September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्ने गरी नवौं प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । सम्भवतः मुख्यमन्त्रीले सोही दिन विश्वासको मत लिने छन् ।

Advertisement

‘बाहिर सार्वजनिकरुपमा केही नभने पनि मुख्यमन्त्रीज्यू एक गते विश्वासको मत लिने मनस्थितिमा हुनुहुन्छ’, लुम्बिनी सरकारका एक मन्त्रीले भने, ‘विश्वासको मत लिए पछि बल्ल मन्त्रीपरिषद् विस्तार हुने छ ।’

Advertisement

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

मुख्यमन्त्री केसीले विश्वासको मत लिएर मन्त्रिमण्डल बिस्तार र गठबन्धन सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । ‘संघीय सरकारमा जसरी लुम्बिनीमा गठबन्धन सरकारले साझा कार्यक्रम ल्याउने छ’, पदभार ग्रहण गर्दै मुख्यमन्त्री केसीले भनेका थिए । विश्वासको मत लिए पछि यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संशोधन गरेर ल्याउने तयारीमा लुम्बिनी सरकार छ ।