लुम्बिनीका मन्त्री शाहीलाई एमालेले सोध्यो स्पष्टिकरण, विमलालाई कारबाहीको तयारी


भैरहवा– नवनियुक्त लुम्बिनी प्रदेशका मन्त्री अजय शाहीलाई नेकपा एमालेले स्पष्टिकरण सोधेको छ । एमालेले सूर्य चुनाव चिन्हबाट निर्वाचित भएर विपक्षी गठबन्धनले बनाएको सरकारमा सहभागी भएको भन्दै उनलाई स्पष्टिकरण सोधेको हो ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनको समर्थनमा बिहीबार लुम्बिनी प्रदेशमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री केसीले सपथ लिएलगत्तै शाहीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
एमालेले चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारवाही प्रक्रिया अघि बढाएको एमाले सचेतक भूमिश्वर ढकालले जानकारी दिए । ‘पार्टीले शाहीलाई लिखित स्पष्टीकरण सोधेका छ’, ढकालले भने, ‘वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएका छौं ।’
एमालेले बहिस्कार गर्ने भनेको प्रदेश सभाको विशेष अधिवेशनमा शाही उपस्थित थिए । उनी विनाविभागीय मन्त्री बनेका छन् । नवलपरासी पश्चिम क्षेत्रनम्बर–१ (ख) बाट सूर्य चिन्हबाट शाहीले चुनाव जितेका हुन् । वैशाख १९ गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अर्को दिन शाहीले फिर्ता लिएका थिए ।
तत्कालीन समयमा उनीसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव एमाले फर्केर मन्त्री बने तर शाहीलाई नबनाइएपछि उनी असन्तुष्ट रहँदै आएका थिए । सांसद वलीलाई यसअघि स्पष्टिकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाही प्रक्रिया अघि बढाएको एमालेले जनाएको छ ।
मन्त्री शाहीले भने एमालेले सोधेको स्पष्टिकरणको कुनै अर्थ नभएको बताए । ‘म सूर्य चिन्हबाट चुनाब लडे पनि स्वतन्त्र सांसद हो’, ‘स्वतन्त्र भएका कारण गठबन्धनमा सहभागी भएर मन्त्री भएको हुँ । उनी हृदयेश त्रिपाठीनिकट हुन् । एमालेले आफूलाई कारबाही गर्न नमिल्ने र यदि कारबाही गरे अदालत जाने उनले बताए ।
एमालेले कारबाही गर्न लागेको भनिएकी सांसद वलीले भने नेकपा विभाजनपछि यसअघि नै पत्रकार सम्मेलन गरी माओवादी केन्द्र रोजेको जनाएकी थिइन् । यसअघि उनले भनेकी थिइन्, ‘मलाई मुख्यमन्त्री पोखरेल निवासमा ‘बन्धक’ बनाएर एमालेले पूराना माइन्युट र विज्ञप्तिहरुमा हस्ताक्षर गर्न बाध्य बनाएको छ ।’ उनले आफूले नेकपाबाट चुनाव जितेको र माओवादी रोजेको जनाइन् ।
प्रतिकृया दिनुहोस्