ओलीजस्तै पोखरेलमा सत्ता छाड्दा पीडा, मुख्यमन्त्रीको सपथमा गएनन्
बुटवल– सत्ता–शक्तिबाट बाहिरिँदा कति पीडा हुन्छ भन्ने लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले छर्लङ्ग पारेका छन् । नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको सपथ ग्रहण समारोहमा सहभागी नहुँदा उनको राजनीतिक चरित्र र सत्ता छाड्दाको पीडा छताछुल्ल भएको हो ।
पोखरेलको जस्तै राजनीतिक चरित्र उनको मन्त्रीमण्डलका सदस्यमा पनि देखिएन । निवर्तमान मन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा गएनन् । बिहीबार प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण कार्यक्रम थियो । धेरैले सोंचेका थिए, पोखरेल समारोहमा सहभागी हुन्छन्, नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई दिएर निस्कन्छन् । तर, पोखरेल मात्रै होइन, अन्य निवर्तमान मन्त्री पनि आएनन् ।
कतिले यसलाई सत्ता–शक्तिबाट बाहिरिँदाको पीडा भनेका छन् । मुख्यमन्त्री हुँदा जति समय काम गरे, आलोचित बने । पछिल्लो चार महिना गैरराजनीतिक संस्कार देखएर पोखरेल बदनामी भएको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । उनलाई अल्पमतमा हुँदासमेत जवरजस्त सरकार चलाएको, सांसद खरिदविक्रीमा लागेको, सांसद बन्धक बनाएको, संसद छलेको, प्रदेशभन्दा केन्द्रको राजनीतिमा बढी ध्यान दिएको जस्ता आरोप छन् ।
एमाले एक नेता भन्छन्, ‘निवर्तमान मुख्यमन्त्री सपथ ग्रहण समारोहमा सहभागी हुनुहुन्छ जस्तो लागेको थियो, तर जानु भएनछ । गएर बधाई ज्ञापन गरेर आएको भए राम्रो हुन्थ्यो । राजनीतिक संस्कार झल्किन्थ्यो ।’
संघ सरकार गठन हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहणमा निवर्तमान हुँदै गरेका एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिएनन् । ठीक ओलीको सिको गर्दै लुम्बिनीमा पनि पोखरेल सपथ ग्रहणमा उपस्थित भएनन् । ओलीले देउवालाई जनताको अभिमतबाट नभई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेको आरोप लगाउँदै सपथ ग्रहणमा नगएका हुन् ।
लुम्बिनीका मुख्यमन्त्री केसी जनादेशबाटै नियुक्त भएका हुन् । जनताले चुनेर पठाएका बहुमत प्रतिनिधिको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिएका हुन् । उनकै पार्टीका सांसदले पदबाट राजीनामा दिए । उनको साथ छाडे । आफ्नै पार्टीभित्रको सन्तुलन मिलाउन नसक्दा पोखरेल सत्ताबाट बाहिरिएका हुन् । यस्तोमा नवनियुक्त मुख्यमन्त्री केसीप्रति पोखरेलले पूर्वाग्रह राख्न नहुने राजनीतिक विश्लेषक बताउँछन् ।
गठबन्धनका ४१ र एक स्वतन्त्र गरी ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । ‘विगतमा एउटै मन्त्रीमण्डलमा बसेर काम गरेका केसी मुख्यमन्त्री हुँदा पोखरेल खुशी हुनुपर्ने हो, तर उहाँमा त्यो साहस देखिएन’, माओवादी केन्द्रका एक सांसद भन्छन्, ‘म भए ठीक, नभए बेठीक भन्ने मानसिकताबाट पोखरेल ग्रस्त हुनुहुँदोरहेछ ।’
बौद्धिकता, मीठो र सरल स्वभाव, तार्किक क्षमताले विगतमा पोखरेलको प्रशंसा हुन्थ्यो । लुम्बिनीको मुख्यमन्त्रीबाट बाहिरिँदै गर्दा उनले धेरै आरोप खेप्न पर्यो । धेरैले ओलीको अहंकार पोखरेलले सिको गरेको आरोप लगाए । सत्ता उन्माद र जसरी पनि सरकारमा बसिराख्ने मनसायले पोखरेलले अनेक हतकण्डा अपनाएको आरोप लगाए । उनले आफूमाथि जस्तोसुकै आरोप लागे पनि सपथ ग्रहणमा गएको भए उनको राजनीतिक उचाई थप माथि उठ्ने उनकै निकटस्थहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्