January 25, 2025, Saturday
२०८१ माघ १३

जनशक्ति अभावमा थन्किए भेन्टिलेटर

भैरहवा– संघीय सरकारले अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको महिना दिन बित्यो । तर, जनशक्ति अभावमा प्रयोगमा आउन सकेका छैनन् । भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमणका बिरामीलाई काठमाडौं र बुटवल पठाउनुपर्ने बाध्यता छ ।

अर्घाखाँची अस्पतालमा केही दिनअघि भर्ना भएका कोरोना संक्रमणबाट सिकिस्त बिरामी सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसाललाई आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्थामा आयो । भेन्टिलेटर नभएकाले यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं लगेको दुई दिनमा उनको निधन भयो ।

Advertisement

मालारानी गाउँपालिका–५ बाँगीका श्यामलाल भुसाललाई पनि आईसीयूमा उपचारका लागि बुटवल रेफर गरियो । दुई सातामा आईसीयूमा राखेर उपचार गर्नुपर्ने आठ जना बिरामीलाई अर्घाखाँची अस्पतालले बुटवल र काठमाडांैका अस्पतालमा रेफर गरेको छ ।

‘यही नै भेन्टिलेटर सञ्चालन भएको भए बिरामीलाई बाहिर पठाउनुपर्ने थिएन,’ अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमले भने, ‘संघ सरकारले दुईवटा भेन्टिलेटर पठायो । जनशक्ति पठाएन ।’

दुईवटा भेन्टिलेटर सञ्चालन आईसीयू बेडमा बिरामीलाई सेवा दिन विशेषज्ञसहित १० जना डाक्टर र १५ नर्सको जनशक्ति चाहिने उनले बताए । संघ र लुम्बिनी प्रदेश सरकारलाई जनशक्ति पठाइदिन भने पनि अहिलेसम्म कुनै चासो दिएको छैन । जनशक्ति नहुँदा भेन्टिलेटर यत्तिकै थन्किएका छन् ।

‘तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाह समस्या भएको र भेन्टिलेटर कोठामा थन्काएर राख्नु परेको छ,’ डा.गौतमले भने । कोरोना संक्रमित जटिल विरामीलाई श्वासप्रश्वारमा समस्या भएपछि ‘हाइकेयर युनिट’ मा उपचार गर्नुपर्ने हुन्छ । त्यस्ता विरामीलाई बाहिर रेफर गर्नुपर्छ ।

सन्धिखर्कबाट एम्बुलेन्समा चार घण्टाको गाडी यात्रामा बुटवल र १२ घण्टाको यात्राबाट काठमाडौ पुर्याउँदा केही विरामी बाटोमै मृत्यु हुने गरेका छन् । कोरोना संक्रमित सहित अन्य प्रकृतिका रोगका विरामीले आईसीयूमा उपचार पाउन बाहिर जानुपर्ने बाध्यता छ ।

दुई साता देखि गाउँमा घरैपिच्छे रुघाखोकी र ज्वरोका विरामी बढ्दो छ । उनीहरु मध्ये एन्टिजेन्ट परीक्षण गर्दा धेरैलाई संक्रमण देखा पर्छ । सामान्य विरामी हुँदा गाउँकै स्वास्थ्यकर्मीको उपचारमा होम क्वारेन्टाइनमा बस्छन् । जिल्ला अस्पतालमा सिकिस्त विरामी भएरै भर्ना हुन आउँछन् । त्यस्ता विरामीलाई अक्सिजन लगाएर उपचार गर्नुपर्छ । केहीलाई आईसीयूमा राख्नुपर्ने गौतमले बताए ।