April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

अब, वन्यजन्तु बस्तीमा पस्नासाथ ‘साइरन’ बज्नेछ

बर्दिया- वन्यजन्तु प्रभावित मधुवन नगरपालिकास्थित पत्थरबोझी, सोनाहा, कैलाशी, भगरैया र हात्तीसारमा साइरन जडान गरिएको हो । प्रत्येक वर्ष बर्दिया निकुञ्जबाट बस्तीमा छिरेर वन्यजन्तुले जनधनको क्षति गर्दै आएका छन् । जसले गर्दा निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको छ ।

Advertisement

संरक्षणकर्मीले वन्यजन्तुको बस्ती प्रवेश रोक्न विभिन्न क्रियाकला र संरक्षण गतिविधि गरिरहेका छन् । अहिले निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गरेको जानकारीका लागि ‘साइरन’ जडान गरिएको छ । यसले वन्यजन्तु बस्तीमा छिर्नासाथ जानकारी दिने गरेको छ ।

Advertisement

गेरुवा गाउँपालिकाको राजीपुर र सर्खोलमा साइरन जडान अन्तिम चरणमा छ । हात्तीले बालीनाली नष्ट, घर भत्काउने र ज्यान लिन थालेपछि अग्रिम सूचना प्रणाली (साइरन) ले मोबाइल एप्समार्फत जानकारी दिने व्यवस्था मिलाइएको हो ।

वन्यजन्तु आएपछि मचानमा जडान गरिएको साइरन बज्ने गर्छ । यसले सर्वसाधारण सचेत हुने र धनजनको क्षति हुनबाट जोगिने उज्यालो नेपालका अभियन्ता एवं पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयको समन्वयमा उज्यालो नेपाल, आयूसीएन नेपाल र ग्लोबल नेचर कोषको १० लाख रुपैयाँ सहयोगमा अपसेट फेन्स प्रविधिमा आधारित रहेर विद्युतीय तारबारसहित साइरन जडान गरिएको थापाले बताए ।

एक दशकयता उक्त क्षेत्रमा हात्ती आक्रमणबाट २० जनाको ज्यान गइसकेको छ । ५ सयभन्दा बढी घर भत्काएको निकुञ्जले जनाएको छ । वन्यजन्तुले सयौं बिघा जग्गाको अन्नबाली नष्ट गर्दै आएको स्थानीयले बताए । वन्यजन्तुको निगरानी गर्न हरेक मचानमा समुदायले पालैपालो खटाएका मानिसले साइरन बजाउने र मोबाइल एप्सबाट जानकारी दिने गर्छन् । यसले गाउँघर, खेतमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्र वाग्लेले बताए ।

एक वर्षयता मधुवन नगरपालिका–३ खाता जैविक मार्ग आसपासमा सात जनाको ज्यान लिएपछि बाघबाट जोगिन साइरन जडान गरिएको छ । कुश्निमिया, दलित महिला र सम्झना सामुदायिक वन सिमानामा पनि साइरन लगाइएको छ । करिब ४० लाख रुपैयाँ लागतमा अपसेट फेन्ससहित साइरन जोडिएको वन प्रमुख वाग्लेले जनाए ।

साइरन जडान भएपछि स्थानीयबासी वन्यजन्तुबाट केही राहत हुने बताउँछन् । विद्युतीय तारबार भएकाले अब वन्यजन्तुको आतंक न्यूनीकरण हुने विश्वास लिएको मधुवन–३ का सनत शाहले बताए । ‘वनभित्र चरिचरन, घाँसदाउरा, साग टिप्न गए वन्यजन्तुबाट जोगिन गाह्रो छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघ, हात्ती आउजाउ गर्ने थलो भएकाले जोखिम छ ।’

नयाँ प्रविधि भएकाले बाघ र हात्ती प्रवेश गर्ने मार्गमा अपसेट फेन्स प्रविधिबाट विद्युतीय तारबार लगाएकाले राहत मिलेको शाहको भनाइ छ । यस क्षेत्रका सामुदायिक वनमा बाघ, हात्ती, मृग, बँदेललगायत वन्यजन्तु ठूलो संख्यामा छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१८ मा गरिएको गणनामा ८७ वटा बाघ भेटिएका थिए । हाल त्यो संख्या बढेर १ सय २५ पुगेको निकुञ्जको अनुमान छ । हात्तीको संख्या पनि १ सय ५० हाराहारीमा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए ।