समाप्ति
सेतो लुगामा बेह्रिएको उनको मृत देह कथाकी परीको जस्तै सुन्दर देखिन्थ्यो । चाँदीको बत्तुले बुनेको सेतो सारी, उनको सेतो मृत मुहार र सेतै फुलेको कपाल बडो पवित्र देखिन्थ्यो ।
लासलाई त्यस्तो सारी लगाइदिएकोमा मलाई केही आश्चर्य लाग्यो । सायद, त्यहाँ उपस्थित अरू स्वास्नीमानिसलाई पनि अनौठो नै लाग्यो होला । उनकी एकलौटी छोरी शान्ति आँसुले भिजेको अनुहार बोकेर लासको छेउमा घोप्टे मुन्टो लगाएर बसेकी थिइन् ।
मैले शान्तिको पाखुरामा समातेर बिस्तारै उनलाई उनको सुत्ने कोठासम्म डोर्याएँ र कोठाको ढोका लाएँ । त्यति बेला शान्तिले मेरो मुखमा पुलुक्क हेरिन् । मैले सोधेँ, “शान्ति ! लासलाई सुतीको सेतो लुगा लगाइदिनुपर्ने होइन ? किन त्यस्तो बत्तुले बुनेको सारी लगाइदिएकी ?”
शान्तिले जवाफ दिइन्, “आमाको यस्तै इच्छा थियो । मलाई त्यही सारीमा जलाउनू भन्नुभएको छ ।” उनका आँखाबाट फेरि बर्र आँसु झरे ।
उनको कुरा सुनेर मलाई हाम्रो बाल्यकालका राम्रा–नराम्रा घटनाहरू धमिलोसँग याद आउन थाले, तर केही क्षणपछि प्रस्ट रूपमा झल्झली ती घटनाहरू सम्झन थालेँ ।
मेरी सानीमा, शान्तिकी आमा— आफ्नो समयमा नाम चलेकी सुन्दर स्वास्नीमान्छे थिइन् । धेरैजसो महिला निरक्षर रहने त्यस समयमा उनले माध्यमिकसम्म पढेकी थिइन् । त्यसैले उनी शिक्षित नारीमा गनिन्थिन् । हामी केटाकेटीहरू त उनलाई साक्षात् परीजस्तै ठान्थ्यौँ ।
मेरी ठूलीआमा, भाउजू र अरू स्वास्नीमान्छेले उनलाई मन नपराएको कुरा हाम्रा बालहृदयले लख काटिसकेको थियो । म सानीमाकहाँ जान मन पराउँथेँ । उनलाई सुम्सुम्याउँदै सानीमा हाँस्दै भन्नुहुन्थ्यो, “के गरेको यस्तो ? सुमसुम्याएपछि मलाई निद्रा लाग्छ ।” हामी छक्क पर्थ्यौँ । छुँदा पनि निद्रा लाग्ने अरे ! हाम्रो दृष्टिमा उनी अझ पारलौकिक देखिन्थिन् ।
यस्ती हाम्री सानीमा एक दिन बिरामी परिन् । सानाबाले उपचार गर्न उनलाई कलकत्ता लग्ने कुरा सुनियो । उहाँहरूसित माथिल्ला घरका काजीदाइ पनि जाने रे ! उनलाई मुटु हल्लिने रोग भएको अरे ! तर, देख्ता भने उनी मोटा, अग्ला र रातापिरा नै थिए ।
हाम्रा सानाबा र उनको राम्रो हिमचिम थियो । त्यसैले काजीदाइ कतिपल्ट सानाबाकहाँ खाना खाइवरी अबेर घर फर्किन्थे । त्यसैत्यसै दिन काजी दाइ र भाउजूको ठस्याकठुसुक हुन्थ्यो अरे !
