एउटै बस्तीका पाँच सय बासिन्दा जोखिममा


भैरहवा– पहिरोले जमिन चिरा परेपछि रोल्पा सदरमुकाम नजिकै धबाङस्थित ठूलोगाउँका ४२ घर उच्च जोखिममा परेका छन् । असार ८ गते राति यहाँ पहिरो गएको थियो । पहिरोले जमिन चिरा परेपछि बस्ती जोखिममा परेका हुन् ।
स्थानीय जनप्रतिनिधिका अनुसार अहिले पहिरो खस्ने र सबै घर पुरिने खतरा छ । ‘ठूलो गाउँका लस्करै रहेका घर पुरिने खतरा छ’, रोल्पा नगरपालिका–१० का वडा सदस्य शेरबहादुर थापाले भने, ‘धेरै पानी पर्यो कि ज्यान जोगाउन कुद्नु पर्छ ।’ अहिले यहाँको बस्तीका ५ सयको ज्यान जोखिममा परेको छ ।
समस्याबारे नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको उनले बताए । त्यसपछि पनि बस्ती सुरक्षित तुल्याउनेबारे चासो दिइएको छैन । पहिरो खसेमा उद्धार र सुरक्षित स्थानको खोजी गर्न सकिने जानकारी पाएपछि स्थानीय दुःखी बनेको थापाले बताए ।
रोल्पा–१०, धबाङका गाउँ वर्षौंदेखि पहिरोको जोखिममा छन् । ‘बर्सेनि पहिरोले संकट निम्त्याउँछ,’ वडाध्यक्ष मानबहादुर खत्रीले भने, ‘तर, समाधान छैन । सधैं हारगुहार गर्दै नागरिकको ज्यान जोगाउने गरेका छौं ।’ स्थायी समाधान नहुँदा स्थानीय सधैं त्रास र तनावमा बाँचिरहेको उनले बताए ।
गत असार ८ गतेको पहिरोले मोटरबाटो, गोरेटोबाटो, खानेपानीका पाइप र मूलमा नोक्सान पुर्याएको थियो । घरवरिपरिको जमिन पहिरोले बगाएपछि स्थानीय त्रासमा छन् । वडाध्यक्ष खत्रीले पहिरोले ४२ घर उच्च जोखिममा रहेको बताए । स्थानीयका अनुसार पहिरोबाट १ सय ४७ परिवार प्रभावित रहेका छन् ।
धबाङका रामसुर पुनले पहिरोले जोखिम पुर्याएको बारे जनप्रतिनिधि, नगर र स्थानीय प्रशासनले जानकारी पाएर पनि ध्यान नदिएको दुखेसो गरे । ०६० भदौमा भीषण वर्षापछि धबाङमै पहिरो जाँदा कम्तीमा १ सय घर प्रभावित भएका थिए । स्थानीयका ६० वटा घरगोठ बगेका थिए । पहिरोमा पुरिएर चार जनाको ज्यान गएको थियो ।
साबिकको धबाङ गाविसका अध्यक्ष रहेका हालका वडाध्यक्ष खत्रीले आफ्नो गाउँ सधैं पहिरोको उच्च जोखिममा रहेको बताए । प्रशिद्ध धार्मिक स्थल जलजलाको काखमुनि रहेको उक्त गाउँमा बर्सेनि पहिरो खस्ने खतरा छ । साविकको वडा ५ र ६ का धेरै गाउँ यसपटकको पहिरोको जोखिममा छन् । सदरमुकाम लिबाङसँगै सीमा जोडिए पनि उक्त गाउँ प्राकृतिक प्रकोपका साथै भोकमरीबाट समेत पीडित छ । यहाँ दलित र मगरहरूको बाक्लो बस्ती छ ।
धबाङमा घरहरू पहिरोको उच्च जोखिममा रहेको बारे खबर पाएका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पूर्वसुरक्षाका लागि तयारी गर्न सुरक्षा अधिकारी र प्रकोप व्यवस्थापन समितिमा छलफल भएको बताए ।
‘त्यसबारे हामीलाई जानकारी आएको छ, अनुसन्धान र नागरिकलाई पहिरोको सम्भावित खतराबाट जोगाउन पहल थाल्नेबारे सोच्दैछौं,’ प्रजिअ सापकोटाले भने । उच्च जोखिममा रहेका परिवारलाई नजिकको विद्यालय वा अन्य सामुदायिक भवनमा सार्न सकिने लगायतका उपायबारे तयारी गर्न निर्देशन दिइसकेको उनले बताए ।
अघिल्लो वर्ष रोल्पा नगरपालिका–८ का दर्जनौं गाउँ पहिरोको उच्च जोखिममा परेका थिए । पीडितहरूमध्ये धेरैजसो विस्थापित भएका थिए । राज्यले थोरै राहत प्रदान गरे पनि पहिरोपीडितहरू गाउँमा बस्न सक्ने अवस्था छैन ।
यसैगरी, पहिरोको उच्च जोखिममा रहेका सुनछहरी, लुंग्री, माडी र त्रिवेणी गाउँपालिकाका थुप्रै गाउँमा हरेक वर्षाको अवधिमा त्रास फैलिन्छ । ती क्षेत्रमा मानिसहरू रातदिन त्रासमै बिताउँछन् । पहिरो पीडितलाई पुनर्वास गर्ने लगायतको गुरुयोजना बनाउन जिल्ला समन्वय समिति लगायत स्थानीय तहले जाँगर नदेखाएकाले पीडितहरू बर्सेनि त्रासमा बस्दै आएका छन् ।
प्राकृतिक प्रकोपको घटनापछि मात्रै राहत बाँड्नेमा सरकारी अधिकारीको ध्यान हुने गरेकाले प्रकोपको पूर्वतयारीबारे सोच्ने गरिएको छैन ।

प्रतिकृया दिनुहोस्