November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

लुम्बिनी प्रदेशसभा बैठक एमालेको अवरोध पछि स्थगित

बुटवल – प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । एमालेले आफूले बर्खास्त गरेका २ सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाए पनि पदमुक्त नगरेसम्म सदन चल्न नदिने जनाएको छ ।

Advertisement

एमालेले हृदयेश त्रिपाठीको समूहका सूर्य चिन्हबाट चुनाब जितेका नवलपरासीका अजय शाही र नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी दाङकी विमला कुमारी खत्री वलीलाई पार्टी विधानविपरीत काम गरेको भन्दै सांसद पदबाट बर्खास्त गरेको छ ।

Advertisement

एमाले पत्र अनुसार उनीहरु पदमुक्त भएको जानकारी गराएपछि मात्रै सदन चल्न दिने एमाले मुख्य सचेतक भूमिश्वर ढकालले बताए । सदन शुरु भएलगत्तै उनले समय लिएर बोल्दै भने, ‘वली र शाहीलाई कारबाही सदर नभए सदन चल्न दिइँदैन ।’

ढकालले एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने र विधान विपरित गतिविधि गर्ने आफ्ना २ सांसदलाई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरे । ढकालले संसद अवरोध गर्ने बताए पनि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको र मन्त्रिमण्डल गठनको पत्र पढेर सुनाएका थिए ।

विपक्षी एमालेले अवरोध गरेपछि सभामुख घर्तीले भोलि बुधबार दिउँसो १ बजेम्मका लागि बैठक स्थगित गरेका हुन् । सभामुख पूर्णबहादुर घर्तीले कारबाहीको पत्र सचिवालयले कानुनी प्रक्रिया अनुसार अघि बढाउने बताएका छन् ।

मंगलबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने र केही विधेयकहरु पेश गर्ने कार्यसूची थियो । एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमन पश्चात् ४ दलीय गठबन्धन सरकारमा पुगेपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो । आजको बैठक केहीबेर मात्रै चल्यो ।