October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

संरक्षण अभावमा जीर्ण बन्दै अशोक स्तम्भ

लुम्बिनी- ऐतिहासिक महत्व बोकेको गोटिहवास्थित अशोक स्तम्भ संरक्षणको अभावमा कमजोर र जीर्ण बन्दै गएको छ । कपिलवस्तु नगरपालिका–५ मा अवस्थित महत्वपूर्ण पुरातात्विक स्थल अशोक स्तम्भको अधिकांश भाग पानीमा डुबेको छ ।

संरक्षणको जिम्मेवारी पाएको लुम्बिनी विकास कोषले बेवास्ता गर्दा अशोक स्तम्भ कमजोर र जीर्ण बन्दै गएको हो । आर्थिक र प्रशासनिक जिम्मेवारी पाएको कोष कार्यालय यहाँबाट २८ किमिपूर्वमा छ । एक जना सुरक्षा गार्डको भरमा छाडेको छ । हेरचार र संरक्षणमा ध्यान दिइएको छैन । स्तम्भ बेवारिसे बन्दै गएको छ ।

दुई साताभन्दा बढी समयदेखि एक–दुई दिन बिराएर परेको सामान्य पानीले स्तम्भ डुबाएको छ । डुब्दा स्तम्भले पानी सोस्ने गरेको छ । प्रत्येक वर्ष यसरी डुब्ने हुँदा खिइने जोखिम बढेको सरोकारवाला बताउँछन् । यो हल्का फुक्का बलौटे ढुंगाको हो ।

‘यो कमजोर हुन्छ,’ वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले भने, ‘पानीमा डुब्दा क्यापिलरी एक्सन भई ढुंगालाई असर पुर्याउँछ ।’ ढुंगाले पानी सोस्ने पुरातत्वविद्हरू बताउँछन् । यसले स्तम्भ कमजोर बनाउँदै लगेको उनीहरूले बताए । यसले टुटफुट भई क्षति हुने सम्भावना बढ्छ । तर, संरक्षणमा ध्यान नदिंदा कमजोर बन्दै गएको छ ।

सरोकारवाला निकाय लुम्बिनी विकास कोष यस्तो अवस्थामा पनि चुपचाप बसेको दुखेसो स्थानीय हरिराम चौधरीले गरे । क्रकुच्छन्द बुद्ध जन्मस्थल गोटिहवाको दुरावस्था देख्दा निकै पीडा भएको लुम्बिनीबाट प्रार्थना गर्न आएका भिक्षु श्रीवजिरले बताए ।

‘जसले संसारलाई खुसी र आनन्द प्रदान गरेर मुक्तिको बाटो देखाउनु भयो, उहाँकै गृह डुबान, उजाड र लथालिंग देख्दा मन रोयो’, उनले भने । ‘यसपालि जेठदेखि नै स्तम्भ डुब्न थालेको हो,’ स्थानीय रामदास पासीले भने, ‘संरक्षणको जिम्मा पाएको कोषले लुम्बिनी बाहेक कहीं ध्यान दिन्न ।’ वर्षा पनि थामिएको छैन । स्तम्भ पनि डुब्न छाडेको छैन ।

स्तम्भले हरेक वर्षामा पानी खाँदै आएको छ । ‘जमिनको सहतभन्दा होचो ठाउँमा स्तम्भ छ,’ लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भने, ‘त्यहाँ खाल्टो छ । सार्न पनि हुँदैन । त्यही संरक्षण गर्नु पर्छ । यसले पनि समस्या छ ।’ पानीले स्तम्भ ३ फिट बढी डुब्छ । बढी पानी पर्यो भने ५ फिटजति डुब्छ । स्तम्भको टुप्पो पनि देखिंदैन । स्तम्भ २ दशकबाटै डुब्दै आएको छ ।

अशोक स्तम्भ करिब १० फिट ८ इन्च लामो छ । ७ वर्षअघि तलतिरको ५ फिट बढी भागमात्र संरक्षण गरिएको थियो । जियोटेक्सटाइल कपडाले बेरेर बालुवाले खाली च्याम्बरलाई पुरेर स्तम्भ संरक्षण गरिएको हो । माथिको भाग त्यत्तिकै छ । खुला आकाशमुनि हावापानी, घाम र धूँवाधूलोको प्रदूषणले यसलाई थप कमजोर बनाउँदै लगेको छ ।

वर्षाका बेला स्तम्भ २–३ महिना डुब्ने गर्छ । एकदुई दिन वर्षा हुनासाथ डुब्न थाल्छ । ‘अर्को ठाउँमा सारेर संरक्षण गर्न मिल्दैन’, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भने, ‘पुरातत्व विभागसँग समन्वय गरेर अर्को वर्षबाट संरक्षण गर्छौं ।’ त्यो आफूहरूको सरोकार र चिन्ताको विषय बनेको उनले बताए ।

गोटिहवा पवित्र स्थल हो । भारतीय सम्राट अशोक बुद्धस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आए । गोटिहवा भगवान् गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाण स्थल हो । ‘शान्ति र ऊर्जाशील स्थलको सम्राटले भ्रमण गरेको हुनु पर्छ’, इतिहास तथा संस्कृतिविद् डा.गितु गिरीले भने, ‘स्मरण गर्न चिनो राखे ।’ तर, त्यसैलाई हामीले संरक्षण गर्न नसक्नु सम्पदाप्रतिको हेलचेक्र्याइँ भएको उनले सुनाए ।

१ हजार ७ सय ७० वर्षअघि गोटिहवा अस्तित्वमा आएको वरिष्ठ पुरातत्वविद् बिडारीले बताए । त्यतिखेर व्यवस्थित रूपमा बनाइएको स्तम्भको अहिले बिजोग छ । सम्राट अशोकको राज्याभिषेकको २० औं वर्षमा उक्त स्तम्भ बनाइएको थियो । ‘शान्तिका दृष्टिले ऊर्जाशील भएकाले अशोक नै यहाँ आएका हुन्’, उनले भने, ‘अन्तर्राष्ट्रिय महत्वको ठाउँलाई हामीले बुझ्न सकेनौं ।’

अशोक स्तम्भको इतिहास
भारतको हैदरावादको रायचोरमा रहेको ढुंगामा बनाइएको मध्यकालीन इन्सिक्रप्सनमा घोडाले तानेको गाढामा राखेर अशोक स्तम्भ ल्याएको इतिहास छ । ४० वटा पांग्रा भएको गाढालाई ५ सय घोडाले तानेर ल्याएको इतिहासमा उल्लेख भएको वरिष्ठ पुरातत्वविद् बिडारीले बताए ।

भारतको बनारस नजिक चुनार पहाडबाट उक्त स्तम्भ ल्याइएको भन्ने बारेमा सबैको एकमत छ । बौद्धग्रन्थमा नेपाल र भारतमा ४२ वटा अशोक स्तम्भ रहेको उल्लेख छ । त्यसमध्ये २२ वटा मात्र पत्ता लागेका छन् । १९ भारत र ३ वटा नेपालमा छन् । नेपालमा रहेका ३ अशोक स्तम्भमध्ये गोटिहवाको एक हो । यहाँ जस्तै लुम्बिनी र निग्लिहवामा अशोक स्तम्भ रहेका छन् । राजा शुद्धोधनको राजप्रासाद तथा बुद्धसँग सम्बन्धित अन्य महत्वपूर्ण स्थल प्रमाणीकताका लागि स्तम्भ निकै महत्वपूर्ण मानिन्छ ।