यस्ता कुरा गर्दै हाम्री माइजू र ठूलीआमा मजेत्रोको छेउले मुख छोपेर रहस्यमय पाराले मुस्कुराउँथे । हामीले केही सोध्ने आँट गरे हामीलाई हप्काएर घरबाहिर लगार्थे ।
त्यसो गर्दा हाम्रो उत्सुकता झन् दोब्बर हुन्थ्यो र हामी कन्सुत्ली लाएर उहाँहरूका कुरा सुन्थ्यौँ । धेरै कुरा हामी बुझ्दैनथ्यौँ, तर उहाँहरूले सानीमालाई मन पराउनुहुन्नथ्यो भन्ने कुराचाहिँ बुझेका थियौँ ।
काजीदाइ, कान्छाबा र सानीमा उपचार गर्न कलकत्ता जानुभयो । उहाँहरु नभएको समय पारेर टोलका स्वास्नीमान्छेहरू काजीदाइको घरमा भेला भएर गफ गरिरहन्थे । मलाईचाहिँ सानीमाको अनुपस्थितिले साह्रै नियाँस्रो लाग्थ्यो ।
एक महिनापछि उहाँहरु तीनैजना स्वास्थ्यलाभ गरेर घर फर्किनुभयो । सानीमाले मलाई मिठाई, मीम गुडिया ल्याइदिनुभयो । आमालाई पनि रातो राम्रो सारी ल्याइदिनुभयो । म मीम पुतली बोकेर टोलमा घुम्न थालेँ । मेरो फुर्ती देखेर साथीहरू रमाएनन् ।
उहाँहरू घर फर्केको सात दिनपछि फेरि अर्को हल्ला फैलियो । सानीमाले कलकत्ताबाट चाँदीको बत्तु जडेको दामी सारी किनेर ल्याउनुभएको छ अरे ! त्यसको चर्चा गर्दै माइजूले भन्नुभएको थियो, “फुर्ती हेरन त्यसको, चाँदीको बत्तुले बनेको सारी लाउने, बड ! रानी हो र त्यो ?”
ठूलीआमाले थप्नुभयो, “लोग्नेलाई भेडो बनाएकी छ, जे गरे पनि भयो नि अब !”
अर्कीले थपिन्, “काजीदाइले त भाउजूलाई एउटा चोलोसम्म पनि ल्याइदिनुभएनछ, भाउजू रुँदै हुनुहुन्थ्यो बरा !”
माइजूले थपिन्, “के ल्याउँथे त उनलाई ! पैसाजति महारानीलाई चाँदीको बत्तु भएको सारीमा ओइरियो होला !” सबै गलल्ल हाँसे ।
मलाई देखेर ठूलीआमाले भन्नुभयो, “यो घोसेले त सबै कुरा पोल हाल्छ नि ! आफ्नी सानीमालाई, पीपी खान पल्केकी छ !” म त्यहाँबाट परतिर भागेँ ।
अब दिनरात मलाई त्यही चाँदीको बत्तु जडेको सारीकै ध्याउन्न हुन लाग्यो । हामीले त चाँदीको छिङछिङ गर्ने कल्ली मात्र लाएका थियौँ । सपनामा पनि चाँदीको सारी हुन्छ भन्ने कुरा चिताएका थिएनौँ । मलाई त्यो सारी हेर्ने साह्रै मन लाग्यो । तर, एक दिन सानीमाकहाँ गएर त्यो सारी देखाउने ढिपी गर्न लागेँ ।
सानीमाले मुुसुक्क हाँस्दै बाकसबाट सारी झिक्नुभयो र मेरो काखमा राखिदिनुभयो । सारी देखेर मेरो सारा उत्साह सेलाएको थियो । “छ्याः, के यस्तो सारी किनेको ? रंग न ढंगको । झल्कने पनि छैन, सेतो पार पनि छैन, छ्या !” किनकिन मलाई चाँदीको सारीले प्रभाव पार्न सकेन ।
