वाक द टकः हरेक स्वास्थ्य चुनौतिको सामना


लुम्बिनी – मानव जातिले थुप्रै सरुवा रोगको सामना गर्दै आइरहेका छन् । डेढ वर्षदेखि कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिरहेको छ । बढ्दो भौतिक विकासले मानव जातिको जीवन सुखसयलले बितेको छ । यस्तो अवस्थामा हरेक स्वास्थ्य चुनौतिको सामना गर्न शारीरिक चाल बढाउनुपर्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले वाक द टक अर्थात हिँड्दै कुरा गर्ने अभियान नेपालमा पनि सुरु गरेको छ ।
वाक द टक कसरी गर्ने र यसका फाइदा के छन् ?
विश्व स्वास्थ्य संगठनले लुम्बिनीमा जम्मा पारेको जमातमा प्राध्यापक, कर्मचारी, भिक्षु, प्राविधिक लगायत बौद्धिक जगत्को जमघट थियो । शनिबार सबेरै उक्त समूहले करिब चार किलोमिटर हिँडेर लुम्बिनीको सेरोफेरो परिक्रमा गर्याे । उनीहरु हिँडेका मात्रै थिएनन् आफ्ना अनुभव र योजनाहरुका बारेका छलफल गरेका थिए ।
बिभिन्न क्षेत्रका मानिसहरु रहेकाले पनि व्याक्तिपिच्छेका बेग्लाबेग्लै कुरा सुनिन्थ्यो । हिँड्दा समाजमा रहेका फरक–फरक व्याक्तित्वबीच भएको अन्तरसंवाद निकै रोचक थिए । लुम्बिनी विश्व विद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले यो अभियान विश्व विद्यालयको भावी योजना बनाउन सहयोगी हुने बताए ।
‘हिँड्न पनि पाइने विभिन्न योजना तथा अन्य कार्य पनि सँगसँगै हुने’, उनले भने, ‘समाजका विभिन्न व्याक्तिबीच अन्तरसंबाद फलदायी हुन्छ ।’ शारीरिक चाल बढाउने अथवा हिँड्ने कार्य मानव स्वास्थ्यका लागि महत्वपूर्ण माध्यम हो । हिँडाईले बिरामीको मानसिक र शारीरिक कारणहरूका लागि शारीरिक रूपमा बढी सक्रिय हुन प्रोत्साहित गर्छ ।
‘पहिलेका मानिसहरु गतिशील थिए, विभिन्न काम गर्थे, त्यसैले स्वस्थ थिए । अहिले विलासी जीवनले मानिसहरु निस्क्रिय बने, अल्छीपनाले मानिस अस्वस्थ हुन्छ’, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले भने, ‘अधिकांश मानिस सरुवा रोगको संक्रमणबाट मुक्त हुन आफ्नो शरीर चलायमान बनाउन पर्छ ।’
अझ थरिथरिका मानिससँग कुरा गर्दै हिँडडुल गर्दा आफ्नो लक्ष्य हासिल गर्न मद्दत मिल्छ, स्वतन्त्रता र स्वायत्तताको आधार बन्छ, बोल्ने भन्दा सुन्न सक्ने क्षमता बढ्छ । हरेक स्वास्थ्य चुनौतिको सामना गर्न विश्व स्वास्थ्य संगठनले वाक द टक अभियान सुरु गरेको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश सम्भाजिराओ पाण्डवले जानकारी दिए ।
स्वास्थकर्मी, नियमक निकाय र समाजका अन्य व्यक्तिबीच भएको यस्तो हिँडडुलसहितको कुराकानीले स्वास्थ्य समस्या समाधानमा टेवा पुग्ने पाण्डवले बताए । ‘एकआपसमा भाइचारा र आत्मियता बढ्छ, शरीर स्वस्थ पनि रहन्छ । त्यसैले वाक द टक सबैका लागि उपयोगी छ’, पाण्डवले भने ।
स्वस्थ मानिसको कार्य क्षमता र प्रदर्शन लगातार राम्रो हुन्छ । शारीरिक र मानसिक रुपमा स्वस्थ रहन शारीरको चाल बढाउनुपर्छ । एक अर्कासँग कुरा गर्दै हिँडेर, खेलेर, नाँचेर लगायत माध्यमबाट चाल बढाउन सकिन्छ । विश्व स्वाथ्य संगठनले सन् २०१८ देखि विभिन्न मुलुकमा वाक द टक अभियान सञ्चालन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्