October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

नयाँ ‘ट्रेकिङ रुट’

भैरहवा– कोरोना महामारी र निषेधाज्ञाकै बीच नयाँ ट्रेकिङ रुटको पहिचान भएको छ । हिमाली क्षेत्रमा पदयात्रा गर्ने गरी रुकुम पूर्वमा नयाँ रुट पहिचान गरिएको हो । अन्वेषक मनबहादुर खत्रीले नयाँ रुट पहिचान गरेर त्यसलाई पक्का गरेका हुन् ।

सिस्ने गाउँपालिका र त्यस आसपासका क्षेत्र यस पदमार्गमा समेटिएका छन् । जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोटबाट सुरु हुने पदमार्ग एकतर्फी एक साताको हुने बताइएको छ । निषेधाज्ञाका क्रममा भीडभाडबाट टाढा रहनुपर्ने, कोरोनाको जोखिमबाट पनि मुक्त भइने भन्दै खत्री रुट पहिचानमा लागेका थिए । लामो समय कतै एक्लै र कतै सहयोगीको साथमा हिंडेर यो रुट फाइनल गरिएको उनले बताए ।

रुकुमकोटबाट एक दिनमा लैप, दुई दिनमा गुप्ता दह, तीन दिनमा भरभरे, चार दिनमा चवर, पाँच दिनमा ठूला भेरा, छ दिनमा नयाँ पन्ना र सात दिनमा पुरमूली पुगिनेछ । त्यसपछि अर्को बाटो भएर चार दिनमा सदरमुकाम रुकुमकोट पुग्ने गरी रुट भेटिएको खत्रीले जानकारी दिए । यही पदयात्राका क्रममा द्वारी भएर डोल्पा, चिताराङसी भएर पुथाउत्तरगंगा गाउँपालिकाका अग्ला हिमाल भएको ठाउँतिर जान सकिने रुट पनि पहिचान भएको छ । यद्यपि, त्यो विस्तृत पहिचानको काम भने भएको छैन ।

यो रुट सिस्ने गाउँपालिकाको छिमेकी बाँफीकोट गाउँपालिका २, बाट पनि पुग्ने गरी पहिचान भएको छ । कालाखर्क, असुवी, सागबारी रुकुम पश्चिमका भू–भाग हिंडेपछि सिस्ने गाउँपालिकाकै क्षेत्र हिंड्नुपर्छ । लैप, गुप्तादह, निगालटाटा, भरभरे, किला, सिस्ने हिमालको बेसक्याम्प, नावर छेर्ना, चौर, ठूलो ढुंगा, नावर डोरी हुँदै रुट पहिचान भएको हो । यसैगरी ढाकर, दाप्लो, चिरो, भेरी छेर्ना, ठूला भेडा, नौ दह, नयाँ पन्ना, नरपन्ना, रातापहर, घ्यू पोखे, भएर पुरमुली पुग्ने रुट पक्का भएको हो ।

यो रुटमा नौ दह, सानो कैलाश भेटिन्छन् भने डोल्पाका अग्ला हिमाल, काञ्जिरोवाका हिमशृंखला दृश्यावलोकन गर्न सकिन्छ । पदयात्रीका लागि यो रुट महत्वपूर्ण र रमाइलो भएको खत्रीको भनाइ छ ।

पहिचान भएको रुट मर्मत भने गर्नुपर्ने छ । कतै असजिलो भएकाले त्यसलाई सजिलो बनाएर सधैंजसो पदयात्री हिंड्न मिल्ने बनाउनुपर्ने सुझाव उनको छ । नौ दहमा नौवटा स साना दह छन् । सानो कैलाश पनि यही रुटमा भेटिन्छ । तिब्बतको कैलाशलाई ठूलो मान्दा सानो कैलाश यो भएको दाबी स्थानीयको छ ।

नौ दह र सानो कैलाश धार्मिक रुपमा महत्वपूर्ण मानिने सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले बताए । त्यस क्षेत्रमा सकेसम्म मान्छे जानुहुन्न भन्ने मान्यता रहेको वडाध्यक्ष बुढाको भनाइ छ । ती क्षेत्रका कतिपय कुरा विश्वास मान्न नसकिने तर नमानी नहुनेजस्ता भएको उनले बताए । पदयात्रा सम्बन्धी सम्पूर्ण विवरण र सुझाव खत्रीले सिस्ने गाउँपालिकामा बुझाएका छन् ।

पदमार्ग पहिचानका लागि आवश्यक कार्यक्रम तय गर्ने र बजेट विनियोजन गर्ने योजनामा रहेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । रुकुमकोटमा रहेको कमलदहसित जोड्ने गरी पहिचान भइसकेको पदमार्गलाई व्यस्थित बनाउन आवश्यक पहल र प्रयास गर्ने उनले बताइन् ।