कलकत्ताबाट उपचार गरेर फर्केको एक वर्षपछि एक्कासि काजीदाइ स्वर्गे हुनुभयो, त्यही मुटुको रोगले । उहाँको मृत्युपछि हाम्रो टोलमा रमाइलोपन पनि हरायो । अब कान्छाबा पनि झोक्रन थाल्नुभयो । शान्ति जन्मेको दुई वर्षपछि त कान्छाबा पनि स्वर्गे हुनुभयो ।
बरा ! एक्ली सानीमा मात्र बालक छोरी लिएर बाँचिरहनुभयो ।
समयको हिँडाइ सँगसँगै हामीले पनि बाल्यावस्थाबाट युवावस्थामा खुट्टा टेक्यौँ । अब म सानीमाको वेदना बुझ्ने भइसकेकी थिएँ । अत्यन्त सुन्दर ती स्वास्नीमान्छे जीवनभर पुरुषको श्रद्धा, स्नेह र प्रशंसाकी पात्र भए पनि स्वास्नीमान्छेले सधैँ उनको खेदो नै खनिरहे, उनका कुरा काटिरहे ।
बूढी भइसक्ता पनि उनले नारी क्षुद्रताहरूको झटारो सहिरहनुपर्यो । आरिस गर्ने रोगले आक्रान्त भएपछि स्वास्नीमान्छे कतिसम्म तल झर्न सक्ता रहेछन् । मैले यिनै स्वास्नीमान्छेहरूको व्यवहार देखेपछि बुझ्न पाएँ ।
सानीमाप्रति मेरो श्रद्धा, प्रेम, सहानुभूति दोब्बर भएर उम्लियो । सानीमालाई भने आफ्नो परिवेशको हिलोले छोएकै थिएन अथवा भनौँ उनी हिलोको कमलजस्तो भएर बाँचीरहेकी थिइन्, आफ्नै सपनामा डुबिरहन्थिन्, केवल । त्यो सपना कस्तो थियो वा त्यो सपना नभएर मृदु सम्झना पो थियो कि !
आज चाँदीको बत्तु जडेको सारीमा उहाँको मृत मुहार धपक्क बलेको देख्ता मेरो मुटुमा गाँठो परेर आयो । त्यस्तो एउटा सुन्दर जीवन बाँच्न कसरी सक्नुभयो होला, मेरी सानीमाले ।
आज उहाँको जीवनका सबै अपमान, निन्दा र एकाकीपनको समाप्तिसँगै उहाँको मृदु सम्झनाको पनि समाप्ति होला । त्यही सम्झनाको सम्बल बोकेर नै उहाँले त्यति लामो जीवनका तीता वेदनाहरूको सिस्ने झ्याम्टा सहनुभएको थियो होला ।
सायद, अतीतको सम्झना नै उहाँको प्ररणास्रोत थियो कि ? तर, आज उहाँले मुक्ति पाउनुभयो, वेदनालाई स्वीकार गरेर, त्यसलाई स्वाभाविक ढंगले ग्रहण गरेर ।
अझ, पखालिएको उहाँको व्यक्तित्व मृत्युपछि पनि धपक्क बलेको थियो । कति बलियो सम्झना, जसले समयलाई समेत च्याप्प समातेर त्यसको गतिलाई नै ठ्याप्प रोकिराख्न सक्यो । कति विशाल रहेछ उहाँको वेदना, तैपनि मृदु !
उहाँको जीवनको अन्तिम अध्याय समाप्त भएको हेर्ने सौभाग्य मैले पाउनु पनि संयोग नै सम्झन्छु । हो, यसलाई म सौभाग्य नै सम्झन्छु । यो समाप्तिमा मेरो आँखाबाट आँसु खसे पनि यी आँसु दुःखका होइनन्, तथापि सुखका पनि रहेनन् । यी आँसु त कुनै वियोगान्त नाटक हेरेपछिका अनुभूति हुन्— केवल मृदु समाप्ति !
(‘विश्व नारी नेपाली कथा’बाट) baahrakhari
प्रतिकृया दिनुहोस्