के नेपालमा कोरोनाको तेस्रो लहर आएको हो ?


भैरहवा – पछिल्ला दिनमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । दैनिकजसो अस्पतालमा विरामीको चाप बढीरहेको छ । नागरिकले स्वास्थ्य मापदण्ड पलनामा खेलाँची गरिरहेका छन् । मापदण्ड पालना गराउने निकायले कडाई गर्न सकेको छैन । सहरदेखि गाउँमासम्म न मास्क प्रयोग छ, न भौतिक दूरी नै पालना छ । यसले जोखिमलाई झन बढवा दिइरहेको छ । लक्षणसहितका विरामीले अस्पतालका शय्या भरिन लाग्दासमेत सबै क्षेत्रबाट लापरबाही उत्तिकै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने आँकडामा सङ्क्रमितको सङ्ख्या मात्रै नबढेर मृत्यु हुनेको दर समेत बढेको छ । दैनिक झन्डै ३ हजार ५ सयको हाराहारीमा सङ्क्रमित भइरहेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमित र अस्पताल भर्ना हुने बिरामीको चाप बढेको हो । सङ्क्रमितसँगै अस्पताल भर्ना हुने दर बढेपछि नेपालमा सङ्क्रमणको अर्को लहर सुरु भएको त होइन भनेर जनस्वास्थ्यविद्हरुले आँकलन गर्न थालेका छन् ।
कोरोनाको दोस्रो लहरमा ग्राफ उच्च हुँदा वैशाख २८ गते एकै दिन ९ हजार ४ सय ८३ जना सङ्क्रमित भएका थिए भने २२५ जनाको मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर पछि सङ्क्रमणको ग्राफ ओरालो लागेपछि पुनः बिस्तारै उकालो लागेको छ । सङ्क्रमण र मृत्यु दर उकालो लागेकाले तेस्रो लहर सुरु भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
कोरोना सङ्क्रमण र अस्पताल भर्ना हुने बिरामी ह्वातै बढेकाले नयाँ लहरको सुरुवाती भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा.बाबुराम मरासिनीको बताए । ‘अघिल्लो लहरमा सङ्क्रमित, अस्पताल भर्ना हुने र मृत्यु हुने दर पिक पाइन्टमा पुगेर बिस्तारै ग्राफ तल झेरे पनि अहिले बिस्तारै माथिमाथि सर्दै गएकाले यो नेपालमा नयाँ छालको सुरुवात हो,’ डा. मरासिनी भन्छन् ।
वैशाख १ गते ६०३ जना सङ्क्रमित भएका थिए भने ३ जनाको मृत्यु भएको थियो । त्यसपछि क्रमशः सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै दोस्रो लहरको हालसम्मकै सबैभन्दा धेरै वैशाख २९ गते उच्च सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो । २९ गतेपछि सङ्क्रमित र अस्पतालमा भर्ना हुने बिरामी बिस्तारै घट्दै गए पनि दुई साता यता अस्पतालमा उपचारका लागि आउने बिरामी धमाधम थपिन थालेको भीम स्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा.शकुन्तला गुप्ताले बताइन् ।
त्यसै दोस्रो लहरमा सङ्क्रमितको ग्राफ उच्चविन्दुका पुगेर फेरि तल झरिसकेपछि पुनः बढेकाले अर्को छाल सुरु भएको उनको अनुमान छ । वैशाख १४ गते ४ हजार ५ सय २४ गते सङ्क्रमितको पुगेपछि उपत्यकामा १५ गते बसेको प्रमुख जिल्ला अधिकारीको बैठकले १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो । जिल्लाहरुमा कडा निषेधाज्ञा जारी गर्दा सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि निषेधाज्ञा खुकुलो हुँदै गएपछि अस्पतालको इमर्जेन्सी वार्ड बिरामी बढ्न थालेको डा.गुप्ताले बताइन् ।
पछिल्लो समय कोरोना सङ्क्रमितसँगै अस्पताल भर्ना हुने दर बढ्दा जनस्वास्थ्य विज्ञ तथा चिकित्सकहरूले कोरोना सङ्क्रमणको तेस्रो लहरको अनुमान लगाएका छन् । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको तेस्रोको सुरुवात नभएको बताएको छ । सङ्क्रमित, अस्पताल भर्ना हुने र मृत्यु हुने दर बढे पनि तेस्रो लहर भन्न नमिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।
