August 3, 2021, Tuesday
१९ श्रावण २०७८, मंगलवार

च्याम्पियन बन्यो अर्जेन्टिना, मेस्सीको सपना पूरा

लियोनल मेस्सी कप्तानीको अर्जेन्टिना दक्षिणी अमेरिका च्याम्पियन बनेको छ ।

नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा आयोजक ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गरि अर्जेन्टिनाले २८ वर्षपछि उपाधि उचालेको हो । मेस्सीको कप्तानीमा पहिलोपटक अर्जेन्टिनाले प्रमुख उपाधि जितेको हो ।

अर्जेन्टिनाको जितमा २२ औँ मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । सो गोलका लागि डी पलले पास दिएका हुन् ।

यो समयका सर्वोत्कृष्ट खेलाडीका रुपमा लिइने मेस्सीले राष्ट्रिय टिमबाट पहिलोपटक प्रमुख उपाधि जितेका हुन् ।

३४ वर्षका मेस्सीले क्लब र व्यक्तिगत तहमा हाँसिल गर्न पर्ने सबै सफलता पाए पनि लामो पर्खाई र प्रयासपछि राष्ट्रिय टिमको कसर पूरा गरेका हुन् ।

साबिक विजेता ब्राजिललाई उसकै मैदानमा हराएर अर्जेन्टिना क्षेत्रीय च्याम्पियन बनेको हो ।

यो जितसँगै अर्जेन्टिनाले कोपा अमेरिका सर्वाधिक धेरै जित्ने उरुग्वेको कीर्तिमानमा बराबरी पनि गरेको छ । उरुग्वे समान अर्जेन्टिनाको कोपा अमेरिका उपाधि संख्या १५ पुगेको छ । सन् १९९३ पछि पहिलोपटक अर्जेन्टिनाले उपाधि उचालेको हो ।