April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

सरकारी विद्यालयमै परीक्षा नगराई शुल्क असुल

भैरहवा– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मा रहेको एउटा सरकारी विद्यालयले परीक्षा र भर्ना नै नलिई विद्यार्थीहरुबाट शुल्क असुल गरेको पाइएको छ ।

Advertisement

लुम्बिनी सांस्कृतिक–२, मुजहनामा रहेको बलरामपुर माध्यमिक विद्यालयले व्यवस्थापन समिति र शिक्षकहरुको मिलेमतोमा हुँदै नभएको परीक्षाको शुल्क र आफूशुखी भर्नावापत शुल्क लिएको भन्दै अभिभावकले त्यसको विरोध गरेका छन् ।

Advertisement

कोरोना महामारीले गर्दा २०७७ कै वार्षिक परीक्षा भएन । अधिकांश निजी विद्यालयले अनलाइन परीक्षा लिए पनि सरकारी विद्यालयमा पूर्वाधार अभावमा अनलाइन परीक्षासमेत भएन । महामारीको त्रासले विद्यार्थीको भौतिक उपस्थिति हुन नसक्दा विद्यालयहरुले आन्तरिक मूल्यांकनबाटै रिजल्ट प्रशासन गरे । नयाँ शैक्षिक शत्रको अझैसम्म विद्यार्थी भर्ना सुरु भएको छैन ।

यस्तो अवस्थामा परीक्षा र भर्नासमेत सुरु नगरेको बलरामपुर माविले विद्यार्थीबाट शुल्क असुलेको हो । ‘सरकारी विद्यालयले पनि व्यवस्थापन समिति र शिक्षकहरुको मिलेमतोमा हुँदै नभएको परीक्षा र भर्नावापतको शुल्क लिएको छ । निःशुल्क शिक्षा भन्ने तर शिक्षक र समितिलाई रकम असुल्न छुट कसरी मिल्यो’, स्थानीय अभिभावक धर्मेन्द्र गुप्ताले भने, ‘यहाँ अभिभावक ठगेर भ्रष्टाचार भइरहेको छ ।’

कोरोनाले गर्दा बलरामपुर माविमा ४ महिनादेखि पढाई ठप्प छ । भौतिक उपस्थितिमा अध्ययापन गराउन प्रशासनले रोक लगाएकाले इन्टनेटको पहुँच नहुँदा पढाई ठप्प भएको हो । यहाँ कक्षा एकदेखि १२ सम्म गरी ११ सय विद्यार्थी अध्ययन गर्छन् । १० सम्मका प्रत्येक विद्यार्थीहरुबाट विद्यालयले भर्ना शुल्क भनेर ३० देखि एक सय ५० रुपैयाँ र परीक्षा शुल्क भनेर एक सयदेखि ८ सय रुपैयाँसम्म असुल गरेको अभिभावक राधेश्याम बनियाँले बताए ।

उनले भने, ‘हामीले विद्यालयलाई आवश्यक परे सहयोग गर्छौं । हामीलाई सहयोग माग्न पर्यो । तर ढाटेर परीक्षा नै नगरी रकम असुल्न पाइँदैन । विद्यालयले असुल गरेको रकम फिर्ता गर्नुपर्छ ।’ अभिभावकले भर्ना र परीक्षा शुल्क भनेर रकम उठाई विद्यालयले झुक्याएर सहयोग रकम भनेर माइन्यूट गरेको आरोपसमेत लगाएका छन् ।

‘सहयोग भनेर रकम मागे हामीहरु दिन तयार छौं । यसरी झुक्याएर असुल गर्दा धेरै अभिभावक पीडामा पर्नुभएको छ । कयौंले ऋण खोजेर तिर्नुभयो । सबैको अवस्था एउटै छैन । गाउँमा धेरैसँग पैसा हुँदैन । विद्यालयले जे गर्यो, गलत मनसायले गर्यो’, गुप्ताले भने ।

विद्यालय र व्यवस्थापन समितिले भने निजी स्रोतका शिक्षकलाई तलब खुवाउन भनेर सहयोग लिएको दावी गरेको छ । प्रधानाध्यापक राकेशचन्द्र श्रीवास्तवले विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा निजी स्रोतबाट व्यवस्थापन गरेर विद्यार्थीबाट उठेको रकमले तलब दिँदै आएको बताए । ‘हाम्रो अन्य स्रोत छैन । विद्यार्थी पढाउनै पर्यो । शिक्षक न्यून छौं । यसैले हामीले व्यवस्थापन समितिबाट निर्णय गरेर शुल्क लिएर शिक्षक राखेका छौं’, उनले भने ।

यसअघि आफूखुशी रकम असुल रोक्न भन्दै ९१ जना अभिभावक र स्थानीयले विद्यालयलाई निवेदन दिएका थिए । त्यसको सुनुवाई नभएपछि अभिभावकहरु ४ पटक विद्यालयमा डेलिगेसन गइसकेका छन् । तर, विद्यालयले भने भर्ना र परीक्षा शुल्क नभई सहयोग रकम लिएको भन्दै टार्दै आएको अभिभावकको गुनासो छ ।

सरकारले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर, बलरामपुर माविमा भने व्यवस्थापन र विद्यालयले आफूखुशी विद्यार्थीहरुबाट रकम असुल गरेको हो । विद्यालयमा २ निजी स्रोतका शिक्षकसहित शिक्षक–कर्मचारी १६ जना कार्यरत छन् । विद्यार्थी संख्याअनुसार यो शिक्षक संस्था पर्याप्त होइन । तर, गाउँका गरिबदुखी किसानका छोराछोरीले अध्ययन गर्ने विद्यालयले नै मनपरी रकम असुल्दा अभिभावक चिन्तित बनेका छन् । उनीहरुले आफूखुशी रकम असुल्ने व्यवस्थापन समिति र शिक्षकलाई कारबाहीको माग गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर यादवले आफूले विगतका अध्यक्षहरुले नै उठाउँदै आएको शुल्कलाई निरन्तरता दिएको बताए । ‘हामीले शुल्क बढाएका छैनौं । पहिले जति थियो, अहिले पनि उत्ति नै छ’, उनले भने, ‘मैलै घरबाट पैसा लिएर शिक्षकलाई तलब खुवाउन सक्दैन । स्रोत व्यवस्थापन विद्यार्थीहरुबाट गर्नै पर्छ । सोहीअनुसार गरिएको छ ।’ अध्यक्ष यादवले विगतको शुल्कलाई निरन्तरता दिएको बताए पनि अभिभावकले भने परीक्षा नै नगराई शुल्क लिनु गलत भएको बताउँछन् ।