट्याग लगाइएको हो । स्वास्थ्यकर्मी र कर्मचारीको ‘गल्ती’ले बुधबार राति अबेरसम्म भेरी अस्पतालमा विवाद भएको भयो । बच्चाको हातमा दुईजना आमाको ट्याग लागेपछि राति एक बजेसम्म विवाद भएको हो ।

आक्रोशित आफन्तले सबै चेकजाँच गर्दा आफ्नो बच्चा भएको प्रमाणित भयो । अस्पताल प्रशासनले गल्ती स्वीकार गर्यो, भुलबस दुईवटा ट्याग लगाइएको भनेर । त्यसपछि ट्याग लगाउँदा गल्ती गरेको आफन्तको बुझाइ रह्यो । तर पनि आफन्त शव अस्पतालमा छोडेर घर गए ।

अस्पतालकाअनुसार शिशु जन्मिएपछि उसको हातमा आमाको नाम लेखेको ट्याग लगाउने गरिन्छ । यसले पहिचान गर्न सहज हुन्छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले ट्याग लगाउँदा गल्ती भएको र केही समय विवाद भएको स्वीकार गरे ।

‘शिशुलाई ट्याग लगाउँदा अस्पतालबाट गल्ती भएको हो । उहाँहरुको आक्रोश ठिकै हो’, उनले भने, ‘उहाँहरु दाहासंस्कार नगरी अस्पतालमा आउनु भयो । सबै देखाएपछि कन्भिन्स भएर जानु भयो ।’ उनले सम्भवतः आफन्तले आज आएर शिशुको शव लैजाने जनाए ।