April 18, 2025, Friday
२०८२ बैशाख ५

रूपन्देहीमा आत्माहत्याको अवस्था डरलाग्दो

भैरहवा– रुपन्देहीमा आत्माहत्याको अवस्था निकै डरलाग्दो छ । बालबालिकादेखि बृद्ध उमेर समूहका व्यक्तिले आत्माहत्या गर्ने गरेका छन् । सबैभन्दा धेरै १६–२५ वर्ष उमेर समूहका युवाले आत्माहत्या गर्ने गरेको तथ्यांक छ । यो उमेर समूह भनेको उर्जावान बेला हो । राष्ट्रको बलियो जनशक्ति हो । तर, बिडम्बना यही उमेर समूहका युवा–युवती आत्माहत्या गरेर नासिँदै छन् ।

आत्माहत्याका घटना बढ्दै जान थालेपछि रुपन्देही प्रहरीले न्युनीकरणका लागि ‘आत्माहत्या न्युनीकरण कार्ययोजना’ तयार पारेको छ । यो कार्ययोजना जिल्लाभरि आइतबारदेखि संचालनमा पनि ल्याएको छ ।

Advertisement

जिल्लामा आत्माहत्याको घटना नभएको कुनै पनि दिन खाली हुँदैन । ‘रुपन्देहीमा आत्माहत्याको अवस्था निकै डरलाग्दो छ’, रुपन्देहीका प्रहरी प्रमुख (एसपी) मनोज केसी भन्छन्, ‘आत्माहत्याको घटना नभएको दिन खाली छैन । राष्ट्रले जनशक्ति गुमाएको दुःखद् घटनामा छानबिन र आवश्यक प्रक्रिया पुरा गर्नमा प्रहरीले समय खर्चिनु परेको छ ।’

आत्माहत्याको मुख्य कारणमध्ये घरेलु हिंसा पनि भएकाले कार्ययोजनामा घरेलु हिंसा समेटिएको छ । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयका इन्चार्जलाई यस वारेमा प्रशिक्षण दिइने छ ।

प्रहरी तथ्यांकअनुसार, नेपालमा वार्षिक औषत ६ हजार भन्दा धेरैले आत्माहत्या गर्ने गर्छन् । विश्वमा धेरै आत्माहत्या गर्ने देशमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । लुम्बिनी मुलुकमा दोस्रो आत्माहत्या बढी हुने प्रदेशमा छ । रुपन्देही लुम्बिनी प्रदेशको सबैभन्दा धेरै र नेपालको आत्माहत्या धेरै हुने तेश्रो जिल्लामा पर्छ ।

इलाका प्रहरी कार्यालय अन्तर्गतका सम्बन्धित वडाहरुमा आत्माहत्या तथा घरेलु हिंसा जोखिम मापन प्रारम्भ गरि मानसिक स्वास्थ्य विशेषज्ञ भएका अस्पतालमा आत्माहत्या प्रयासको छुट्टै बिबरण राखि कार्ययोजना बनाइने एसपी केसीले बताए । कार्ययोजना अन्तर्गत किटनाशक विष बिक्री अभिलेख, आत्माहत्या न्युनीकरण पालिका समूह गठन, आत्माहत्या जोखिम मापनको आधारमा रातो, पहेंलो र हरियो बृत्त (सर्कल) निर्माण गरि जोखिम समूह लक्षित कार्यक्रम संचालन गरिने छ ।

प्रहरी तथ्यांकअनुसार, आर्थिक २०७३–०७४ मा रुपन्देहीमा १ सय ८१ जनाले आत्माहत्या गरेकोमा ०७६–०७७ मा ३ सय ६५ जना र गत आव २०७७–०७८ मा यो संख्या २ सय ४ पुगेको छ । पाँच आर्थिक वर्षमा रुपन्देहीमा आत्माहत्या गर्नेको संख्या १ हजार ७२ छ ।

आत्माहत्या गरेको १ हजार ७२ जनामा गरिएको अध्ययन अनुसार, विषादी सेवन ३१ प्रतिशत, झुण्डिएर ६६.७ प्रतिशत छ । विवाहित ६६.३ प्रतिशत र मधेशी समुदायका ६३.४ प्रतिशत छन् । निरक्षर ३.१ प्र्र्रतिशत छन् भने साक्षर (लेखपढ गर्न जानेका) ८१.४ प्रतिशत छन् । प्रवेशिका र प्रविणता तहका २.१ प्रतिशत र स्नातक भन्दा माथि अध्ययन गर्ने अति न्युन छन् ।

