March 18, 2025, Tuesday
२०८१ चैत्र ५

चार भरुवा बन्दुक र बारुदसहित चार जना पक्राउ

कपिलवस्तु– चार थान भरुवा बन्दुकसहित कपिलवस्तु प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–८, मुर्मीका २५ वर्षीया गुनबहादुर राना, सोही ठाउँ बस्ने ४१ वर्षीय गोपाल थापा मगर, ४७ वर्षीय मिनबहादुर सेन र मुर्मीकै ५१ वर्षीय टिकाबहादुर थापा रहेको प्रहरी पवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

Advertisement

साउन एक गते गोपाल थापा मगरको घरको कोठामा खानतलासी गर्दा कोठाभित्र खटिया कोल्टो पारी लुकाएर राखेको अवस्थामा काठ र फलामबाट बनाइएको १ नाले एउटा भरुवा बन्दुक प्रहरीले फेला परोको थियो ।

यस्तै, टिकाबहादुरको घर र कोठा खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा दुई थान भरुवा बन्दुक, वारुद राखेको २ वटा बट्टा, २९४ ग्राम बारुद र ६० थान छर्रा फेला पारिएको डीएसपी भण्डारीले बताए । ‘यहाँबाट हामीले फलामले बनेको डोरी जडित जंगली जनावर मार्न प्रयोग हुने पासो समेत फेला पारेर बरामद गरेका हौं’, भण्डारीले भने ।

प्रहरीले गुुनबहादुरको पनि घरकोठा खानतलासी गर्दा ७ फिट उचाईको झापमा रहेको काठ र फलामले बनेको १ नाले भरुवा बन्दुक र वारुद राखिएको २ वटा प्लाष्टिकको बट्टा, ५१ ग्राम वारुद फेला पारेको थियो । उक्त बन्दुक र बारुद बरामद गरिएको छ ।

उनीहरुले के–कस्तो प्रयोजनाका लागि घरमा बरुवा बन्दुर र बारुद राखेका थिएन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘हामीले चारै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेका छौं’, डीएसपी भण्डारीले भने, ‘त्यसपछि के प्रयोजनका लागि बन्दुक राखिएको हो भन्ने बारे यथार्थ बाहिर आउँछ ।’