जंगल सफाइमा युवाहरु
बुटवल– रुपन्देहीमा व्यवस्थित फोहोर व्यवस्थापन केन्द्र छैन् । अधिकांश बजार क्षेत्र फोहोरको डङ्गुरले दुर्गन्धित छन् । बजारको कोलाहल, प्रदूषण र गर्मी छल्न बजारियाहरु नजिकका गाउँ र वनपाखामा रमाउन जाने गरेका छन् ।
प्राकृतिक सौन्दर्यतासँग रमाउन जाने त्यस्ता समूहहरुले यत्रतत्र फोहोर फाल्दा स्वच्छ ठाउँको हावापानी नै दूषित बनाएका छन् । वातावरण संरक्षणमा मानवप्राणीको नीचमारा शैलीले अन्तरसम्बन्ध भएका अन्य जीवलाई असर गरिरहेको छ । दुर्गन्धित वनजंगल स्वच्छ राख्ने के हाम्रो कर्तब्य होइन ?
कोलाहल र प्रदूषणबाट दिक्क भएका बजारियाहरु शान्तिमय ठाउँको खोजी गर्दै गाउँका पाखापखेरा र जंगलहरुमा समय बिताउन जाने गरेका छन् । केटाकेटी, युवापुस्ता र बुढापाका हरकोही आ–आफ्नै तरिकाले प्रकृतिको सुन्दरतासँग झुम्छन् । तर, आनन्द लिन आउने यस्ता समूहहरुले जथाभावी फोहोर फाल्दा वातावरण दूषित बनेको छ ।
बुटवल आसपासका जंगलमा फोहोर बढेपछि स्थानीय एक युवाले वातावरण स्वच्छ बनाउन अभियान सुरु गरे । ठाउँठाउँमा डस्टविन, जनचेतनामूलक स्लोगन र आर्टहरु बनाएर फोहोर मैला व्यवस्थित गरेका छन् । ‘म प्रकृति प्रेमी मान्छे । वन जंगलमा रमाउन आउँदा यत्रतत्र फोहोर फालेको देखेँ । त्यसपछि एक्लै फोहोर व्यवस्थापनमा खटेको छु, सफाई अभियानकर्ता समुन्द्र जिसीले भने, ‘अहिले अन्य साथीहरुले पनि सहयोग गर्न थाल्नुभएको छ’ ।
बुटवलको शिवनगर, चरंगे र दिपनगर आसपासका वन क्षेत्रहरुमा सफाई अभियान शुरु गरिएको हो । अभियानमा अहिले स्थानीय कलाकार र अन्य युवाहरुले पनि सहयोग गरेका छन् । सामूहिक जमघट हुने क्षेत्रहरुमा समय–समयमा कलाकारहरुले गीत–संगीत मार्फत फोहोरमैला व्यवस्थित गर्न अनुरोध गर्छन् ।
समुन्द्रले आफूले गर्ने कार्य सामाजिक सञ्जालमा राख्ने गरेका छन् । त्यहीँ सञ्जाल मार्फत उनको सफाई अभियानमा अन्य सहयोगीहरु जुटेका हुन् । अहिले शिवनगर सामुदायिक वनले पनि अभियानमा अपनत्व दिएको छ । फोहोर संकलनका लागि जंगलको विभिन्न क्षेत्रमा रिंगहरु बनाएको छ ।
बुटवल आसपासका जंगलमा बिहान र साँझको हिँडाइका लागि आउने थुप्रै जना छन् । शारिरीक व्यायाममा आउने पाकापुस्ताहरु फोहोरले आजित थिए । जंगल सफा हुन थालेपछि उनीहरु प्रफुल्लित छन् ।
‘फोहोर बढ्न थालेपछि व्यायाम गर्न आउनेको संख्या कम भैरहेको थियो । अहिले फोहोर व्यवस्थित गरिएको छ । हिँडाइका लागि आउने मानिस क्रमिकरुपमा बढिरहेका छन्’, शिवनगरका स्थानीय शिवसम्भु लामाले भने ।
अहिले रमाउन आउने अधिकांश युवापुस्ताले आफ्नो व्यवहार परिवर्तन गरेका छन् । धेरैले फोहोर डस्टबिनमै फाल्छन् । संकलन भएको फोहोर हरेक शनिबार व्यवस्थित गर्ने गरिएको छ । युवाहरुले जंगल सफाइ अभियान सँगसँगै वृक्षरोपण अभियान पनि सञ्चालन गरेका छन् ।
जन्मदिनको अवसरमा एउटा बोटबिरुवा रोपेर मनाउने गरेका छन् । शुभदिनको अवसरमा पर्यावरण सन्तुलनमा राख्ने केही प्रयास होस् भनेर वृक्षरोपण अभियान शुरु गरेको दिपनगर निवासी शिव केसीले बताए । हामी वृक्षरोपण मात्र होइन्, त्यसको संरक्षण पनि सँगसगै गर्दर्छौं’, उनले भने ।
पृथ्वीमा रहेका हरेक जीवको एकअर्कासँग अन्तरसम्बन्ध छ । सबैको अस्तित्व कायम राख्न वातावरण सन्तुन हुनुपर्छ । वन जंगलमा फालिने फोहोर र हावामा फैलिने त्यसको दुर्गन्धले बोटविरुवा, चराचुरुंगी, जंगली जनावर मात्रै होइन मानव प्राणीलाई समेत असर गर्छ । प्राकृतिक सन्तुलनका लागि मानव आफै सजग हुनुपर्ने वातावरण विज्ञहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्