‘ढुलमुले’ सांसद खत्री
भैरहवा– सुखदुःखमा साथ दिएको जनाउँदै गत वैशाखमा माओवादी केन्द्र रोजेकी प्रदेशसभा सांसद विमला कुमारी खत्री वलीले सोमबार एमालेमा फर्किएको जनाएकी छन् । एक सातासम्म सम्पर्कबिहीन भएकी वलीले सोमबार एमाले रोजेको विज्ञप्ती मार्फत जनाइन् ।
विपक्षी गठबन्धनले सोमबार प्रदेश प्रमुख समक्ष पेश गरेको समावेदनमा पनि वलीको हस्ताक्षर उल्लेख छ । यसबाट उनको ढुलमुले प्रवृत्ति प्रष्ट भएको छ । सुरुमा उनले नेकपा फुट्दा एमाले रोजेकी थिइन् । गत बैशाखमा उनले माओवादी केन्द्र रोजिन् । पत्रकार सम्मेलन गर्दै माओवादीमै रहने बताएकी थिइन् । तीन महिनापछि पुनः आफू एमाले रहेको भन्दै विज्ञप्ती जारी गरेकी छिन् ।
माओवादी रोज्दा ठूलो आर्थिक लाभ लिएको उनीमाथि आरोप थियो । अहिले मुख्यमन्त्री शंकर पोखरेल अल्मतमा परिसकेको अवस्थामा उनले एमाले रोजेर घाउमा थोरै भए पनि मल्हम् लगाएकी छिन् । एमाले रोज्दा पनि उनले आर्थिक लाभ लिएको आरोप लाग्न सुरु भएको छ ।
सरकार अल्पमतमा परेपछि एमालेले लामो समयदेखि सांसद पार्टीमा फर्काउने प्रयास गर्दै आएको थियो । यसै क्रममा वलीलाई फकाउन सफल भएको हो । दुईसाता अघि जनता समाजबादीकी सांसद पुर्मती ढेंगा मगर पनि सम्पर्कबिहीन भएकी थिइन् । उनलाई एमालेले पार्टीमा ल्याउन खोजेको हल्ला चलेको थियो । उनी पार्टीको सम्पर्कमा आएपछि वली हराएकी थिइन् । तानातानमा परेकी वली अन्ततः एमाले फर्केकी हुन् ।
सांसद विमलाका श्रीमान् उत्तरकुमार ओली भने २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उप–निर्वाचनमा तत्कालीन नेकपाबाट विमला प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उपनिर्वाचनमा आफूले माओवादी नेताहरूबाट नै बढी समर्थन र सहयोग पाएकाले सोही पार्टीमा लाग्ने निर्णय आफूले गरेको विमलाको भनाइ थियो । वली दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित भएकी थिइन् ।
प्रतिकृया दिनुहोस्