चार दिनमै २०७ फरार प्रतिवादी पक्राउ


कपिलवस्तु– प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादी धमाधम पक्राउ गर्न थालेको छ । पछिल्लो चार दिनमा मात्रै कपिलवस्तु प्रहरीले २ सय ७ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको हो । ‘फरार पक्राउ कार्यक्रम’ नै संचालन गरी सुरुका चार दिनमा यति धेरै प्रतिवादी पक्राउ गर्न सफल भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।
‘हामीले कतिपय दुई दशकदेखि फरार रहेकालाई पनि पक्राउ गर्न सफल भएका छौं’, एसपी कार्कीले भने, ‘पक्राउ गरिएका माथि अनुसन्धान गर्ने, अदालत बुझाउने काम भएका छन् ।’ प्रहरी तथ्यांकअनुसार साउन २६ गतेमात्रै ८१ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
२७ गते बुधबार ७४ जना, २८ गते बिहीबार २२ जना र २९ गते शुक्रबार ३० जना गरि २०७ जनालाई प्रहरी फन्दामा ल्याइएको छ । ‘लुटपाट र जालसाँजी मुद्दामा २०५९ सालमा भएको अदालतको फैसलाले दोषी ठहरिएका २ जनालाई पनि पक्राउ गरेका छौं’, प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले भने, ‘उनीहरुलाई फैसलाको १९ वर्षपछि पक्राउ गरि सजाय भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित राइएको छ ।’
गएको बिहीबार सबारी ज्यान मुद्दाका ३ जना, लुटपाटका २, जालसाँजी २ जना, बनपैदवार, अंश, कुटपिट लगायतका २२ जनालाई पक्रा उ गरिएको डीएसपी भण्डारीले बताउए । त्यस्तै बिहीबार नै १० बर्षदेखि सवारी ज्यान मुद्दामा फरार रही १ बर्ष ८ महिना १८ दिन कैद सजाय तोकिएका बाणगंगा–२ का सुरज बेल्बासे पनि पक्राउ परेका छन् ।
वन समम्बन्धि कसुर गरि जनही १ वर्ष कैद र २४ हजार ७०७ रुपैयाँ जरिवाना तोकिएका बाणगंगा–१ र २ का जितराम थारु र कृष्ण थारुलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक दिनेश गुरुङले जानाकारी दिए । बिहीबार मात्रै प्रहरीले ३ वर्ष १० महिना १९ दिन कैद भुक्तान र १ लाख ९ हजार ३ सय ६५ रुपैयाँ जरिवाना असुलउपर गरेको छ ।
त्यस्तै शुक्रबार ३० जना फरार प्रतिबादी पक्राउ गरि सजायँ भुक्तानका लागि उपस्थित गराइएको छ । जसमा जालसाजीका २ जना, सवारी ज्यानका १ जना, लागूऔषधका १ जना, कुटपिटका १३ जना छन् । शुक्रबार वडा प्रहरी कार्यालय चन्द्रौटा, ईलाका प्रहरी कार्यालय गोरुसिङ्गे, कृष्णनगर, पिपरा, गणेशपुर र पकडीले सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गरेका थिए ।
उत्प्रेरणायुक्त प्रतिस्पर्धात्मक वातावरण सृजना भएपश्चात फरार पक्राउमा सक्रियता आएको प्रहरीले जनाएको छ । ‘अपराध गरेर समाजलाई दुषित पारेर त्यही समाजमा नै लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन’, एसपी कार्कीले भने, ‘बरु अपराध गर्नेलाई ढिलोचाँडो प्रहरीले कानुनको दायरामा ल्याइ छाड्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तिब्रता दिएका हौं ।’
प्रतिकृया दिनुहोस्