September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन : प्रदेशसभा सचिवालय

बुटवल– नेकपा एमालेले कारबाहीको माग गर्दै आएको लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई कारबाही गर्न नमिल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्ष एमालेले पार्टीबाट कारवाही गरेर संसदबाट पदमुक्त गर्न अजय शाही र विमलाकुमारी खत्री वलीलाई प्रदेशसभामा निवेदन दिएको छ ।

Advertisement

एमालेले विना बिभागीय मन्त्री शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाएको थियो । तर, यी दुई जना सांसद पदमुक्त गर्न नमिल्ने प्रदेशसभाले बताएको छ । प्रदेशसभा सचिवालयले एमालेलाई आइतबार पत्र लेखेर सांसदद्वयलाई पदमुक्त गर्न नमिल्ने बताएको हो । दुवै सूर्य चिन्हबाट निर्वाचित सांसद हुन् ।

Advertisement

यसअघि एमालेले कारबाहीका लागि दिएको पत्र बुझदै सभामुख पूर्णबहादुर घर्तीले अध्ययन गरेर प्रक्रिया अघि बढाउने बताएका थिए । एमालेको पत्रको अध्ययन गरेर कारबाही गरेर पदमुक्त गर्न भनेका सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठाएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

वली दाङ र शाही नवलपरासीबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद हुन् । वली तत्कालीन नेकपाबाट र शाही स्वतन्त्र राजनीतिक समूहबाट आवद्ध थिए । एमालेले प्रदेशसभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरे पनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको ब्यहोरा एमालेलाई जानकारी गराइएको सचिवालयलको बताएको हो ।

प्रदेश सभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेशसभा सचिवालयमा बुझाएको पुन मगरले बताए । दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेशसभाको नवौं अधिवेशन भदौ १ गतेदेखि निरन्तर अवरुद्ध गर्दै आएको छ ।

सांसद बैठक सोमबारका लागि बोलाइएको छ । त्यसको अघिल्लो दिन प्रदेशसभा सचिवालयले दुबै सांसदलाई पदमुक्त गर्न अस्वीकार गरेपछि प्रतिपक्ष र प्रदेशसभाबीच विवाद थप चर्किने भएको छ । सदन चल्न नसक्दा मुख्यन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन । ८७ सदस्यीय प्रदेशसभा अहिले ८० मा झरेको छ ।