April 18, 2025, Friday
२०८२ बैशाख ५

टोल–टोलमा कक्षा संचालन

भैरहवा- लाइनसँग बसेका विद्यार्थीका बीचमा बसेकी शिक्षिकाले पढाइरहेकी हुन्छिन् । विद्यार्थीहरू शान्त भएर पढिरहेका देखिन्छन् । ‘अनलाइनभन्दा त यसरी बसेर पढ्न सजिलो छ’, कक्षा ३ मा अध्ययनरत विमलकृष्ण केसीले भने, ‘नबुझेको कुरा मिसलाई सोध्न पाइन्छ ।’

दोस्रो लहरको कोरोना महामारी पूर्ण रूपले नियन्त्रणमा नआएकाले बाँकेका विद्यालय बन्द छन् । लामो समयसम्म विद्यालय खुल्न नसकेपछि अभिभावक चिन्तित थिए । जिल्लामा सामुदायिक तथा निजी विद्यालय बन्द छन् । तर, बैजनाथ गाउँपालिका–३, नौबस्तामा एउटा सटरमा १५ जना विद्यार्थी किताब अनि कपी–कलम बोकेर पुग्छन् । पालैपालो किताब खोलेर कपीमा गृहकार्य गर्छन् । पाठहरू घोक्न थाल्छन् । दैनिक यसरी सटरभित्र पढाइ भइरहेको छ ।

Advertisement

‘विद्यार्थीलाई पढाइप्रति उत्प्रेरित गराउन पनि टोल शिक्षा सुरु गरेका हौं’, सटरमा बसेर पढाइरहेकी ब्राइटलाइट एकेडेमीकी शिक्षिका सुष्मा थारुले भनिन्, ‘अभिभावकले नै भनेपछि विद्यालयले टोल कक्षा सुरु गरेको हो ।’ नौबस्ताको यस सटरमा कक्षा २ देखि ७ सम्मका विद्यार्थी पढ्न आउँछन् । सुष्माले विद्यालयमा स्वास्थ्य विषय पढाउने भए पनि अहिले यहाँ १५ जना विद्यार्थीलाई सबै विषय पढाइरहेकी छन् ।

बिहानको सत्रमा नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई पढाउँछिन् भने दिउँसोको सत्रमा कक्षा २ देखि ७ सम्मका विद्यार्थी पढाउने गरेको सुष्माले बताइन् । ‘बच्चा पढाउन टोल–टोलमा पुग्नु पर्छ, त्यसैले एउटै शिक्षकले सबै विषय पढाउन सुरु गरेका हौं’, उनले भनिन्, ‘अहिले अंग्रेजी, गणित, विज्ञान, सामाजिक, नेपाली गरी प्रमुख विषय मात्र पढाउँछौं ।’ विद्यालयले ८, ९ र १० कक्षाका लागि अनलाइन विधि अपनाएको छ ।

यसरी टोल–टोलमा पुगेर विद्यार्थी पढाउन थालेको दुई साता भइसकेको सुष्माले बताइन् । उनी बैजनाथको नौबस्ता, बर्देवा, नौलापुर, सुतैया, कोसिलानगरमा पढाउन पुग्छिन् । विद्यालय खुल्ने अवस्था नदेखिएपछि अभिभावकसँग सल्लाह गरेर टोल–टोलमा गएर पढाउन सुरु गरिएको ब्राइटलाइट एकेडेमी स्कुलका प्रिन्सिपल तप्तबहादुर बुढाले बताए । ‘अभिभावकले नै बच्चा जम्मा गरेर पढाउन अनुरोध गर्नुभयो’, उनले भने, ‘त्यसैले १० देखि १५ जना विद्यार्थी जम्मा गरेर पढाउन थालेका हौं ।’

अनलाइन पढ्नुभन्दा शिक्षकसँगसँगै बसेर पढाइ सञ्चालन हुँदा अभिभावक र विद्यार्थी दुवै खुसी देखिन्छन् । ‘अनलाइनमा छोराछोरी पढ्न मान्दैनन्, स्कुल खुल्ने छाँटकाँट छैन,’ नौबस्ताकी अभिभावक गोकली बुढीले भनिन्, ‘बरु कक्षामा बसेर पढे भने अलि पढ्ने बानी त पर्ला ।’ सुरुमा कोरोना महामारीका कारण बदलिँदो अवस्थालाई मध्यनजर गरी वैकल्पिक शिक्षण विधि अपनाइएको थियो ।

बैजनाथ गाउँपालिका प्याब्सनका अध्यक्ष दमन पाण्डेले अनलाइन कक्षा व्यावहारिक नदेखिएपछि टोल कक्षा सञ्चालन गरिएको बताए । ‘अनलाइन कक्षा सबै उमेर समूह र सबै ठाउँमा प्रभावकारी हुन सकेन,’ उनले भने, ‘त्यसैले निजी विद्यालयले टोल कक्षा सञ्चालन गरेका हुन सक्छन् ।’

बैजनाथ गाउँपालिकामा अहिले १८ वटा निजी विद्यालय सञ्चालनमा छन् । बैजनाथ गाउँपालिकाका शिक्षा अधिकृत विश्वराज ढकालले विद्यार्थीमा वैकल्पिक कक्षाले सकारात्मक सन्देश प्रभाव हुनेमा विश्वस्त रहेको बताए । ‘केही निजीले टोल कक्षा सञ्चालन गरेको भन्ने जानकारी पाएका छौं,’ उनले भने, ‘हामीसँग समन्वय नगरे पनि स्वास्थ्य मापदण्डलाई ख्याल गरेर सञ्चालन गरे कुनै समस्या छैन ।’