कोरोना सङ्क्रमितको सङ्ख्या ग्राफमा उच्च विन्दुमा पुगेर बिस्तारै ओरालो लागेर पुनः बिस्तारै उकालो लागेको अवस्थालाई कोरोना सङ्क्रमणको तेस्रो भन्ने आधार नभएको स्वास्थ्य प्रवक्ता डा. पौडेलले जिकिर गरे । पहिलो लहरमा सङ्क्रमितको दर उच्च विन्दुमा पुगेर बिस्तारै घट्दै गएर १०० जना भन्दा कम सङ्क्रमितको सङ्ख्या पुगेको थियो ।
पहिलो लहरमा सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेर ०७७ माघ १८ गते सङ्क्रमितको सङ्ख्या घट्दै १०५ जानमा सङ्क्रमण पुष्टि भएको थियो । क्रमशः माघ १९ गते १५९, १७१, १४२, १७१, १०५ र माघ २४ गते कोरोना सङ्क्रमितको सङ्ख्या ९९ मा पुष्टि हुँदा मृत्यु दर शून्य थियो । यसरी सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेर स्वाट्टै ओरालो पहिलो लहरमा लागेको थियो ।
त्यसपछि चैत्र १३ गतेसम्म सयको हाराहारीमा सङ्क्रमितको पुष्टि भयो । चैत्र १३ गतेदेखि बिस्तारै कोरोना सङ्क्रमित सङ्ख्या बढेर ३० गतेसम्म आइपुग्दा ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । पहिलो लहरमा सङ्क्रमण दर उच्च विन्दुमा पुगेर १०० भन्दा कम सङ्क्रमित र मृत्यु शून्य भएर केही समय सङ्क्रमणको अवस्था स्थिर भएर पुनः सङ्क्रमण दर बढेकाले दोस्रो लहर भनिएको प्रवक्ता डा. पौडेलले बताए ।
हाल दोस्रो लहरमा सुरु हुँदा १०० भन्दा कम कोरोना सङ्क्रमितबाट बढेर वैशाख १६ गतेसम्म आइपुग्दा ४ हजार ९ सय २८ सङ्क्रमितको पुष्टि भएको थियो भने २६ जनाको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहरको उच्च विन्दु वैशाख २८ गते पुगेको थियो । त्यस दिन ९ हजार ४ सय ८३ सङ्क्रमित भएका थिए भने १३९ जनाको मृत्यु भएको थियो । त्यसपछि बिस्तारै कोरोना सङ्क्रमितको सङ्ख्या वैशाख २९ गते ९३०५ सङ्क्रमित भए भने १६८ मृत्यु भयो ।
३० गते ८९६० सङ्क्रमित हुँदा २१४ मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले देखाउँछ । ३१ गते ८५२० मा सङ्क्रमण पुष्टि भयो भने २०३ मृत्युको भयो । जेठ १ गते ८१६७ सङ्क्रमित हुँदा १८७ मृत्यु भयो र २ गते ७३६८ सङ्क्रमित १४५ मृत्यु भएको छ । यसरी दोस्रो लहरमा सङ्क्रमित र मृत्यु दर क्रमशः घट्दै गएर असार २० गते १६०३ जना सङ्क्रमित हुँदा २७ जनाको मृत्यु भएको थियो । कोरोना सङ्क्रमितको सङ्क्रमण दर उच्च विन्दुमा पुगेर बिस्तारै घट्दै दुई महिनासम्म सङ्क्रमितको सङ्ख्या स्थिर भई २५ सय देखि ३ हजारसम्म पुष्टि भइरह्यो ।
कोरोना सङ्क्रमण दर लामो समयसम्म स्थिर रहेर ग्राफ नघटी पुनः उकालो लागेकाले कोरोना सङ्क्रमणको तेस्रो लहर भन्न नमिल्ने स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा. पौडेलको भनाइ छ । पुनः सङ्क्रमितको सङ्ख्या बढ्दै गएर साउन ३२ गते ३४५१ मा सङ्क्रमण पुष्टि हुँदा ३५ जनाको मृत्यु भएको थियो । भदौ १ गते ३२७४ जना सङ्क्रमित हुँदा २७ जनाको मृत्यु भएको थियो । २ गते ३४०३ जनाको मृत्यु हुँदा ४२ जनाको मृत्यु भयो भने ३ गने ३०७५ मा कोरोना पुष्टि हुँदा ३३ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहरमा सङ्क्रमित सङ्ख्या उचाइमा पुगेर पहिलो महामारीमा जस्तो मृत्यु दर शून्य र सङ्क्रमित १०० जना भन्दा तल नझरेकाले तेस्रो लहर भन्न नमिल्ने प्रवक्ता डा. पौडेलले बताए ।
तेस्रो लहरकासँग जुध्नका लागि सरकारले तयारी गरे पनि नेपालमा अहिले कोरोना सङ्क्रमणको दोस्रो लहर कायम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । सावधानी नअपनाउने हो भने जोखिम बढ्ने र तेस्रो लहर छिट्टै नआउला भन्न नसकिने चिकित्सकहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्