बकर–इदले सद्भाव र भाइचारा बढाएको छ : मुख्यमन्त्री


बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर–इदको अवसरमा शुभकामना दिँदै नेपाली समाज विविधताले रंगिएको र एउटा समुदायले मनाउने पर्वमा अर्को समुदायले पनि खुशीयाली मनाउनुले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बलियो बन्ने बताएका छन् ।
‘बकर–इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक छ’, मुख्यमन्त्री पोखरेलले जारी गरेको शुभकामना सन्देशमा भनेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउँदै पोखरेलले संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर तयार हुने बताए ।
‘समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक छ’, उनले भनेका छन्, ‘नेपाली समाज विविधताले रंगिएको छ । विभिन्न जाति र समुदायका पर्व र उत्सवले समाजलाई उज्यालो बनाएका छन् । कुनै जाति विशेषले मनाउने पर्व र उत्सव सबैका साझा पर्व हुँदै गएका छन् ।’
उनले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि पनि संविधानमा आवश्यक प्रबन्ध गरिएको बताएका छन् । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्थाले मुस्लिम समुदायप्रति सम्मान व्यक्त भएकोे उनको तर्क छ । ‘यतिखेर मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढेको छ । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर तयार हुनेछ’, मुख्यमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।


प्रतिकृया दिनुहोस्