April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

महामारीबीच सिटी अस्पतालमा विशिष्टिकृत सेवा सुरु

भैरहवा- कोरोना भाइरसको महामारीबीच रुपन्देहीको भैरहवामा सुविधा सम्पन्न अस्पताल संचालनमा आएको छ । १० वर्षदेखि भाडाको घरबाट सेवा दिँदै आएको सिद्धार्थनगर सिटी अस्पताल प्रालिले करिब डेढ वर्षसम्म जारी महामारीलाई छिचोल्दै सुविधा सम्पन्न भवन निर्माण गरी विशिष्टिकृत सेवा सुरु गरेको हो ।

Advertisement

आफ्नै भवन निर्माण गरी सिटीले सेवासुविधा थप गर्दै चिकित्सकीय सुविधासहित सेवा सुरु गरेको छ । ‘जटिल अवस्थामा पनि हामीले गुणस्तरीय चिकित्सकीय सेवालाई प्रभावकारी बनाउनुपर्छ भनेर कामलाई रोकेनौं, यसैले यस्तो अवस्थामा पनि अस्पताल निर्माण गरी सेवा सुरु गरेका छौं, यो समग्र लुम्बिनी प्रदेशलाई मात्रै नभई सिंगो मुलुकका लागि खुशीको कुरा हो’, अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले भने ।

Advertisement

५५ हजार स्क्वायर फिटमा निर्माण भएको भवनबाट अझ गुणस्तरीय तरिकाले उपचार गर्ने अस्पतालका अध्यक्ष डाक्टर सुवोध पाण्डेले बताए । मायादेवी गाउँपालिका–८ स्थित भैरहवाको लुम्बिनी रोडमा अस्पतालले सुविधा सम्पन्न भवन निर्माण गरेको हो । ८० करोड बढी लागतमा अस्पताल भवन निर्माण गरिएको अध्यक्ष डा.पाण्डेले जानकारी दिए ।

२०६८ सालमा १५ शय्याबाट अस्पतालले सेवा सुरु गरेको थियो । अहिले सुविधा सम्पन्न भवन निर्माण पछि स्तरबृद्धि गरी ५० शय्याको पुर्याइएको छ । स्तरबृद्धिसँगै रोग पहिचान तथा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक प्रविधि तथा उपकरणहरु अस्पतालमा जडान गरिएको छ ।

‘अस्पतालको प्रयोगशालामा हुने अटोमेटिक एनालाइजर, ६४ स्लाइस सिटी स्क्यान, मोड्युलर अपरेशन, आईसीयूका लागि भेन्टिलेटर लगायतको ब्यवस्था गरिएको छ, यसबाट आम नागरिकले सरल, सस्तो र भरपर्दो उपचार पाउनहुनेछ’, पौडेलले भने । यस्तै, अस्पतालले हाडजोर्नी तथा मेरुदण्ड अपरेशन सेवा, दुरविनबाट गरिने पत्थरी लगायत सम्पूर्ण अपरेशन सेवा, डायलाइसिस सेवा, छाला सम्बन्धि लेजर सर्जरी तथा कपाल प्रत्यारोपण सेवा पनि सुरु गरेको पौडेलले जनाए ।

नवनिर्मित अस्पताल भवनमा डिलक्स तथा नर्मल क्याबिनको ब्यवस्था गरिएको अस्पतालका आकस्मिक कक्ष ईन्चार्ज एवं निर्देशक डा.अमित चतुर्वेदीले बताए । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको नजिकै यो अस्पताल छ, बिमानस्थलमा ओलर्ने बिरामी पाहुनालाई लक्षित गरि ३ वटा अब्ज्रर्वेशन बेड र २ वटा स्वीटसहित अन्तर्राष्ट्रिय युनिट बनाइएको छ, यसबाट भीआईपी र विदेशी पर्यटकले चाहेजस्तो सेवा पाउनुहुनेछ’, उनले भने ।

काठमाडौंमा रहेको ग्राण्डी र मेडिसिटी अस्पतालमा लामो समय अनुभव प्राप्त गरेका विशेषज्ञ चिकीत्सकको टोलीद्वारा सेवा प्रदान गरिरहेको र यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रबन्ध निर्देशक पौडेलले जनाए ।

उनले भने, ‘कोभिडको कारण पूर्णरुपमा अझै अस्पताललाई सञ्चालनमा ल्याउन सकिएको छैन । केही सामान्य काम बाँकी छन् । तर, पनि हामीले विशेषज्ञ सेवासुविधालाई सुरु गरिसकेका छौं, सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।’ अस्पताल अबको २–३ महिनामै पूर्ण रुपमा सञ्चालनमा ल्याउने उनले बताए ।

भारतसँग सीमा जोडिएका कारण यहाँ भारतको महाराजगञ्ज, सिद्धार्थनगर जिल्लाका साथै नेपालको उत्तरी भेग गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्यूठानबाट आम नागरिक उपचारमा आउँछन् । यस्तै, छिमेकी जिल्ला कपिलवस्तु, नवलपरासीबाट पनि सिटी अस्पतालमा विरामी उपचार गराउन आउने गरेका छन् । ‘विशिष्टिकृत सेवासहित अस्पताल थप व्यस्थित बनेकाले अब झन धेरैको रोजाइँ सिटी बन्नेमा हामी विश्वस्त छौं’, पौडेलले भने ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा कोरोनासँगै अन्य रोगका विरामीले सहज सेवा पाउनै मुस्किल परिरहेका बेला सिटीले गुणस्तरी सेवा प्रदान गरेको थियो । आगामी दिनहरुमा महामारीमा आम नागरिकको उपचार अस्पताल सुविधा सम्पन्न भएसँगै थप सहज हुने विश्वास गरिएको छ ।