लुम्बिनीमा तेस्रो भेरिएन्टको आशंका


भैरहवा– लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा प्रायः घरैपिच्छे रुघाखोकी र ज्वरोका विरामी बढेका छन् । विरामी बढेपछि अस्पतालहरुमा चाप छ । घरैपिच्छे विरामी देखिएपछि १४ दिनसम्म अर्घाखाँची कडा लकडाउन गरिएको छ । त्यस्ता विरामीको एन्टिजेन्ट परीक्षण गर्दा आधा भन्दा धेरैको रिपोर्ट पोजिटिभ आएपछि तेस्रो भेरिएन्ट भित्रिएको आशंका अर्घाखाँची अस्पतालको छ ।
प्रदेश भित्रका जिल्लाका टोल तथा बस्तीहरुमा रुघाखोकी र ज्वरोका विरामी अत्यधिक बढीरहेका छन् । परीक्षण न्यून छ । सहरी क्षेत्रमा परीक्षण भए पनि ग्रामीण इलाकामा परीक्षणसँगै आमनागरिकको सावधानी छैन । विरामी बढ्दै जाँदा चिकित्सकहरुले तेस्रो लहरको कोरोना संक्रमण फैलिएको आशंका गरेका छन् । वास्तविक वस्तुस्थिति पत्ता लगाउन कोही लागेका छैनन् । प्रदेशमा सत्ताकै लुछाचुँडी छ । स्थानीय तह रमिते बनेका छन् ।
अर्घाखाँचीमा आइतबारदेखि साउन ३० गतेसम्म अत्यवाश्यक बाहेक अरु सेवा बन्द गरिएको छ । नीजि तथा सवारी यातायात, स्कुल, कलेज, भीडजन्य कार्यक्रम, मठमन्दिरमा पुर्जाआजा, बजार जिल्ला प्रशासनले बन्द गरेको छ । बिहान ७ देखि ९ बजेसम्म सामाजिक दुरी कायम गरेर मात्रै किनमेल गर्न सर्वसाधारणलाई सुविधा दिइएको छ । नीजि सवारीलाई प्रशासनको पास विना जिल्ला प्रवेश गर्न दिएको छैन ।
गाउँ–गाउँमा रुघाखोकी र ज्वरोका विरामी छन् । धेरैले गाउँकै मेडिकलबाट औषधि खाने गर्छन् । एन्टिजेन्ट परीक्षण गर्न सहज पहुँच नभएकाले धेरैले कोभिडको जस्तो लक्षण देखिए पनि गाउँकै स्वास्थ्यकर्मीसँग परामर्शमा औषधि र जडिबुटी खाएर कतिपय विरामी निको भएका छन् । सिकिस्त विरामी अस्पताल पुग्छन् ।
‘दुई साता देखि संक्रमण दर बढ्यो’, अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमले भने, ‘ज्वरो र रुघाखोकीका सिकिस्त विरामी मात्रै अस्पताल भर्ना हुन आउँछन् । त्यस्ता विरामीमा कोरोना संक्रमण देखिन्छ ।’ कतिपय सिकिस्त विरामीलाई भेन्टिलेटर सहितको आईसीयूमा राखेर उपचार गर्नुपर्छ । अस्पतालमा त्यो सुविधा नभएकाले बुटवल र काठमाडौं पठाउनुपर्ने उनले बताए ।
सिकिस्त विरामी भएर केही दिन अघि अस्पतालमा भर्ना भएका सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसाललाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखियो । हेलिकप्टरबाट काठमाडौ लगेको दुई दिनपछि उनको मृत्यु भयो । सिकिस्त भएर आउने धेरै विरामीलाई आईसीयूमा राख्नुपर्छ, यहाँ एचडीयू मात्रै रहेको उनले बताए ।
‘घरैपिच्छे रुघाखोकी, ज्वरोका विरामी हुने र उनीहरुको स्वाव परीक्षण गर्दा धेरैलाई कोरोना संक्रमण देखिएकाले अर्घाखाँचीमा तेस्रो भेरिएन्ट भित्रियो कि भन्ने आशंका छ,’ डा. गौतमले भने, ‘कोरोना डेल्टा प्लस भेरिएन्ट हो कि होइन पुष्टि गर्न पीसीआर पोजिटिभ देखिएका केही स्वाबका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा पठाउन गृहकार्य भैरहेको छ ।’ यसरी घरैपिच्छे विरामी भएकाले तेस्रो भेरिएन्टको आशंका लागेको उनले बताए । दुई साता भित्र जिल्लामा वडाध्यक्ष भुसालसहित ३ जना विरामी रेफर गरेपछि उपचार गर्दागर्दै काठमाडौं र बुटवलका अस्पतालमा ज्यान गएको छ । बेलैमा सर्तक भएर नियन्त्रणका उपाय नगरिएर संक्रमण दर उच्च हुने गौतमले बताए ।
