April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

विद्युत् र विद्यालयको लापरवाहीले मजदुरको हात गुम्यो, न क्षतिपूर्ति न उपचार

भैरहवा– नेपाल विद्युत प्राधिकरणको भैरहवा शाखाले विद्युत प्रशारण लाइनमा गरेको हेलचेक्र्याइँले एक मजदुरले हात गुमाउनु परेको छ । विद्यालयको भवन बनाउने क्रममा सटाएरै लगेको प्रशारण लाइनबाट उनलाई करेन्ट लागेको हो ।

Advertisement

एकातिर जोखिमलाई बेवास्ता गरि विद्यालयको भवन निर्माण भइरहेको छ भने अर्कातिर विद्युतले प्रशारण लाइन सार्न अटेरी गरिरहेको छ । यसले दुर्घटनाको जोखिम बढाएको छ । मर्चवारी गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीया दिनेश केवटलाई गएको असार १४ गते मजदुरीका क्रममा हातमा करेन्ट लागेको हो ।

Advertisement

विशेष चिकित्सकीय सेवामा ढिलाई हुँदा हात बेकामे भएको छ । प्रशारण लाइनको तलबाट विद्यालयको भवन निर्माण क्रममा थियो । छत ढलानको समयमा उनलाई करेन्ट लागेको हो । तत्काल उपचार सम्भव नभए हात काट्नुपर्ने चिकित्सकले बताएका छन् ।

उनले रकम अभावमा उपचार गर्न सकेनन् । क्षतिपूर्ति कसैले दिएनन् । ठेकेदारले प्राथमिक उपचार गर्न केही रकम दिए पनि त्यो पर्याप्त थिएन । भैरहवाको सिटी अस्पतालमा उपचार भएको थियो । केही सुधार नभएपछि थप उपचारका लागि आफन्तले भारत लगे । चिकित्सकले तत्काल उपचार गर्न सुझाए ।

ढिलाई भए हात काट्नु पर्ने अस्पतालले जनाएको पीडितका बुवा सन्तराम केवटले बताए । ‘रकम अभावमा उपचार नगरि फर्कियौँ, सहयोग र क्षतिपूर्तिका लागि विद्यालय, गाउँपालिका र विद्युतसँग अपिल गरियो’, उनले भने, ‘तर, कसैले याचना सुनेनन् ।’

आफन्तले रोजगारी र क्षतिपूर्तिको माग गरेका छन् । मर्चवारी गाउँपालिकामा रहेको अमवा माध्यमिक विद्यालय २००७ सालमा स्थापना भएको हो । तात्कालीन माओबादीको सशस्त्र द्वन्द्वकालको समयमा पछि सार्ने गरि विद्यालयको प्राङ्गणबाट प्रशारण लाइन तानियो ।

पटक–पटक पत्रचार गर्दा समेत केही सुनुवाइ भएन । विद्यार्थी बढ्दै गए । भएको भवनमा अध्यापन गराउन सम्भव भएन । नयाँ भवन बनाउँदा प्रशारण लाइनको तलबाट बनाउनुको बिकल्प थिएन । गाउँपालिका र विद्यालय व्यवस्थापन समितिले जोखिम हुँदाहुँदै निर्माणको काम शुरु गरे ।

जोखिमको बेवास्ता गरि भएको गैरजिम्मेवारी निर्णयले एक मजदुर घाइते भएका हुन् । अहिले विद्यालय बन्द छ । सञ्चालन भएपछि ठूलो दुर्घटनाको जोखिम बढाएको छ । ‘जोखिम बढेपछि हामीले विद्यालयमा कसैलाई जान दिएका छैनौँ, प्रशारण लाइन नहटाउँदासम्म विद्यालय सञ्चालन हुँदैन’, विद्यालयका प्रधानाध्यापक राजाराम कहाँरले भने । घटनाको जिम्मेवारी विद्युतले लिनुपर्ने उनले बताए ।

विद्यालयको आसपास घना बस्ती छ । केटाकेटी खेल्न विद्यालयमा आउँछन् । ‘हामीले देख्दा रोक्ने प्रयास गछौँ तर आँखा छलेर केटाकेटी विद्यालयको नयाँ भवन भित्र छिर्छन्’, अभिभावक मन्द्रिका चौधरी भन्छन्, ‘कतै अर्को दुर्घटना हुने हो कि भन्ने डर छ ।’ प्रशारण लाइनको पोल विद्यालय भवन भित्र छ । तारहरु कक्षाकोठा र छतबाट छुन सकिन्छ ।

पहिले नाङ्गो तार थियो । पछि प्लास्टिकले बेरेको तार जडान गरिएको छ । तर, जोखिम कम भएको छैन । मजदुरीका क्रममा त्यही तारबाट करेन्ट लागेको हो । त्यसैले प्रशारण लाइन हटाउनुको विकल्प नभएको स्थानीय बताउँछन् । पुनः दुर्घटना दोहोरिन नदिन विद्युत् तथा सबै स्थानीय जिम्मेवारी हुनुपर्ने विद्यालय प्रशासनले बताएको छ ।