March 18, 2025, Tuesday
२०८१ चैत्र ५

धोबिनी बाख्रो

  • खगिन्द्रा खुशी

‘हैन आज यो बाख्रो चर्न गएन ?’ दुवैहात पछाडि राखेर परबाट हेरेर सोधे बाबैले ।

‘व्याउला जसतो छ अनि नपठाएको ।’ आमैले उत्तर दिइन् । बाख्राको छेउमा गएर। वरिपरि घुमेर हेरे ।

Advertisement

‘व्याउन त व्याउँछ’ होला पौंठा पनि वसिसकेछ । जात खाल त राम्रो हो राम्रो बोको पाइदे त हुन्थ्यो । यसपाली पनि पाठी पायो भने त लडेलाइ बेची दिन्छु ! वैला साँडे ! कत्ति समयपछि व्याउँदैछ !
धोविनी बाख्रो उठवस गर्न थाल्यो । बसेर कराउन थाल्यो ।
‘यहाँ आइज न ए ! व्याउँछ जस्तो छ !’

आमै दगुरेर पुगिन् र झुम्रो डढाएर धुवाइदिइन् । आमै मनमनै सोच्छिन् । ‘बोको पायो भने त पालेर ठुलो पारेर बेच्छु र तिलौरो लगाउँछु । जो सुकैले जे सुकै भनोस् । कति वर्ष भयो बुचो घाँटि लिएर हिंडेको । म चैं सबैको अगाडि कति सानो भएर हिंड्नु ? सुनै लाउन नसक्ने त छैनौं नि ! यत्रा बाख्रा छ्न ! एउटा एउटा बेचे त पुगी जान्छ नि भन्छन् सबै । यो पालीको बोको बेचेर चैं मै सुन लाउँछु ।’ आमैको मनको योजना सकिएको थिएन ।

बाख्रो कराउँदा-कराउँदै कराउनै नसक्ने भो । आमै आत्तिँदै बाबैको छेउमा गइन, बाबैले पानी फुकेर दिए आमैले लगेर त्यो बाख्रोलाइ दिइन् । बाख्रा बेस्सरी बल गर्यो र एउटा सानो पाठो झार्यो । आमै भुटभुटिन थालिन् । थुइया लडे ! तुहिएर मरिस् ! आमैेले पाठो पल्टाइन् । भुत्ला पनि नआएको, आँखै नभएको, आन्द्रा बाहिर निस्किएको पाठो देखेर आमैको ओठ मुख सुके । बाबै पनि आए ।

‘थुक्क गोट्टि ! यत्रो समयपछि व्याएर पनि मरेको पाठो पाएछ ! डुवाइगयो नि ! वर्वादै पार्यो नि ! यसलाई भोली नै कसाइलाई नर्दिइ त कहाँ छाड्छु र ?’

बाख्रोले मुन्टो भुइँमा लतार्यो । आँखा मधुरो बनायो । बाबैले टाउको उठाउँदै ‘मर्छ कि के हो साँडे !? कसाइलाइत वोलाइहालौं पो जस्तो छ । मरिगयो भने त त्यै ४/५ सय पनि पाइँदैन । यस्लाइ यत्तिका समयसम्म पालेको पनि उठ्दैन । आमैले मन नलागि नलागि गएर किम्मुका २/४ वटा हाँगा भाँचेर ल्याइदिइन । अरु पनि वाख्रा चरेर आएर धोविनी बाख्रोको वरिपरि उभिएर हेर्न थाले ।

आमै फलाक्दै बाख्रालाइ खोर तिर लखेट्न थालिन् । बाबै कसाइलाइ बालाउन गए । कसाइ विहान मात्रै आउने भएछ । बाख्रो रातभरी भोकै खोर बाहिरै बस्यो । भोलि पल्ट विहान कसाइ आएर विरामी बाख्रोलाइ घिच्रोमा समाएर उठायो । बाख्रो लुते भएर करङ सबै देखिन्थे । कसाइले तीनसय मोल्यो । बाबैले चारसय मागे । बसाइले बाख्रोलाइ घचेटेर मोल पत्ता लगाउन खोज्यो ।

बाख्रो भुइमा थेचार्रियो । बाबैले आमैलाइ हेर्दै ‘हुन्छ ! लैजा !’ भनिदिए । बाख्रोले आँखा भरी आँसु पार्यो र खोरतिर हेर्यो । खोरका बाख्रा कराउन थाले कसाइले बाख्राको घाँटीको दाम्लो समाएर घिस्याउन थाल्यो । खोरका बाख्रा सबै खोरको एकापटि भेलाभएर आवाज वाहिर ननिकाली भित्रभित्रै कराउँदै पर सम्म पुगुन्जेल हेरिरहे ……।