मलारानी गाउँपालिका–५ बाँगीमा घरैपिच्छे रुघाखोकीका विरामी छन् । धेरैले सदरमुकाम पुगेर एन्टिजेन्ट गरेका छैनन् । गाउँकै स्वास्थ्यकर्मीको औषधि र जडिबुटी खाएर आराम गरेका छन् । सिकिस्त विरामी अस्पतालमा पुगेर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । रुघाखोकी र ज्वरो सामान्य हुँदासम्म गाउँमै औषधि खाएका कुझेरीका रुद्रबहादुर थापा सिकिस्त भएपछि अस्पताल पुगे । उनको एन्टिजेन्ट पोजिटिभ आयो । अहिले अस्पतालको एचडीयूमा उपचार गराइरहेका छन् ।
‘ज्वरो र रुघाखोकीका विरामी बढ्दो छन्,’ मालारानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भविश्वर खनालले भने, ‘घरमै बस्न र रुघाखोकी लागेमा अस्पतालमा जान भनेका छौं । धेरै विरामी भएका गाउँमा स्वास्थ्य चौकीमा एन्टिजेन्ट परीक्षण गर्दा ७० प्रतिशतलाई पोजिटिभ देखिन्छ ।’ रुघाखोकी र ज्वरोका धेरै विरामीले एन्टिजेन्ट परीक्षण गर्न नै नमान्ने उनले बताए ।
पाणिनि गाउँपालिकामा ११ महिनाका बच्चालाई पनि संक्रमण देखिएको छ । ‘गाउँमा ज्वरो, रुघाखोकी र शरिर कमजोर भएकाको परीक्षण गर्दा धेरै नै संक्रमित भेटिए,’ पाण्निि गाउँपालिका अस्थायी कोभिड अस्पताल प्रमुख डा.मदन अधिकारीले भने, ‘अस्पतालमा अहिले ३ जना छ । निको भएर घर फर्केने पनि छन्, धेरैको होम आइसोलेसनमै उपचार भैरहेको छ ।’
जहाँ रुघाखोकीका विरामी छन्, त्यहा“ ७० प्रतिशतलाई संक्रमण देखिन्छ । कोरोनाबाट बच्न १४ दिन घरमै बस्न, जरुरी काम बाहेक घरबाहिर हिंडडुल नगर्न पालिकावासीलाई भनिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए । जिल्लाभर रुघाखोकीका विरामी बढ्दो र संक्रमण दर उच्च हुँदै गएकाले कोरोना नियन्त्रण गर्न आइतवार देखि १४ दिन कडा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।
निषेधाज्ञा अवधिभर सबै घरभित्रै बसेर कोरोना फैलिन नदिन शहर र गाउँ सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । अत्यावश्यक बाहेक जिल्लामा आउजाउ गर्न प्रतिवन्ध गरिएको छ । ‘१४ दिन कडा निषेधाज्ञा गरेर हेरौं, अवस्था कस्तो हुन्छ, त्यसपछि खुकुलो बनाउँला,’ उनले भने, ‘जनप्रतिनिधिलाई आफ्ना सबै संयन्त्र परिचालन गरेर कोरोना फैलिनबाट रोक्न भनिएको छ ।’
जिल्लामा करिब ६ कोरोना संक्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन् । गाउँ–गाउँमा रुघाखोकी, ज्वरोका विरामी घरैपिच्छे छन् । गाउँमा एन्टिजेन्ट परीक्षण बढाउने र संक्रमित भएकालाई होम क्वारेन्टाइन तथा आइसोलेसनमा राखिने उनले बताए । केही घरका सबै परिवार संक्रमित छन् । दुई साता देखि संक्रमित बढेकाले कोरोना नियन्त्रणमा ल्याउन यसपालीको कडा निषेधाज्ञा गरिएको पौडेलले बताए । नियम पालना नगरे कडा कारवाही गरिने उनले बताए ।
कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी प्यूठान, दाङ, रुपन्देही, पाल्पा, गुल्मी, बाँके, बर्दिया, पश्चिम नवलपरासी पनि बढ्न थालेका छन् । बिरामीमा उच्च ज्वरो तथा रुघाखोकीजस्ता लक्षण देखिएको छ । पीसीआर जाँच गर्दा यस्ता केही बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको भीम अस्पताल भैरहवाकी मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले बताइन् ।
रुघाखोकी र ज्वरोको समस्या कोरोना संक्रमण र भाइरल दुबैमा देखा पर्ने लक्षण हो । तर लक्षणको अवस्था भने केही फरक हुने चिकित्सक बताउँछन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा.नन्दु पाठक कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी अस्पतालमा ह्वात्तै बढेको बताए । डा. नन्दु पाठकले पछिल्लो एक हप्ता यता भाइरल ज्वरोका विरामी बढेको बताए ।
प्रतिकृया दिनुहोस्