फेरि पुरानै काममा मुक्त कमैया


भैरहवा– बासको व्यवस्था भए पनि आम्दानीको स्रोत नभएपछि बढैयातालस्थित रामनगरका अधिकांश मुक्त कमैया पुरानै काममा फर्किएका छन् ।
उनीहरुको बस्ती बर्दियाको राजापुर नगरपालिकाको मनाउ, बदालपुरलगायत गाउँमा फर्केका छन् । मुक्त कमैया पुनःस्थापन भएको दुई दशक नाघ्यो । आयस्रोत नहुँदा समस्यामा छन् ।
यहाँका केही मुक्त कमैया कामका लागि काठमाडांै, पोखरालगायतका सहरमा पुगेका छन् । घरबासले मात्र खान नदिने भन्दै केही त परिवारसहित भारतमा मजदुरी गर्न गएका छन् ।
०५७ साउन २ गते तत्कालीन सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । टाठाबाठा नेता र मन्त्री भइसकेको र कतिले डलर कमाएर नेपालगन्ज, काठमाडौंलगायत ठाउँमा घर बनाएर बसेको पूर्वकमैया सन्तराम थारुले आरोप लगाए ।
बर्दियामा अझै पनि तीन सय बढी पूर्वकमैया पुनःस्थापन हुन सकेका छैनन् । मुक्त कमैया समाजका जिल्ला अध्यक्ष दुखराम थारुले स्थानीय सरकारले पुनःस्थापनको जिम्मा लिए पनि काम गर्न नसकेको गुनासो पोखे । कतिपयले खानलाउन समस्या भएपछि पुरानै जग्गाधनी कहाँ खेत जोत्न गएको उनले सुनाए ।
मुक्त कमैया वीरबहादुर थारुका अनुसार केही त खान नपुगेको भन्दै भारतमा मजदुरी र रिक्सा चलाई गुजारा गरिरहेका छन्् । ‘केही त कामको खोजीमा नेपालगन्ज लगायत ठूला सहरका सडकमा भौंतारिरहेका छन्’, उनले भने ।
जिल्लामा ११ हजार ८ सय ७५ मुक्त कमैया रहेको तत्कालीन मुक्त कमैया पुनःस्थापन समितिको तथ्यांकमा उल्लेख छ । ‘कमैया मुक्तिका नाममा नेतृत्व गर्ने अगुवा अहिले हाम्राबारेमा केही बोल्दैनन्’, थारुले भने, ‘कमैया मुक्ति भएको २१ औं वर्षमा प्रवेश गर्दा पनि हाम्रो समस्या जस्ताको तस्तै छ । समस्या समाधान गर्ने कसले ?’
प्रतिकृया दिनुहोस्