March 18, 2025, Tuesday
२०८१ चैत्र ५

मुख्यमन्त्री पोखरेललाई फौजदारी अभियोग लगाउन दवाव

भैरहवा– सांसदलाई अपहरण शैलीमा आफ्नै निवासमा बन्धक बनाएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फौजदारी अभियोग लगाउन दवाव सुरु भएको छ । नेपाल महिला संघ रुपन्देहीले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा महिला सांसदमाथि फौजदारी अपराध भएको आरोप लगाएको हो । आजै राष्ट्रिय सभा बैठकमा पनि मुख्यमन्त्री पोखरेललाई कारबाहीको माग उठेको थियो ।

नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीले पाँच दिनसम्म आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको बिहीबार पत्रकार सम्मेलन गरी आरोप लगाएकी थिइन् । संघले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘मुख्यमन्त्रीकै निर्देशनमा दाङबाट अपहरण शैलीमा बुटवल ल्याएर मुख्यमन्त्री निवासमै बन्धक बनाइएको घटनाप्रति भत्र्सना एवं निन्दा गर्छौं ।’

Advertisement

एकल महिलासमेत रहेकी सांसद वलीलाई मुख्यमन्त्री निवासमा ५ दिनसम्म बन्धक बनाइएको र विभिन्न कागजपत्रमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको संघकी अध्यक्ष गंगा शाहीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भिनएको छ, ‘कसैलाई शारीरिक रूपमा बन्धक बनाउनु र उसको इच्छाविपरीत कागजपत्रमा सही गराउनु सामान्य बयान होइन । सांसद विमलामाथि भएको घटना मुलुकको फौजदारी कानुन आकर्षित गर्ने गम्भीर घटना भएको हाम्रोे ठहर छ ।’

महिला संघले अपराधि जतिसुकै प्रभावशाली नै किन नहोस् यथासिंघ्र कानुनको दायरामा ल्याएर कानुनी उपचार गरी पीडितलाई न्यायको अनुभूति प्रत्याभूती गर्न सरकारसँग माग समेत गरेको छ । विज्ञप्तिमा मुख्यमन्त्री पोखरेलको निर्देशनमा एमाले संसदीय दलका प्रमुख सचेतक आफै संलग्न भई अपहरण शैलीमा मुख्यमन्त्री निवास पुर्याइएको आरोप लगाइएको छ ।

‘लुम्बिनी प्रदेश सरकार गत बैशाष १९ मा असंवैधानिक ढंगले निर्माण यता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनैतिक र असंवैधानिक रुपमा सञ्चालन भइ आएको कुरा सर्वविदितै छ’, विज्ञप्तीमा भनिएको छ, ‘अविश्वासको प्रस्तावको सामना नगर्ने, बजेट पेश नै नगर्ने र संसद वरिष्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने जस्ता घटना त घटाइरहेका छन्, जनता, सांसद लगायत सबैको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको सरकारकै नेतृत्वले अपहरण जस्ता अपराधिक घटनामा प्रत्यक्ष सहभागिता हुनु संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने खतरा देखिएको छ ।’

आजै राष्ट्रिय सभाको बैठकमा मुख्यमन्त्री पोखरेलाई कारवाही गर्नुपर्ने माग उठेको छ । वलीलाई बन्धक बनाएर राखेको भन्दै राष्ट्रिय सभामा शुक्रवार जसपाकी सांसद प्रमिलाकुमारीले कारवाहीको माग गरेकी हुन् । उनले भनेकि थिइन्, ‘अपहरणकै शैलीमा मुख्यमत्री निवासमा पुर्याएर ५ दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक छ । पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण शैलीमा मुख्यमन्त्रीको निवासमा पुर्याएर ५ दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक छ ।’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री आँफै संलग्न भइ कानून विपरित कार्य गरिरहेको हुँदा कारवाहीको माग उनले गरिन् ।