पेशाको आधारमा हेर्दा बेरोजगार २१.३ प्रतिशत, दैनिक ज्यालादारी १६.८, कृषि २९.४, गृहणी १६.६, विद्यार्थी १४.१ प्रतिशत छन् । आत्माहत्याको कारणमा मानसिक समस्या ३०.३ प्रतिशत, घरेलु हिंसा २०.७, प्रेम सम्बन्ध ३.५, दुव्र्यसनी २.७, दीर्घरोग २.८, व्यापार असफलता १.५ प्रतिशत छ भने कारण नखुलेको ३७ प्रतिशत छन् ।

सबैभन्दा धेरै १६–२५ वर्ष उमेर समूहका ३५.५ प्रतिशत, २५–४० वर्ष उमेर समूहका २७.१ र ४०–६५ वर्ष उमेर समूहका २४.९ प्रतिशतले आत्माहत्या गर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । देवदह मेडिकल कलेजका मानसिक रोग विशेषज्ञ डा.मनोज ढुंगानाले किटनासक विषको बिक्रीलाई नियमन गर्नसके आत्माहत्या गर्ने घट्ने बताउँछन् ।

‘विष व्यवस्थित गर्न अति जरुरी छ, विष सेवनबाट तत्कालै उपचारबाट बाँचे पनि भविष्यमा पक्षघातको जोखिम रहने गर्छ’, उनले भने । लामो समयसम्मको मदिरा सेवन गर्ने व्यक्तिमा बिभिन्न शंका तथा भ्रम उत्पन्न हुने र यही विषयलाई लिएर घरमा घरेलु हिंसाको कारण हुने गरेको उनले बताए ।

‘अन्य विरामीको औषधि सेवन गर्दा हाम्रो समाजमा राम्रो व्यवहार गरिन्छ भने मानसिक बिरामको औषधि सेवन गर्नमा सबैले प्रोत्साहित गर्ने बातावरण छैन’, डा. ढुंगानाले भने, ‘मानसिक बिरामीले बिचमैं औषधि सेवन छाडिदिने प्रबित्तिले पनि समस्या जटिल हुने गर्छ ।’

कृषि प्रयोजनका लागि प्रयोग गरिने विष आधा प्रयोग गरेर बचेको घरमा राखिने र घरायसी सामान्य विवाद भएको वेलामा आवेशमा आएर सेवन गर्ने गरेको पाइएकाले घरमा राख्ने नपाइने व्यवस्था लागु गर्नमा विशेष चिकित्सकको जोड छ । युनिभर्सल शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा.संजिव सुबेदीले, आत्माहत्या गर्ने मनस्थितिमा पुगेको व्यक्तिलाई एक–दुई मिनेटमात्रै रोकिने वातावरण बनाउने हो भने मनस्थितिमा परिवर्तन आउने भएकाले हटलाइन टेलिफोनको व्यवस्था गर्न जरुरी भएको बताए ।

उनका अनुसार, कोभिडका कारण होम आइसोलेसनमा रहेको वेला परिवारका सदस्य र अन्य व्यक्ति संक्रमितको नजिक नपर्ने, राम्ररी नबोल्ने जस्ता कारणले संक्रमित डिप्रेशनमा पुगेर मृत्यू पनि हुने गरेको छ । प्रहरीको न्युनीकरण योजना अन्तर्गत, हरेक पालिकामा इलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुख संयोजक र पालिकाका उपप्रमुख सल्लाहकार रहेको समितिको गठन गरिएको छ ।

समितिमा पालिकाका वडा अध्यक्ष, पालिकाका महिला विकास अधिकारी र मनोपरामर्शदाता सदस्य छन् । समितिले वडा वडामा दुव्र्यसनी, घरेलु भैmझगडा हुने परिवार, दीर्घरोगी, ऋणबाट पीडित व्यवसायी, आत्माहत्या प्रयास गरेका व्यक्ति लगायतका जोखिम समूहको विवरण लिएर जोखिमको आधारमा राता,े पहेंलो र हरियो सर्कल बनाएर न्युनीकरणका विभिन्न कार्यक्रम संचालन गर्ने छ । अभियानपछि आत्माहत्या गर्नेको संख्यामा कमी आउने विश्वास गरिएको छ ।