March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

मानवीय गतिविधिले वन्यजन्तुको आक्रमण बढ्दो

अन्तरक्रियामा सहभागीहरु । तस्बिर : पब्लिक कुरा

बर्दिया– निकुंज क्षेत्रमा मानवीय गतिविधि बढ्दै जाँदा वन्यजन्तुको आक्रमण बढेको छ । पछिल्लो एक वर्षमै वन्यजन्तुले बर्दियामा गरेको मानवीय क्षतिलाई हेर्दा निकुंज क्षेत्रमा मानवीय गतिविधि बढ्दै गएको पुष्टि हुन्छ ।

Advertisement

बर्दिया राष्ट्रिय निकुंजका अनुसार चालु आर्थिक वर्षमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रेस क्लबले आइतबार ठाकुरद्वारामा आयोजना गरेको कार्यक्रममा निकुंजका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जैविक मार्गमा नै मानवीय गतिविधि बढ्दा क्षति बढेको जनाए ।

Advertisement

‘केही समय यता मानव जाति र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ, यसलाई कम गर्न हामीले निकुंज क्षेत्रमा मानवीय गतिविधि कम गर्नुपर्छ, अतिक्रमण गर्ने, आफूखुशी निकुंज प्रवेशलाई रोक्नुपर्छ । यो नरोकिए क्षति हुन्छ’, उनले भने, ‘यसका लागि हामीले सचेतनाका कार्यक्रम गरिरहेका छौं ।’

निकुंजकाअनुसार चालु वर्षमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । यसमध्ये बाघको आक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जसमा एक जना निकुंजका कर्मचार छन् भने अन्य स्थानीय हुन् । अघिल्लो वर्ष बाघले आक्रमण गर्दा ६ जनाको मृत्यु भएको थियो । त्यसमा पनि एक जना निकुंजका कर्मचारी थिए । अहिलेसम्म बर्दियामा हात्तिको आक्रमणबाट ४३ जनाको मृत्यु भएको निकुंजले बताएको छ ।

हात्तिको आक्रमण घट्दै गए पनि बाघको आक्रमण भने बढेको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले वन्यजन्तुको वासस्थानमै मानवजातिको बसोबास भएमा त्यसले ठूलो असर गर्ने जनाए । उनले वासस्थानमा असर नपर्ने गरी मानवले काम गर्नु पर्ने जनाए ।

‘जहाँ क्षति बढी भइरहेको छ, त्यहाँ मानिस बढी जाने गरेका छन्, यसलाई रोक्न हामीले योजनाबद्ध काम गरेका छौं’, उनले भने, ‘वन्यजन्तु विनास गर्ने काम हुन भएन, उनीहरुलाई जोगाउनुपर्छ, प्रकृतिले नै उनीहरुलाई वनमै बस्न बनाएको हो । मानवले त्यसको संरक्षणमा काम गर्नुपर्छ । हामी जोगिने र उनीहरुलाई सहयोग गर्ने काम गर्नुपर्छ ।’ वन्यजन्तुको संरक्षण गर्न मानवले नै काम गर्नुपर्ने बताए ।

संरक्षण अधिकृत श्रेष्ठ भन्छन्, ‘खाता जैविक मार्गमै मानिसको आवतजावत् हुन्छ, जहाँ वन्यजन्तुको अत्यधिक आउजाउ हुन्छ । यसले गर्दा आक्रमण बढ्दो छ । अर्कातर्फ निकुंज क्षेत्रमा तस्करी गर्ने र अनधिकृत घरटहरा बनाउँदा पनि समस्या हुने गरेको छ ।’

स्थानीय प्रशासन र निकुंजले बर्दियामा वन्यजन्तुको आक्रमण कम गर्न र निकुंज क्षेत्रको संरक्षणमा निरन्तर काम गरिरहेको प्रजिअ सुनारले बताए । बर्दियामा वन्यजन्तुले मानवीयसँगै अन्नबालीको पनि क्षति गर्दै आएको छ । यसलाई ध्यानमा राखेर निकुंजले सचेतना जगाउने, सवधानीका उपाय सिकाउने र वैकल्पिक खेतीको योजना अघि सारेको छ । यस्तै, अन्नबाली र मानिसको विमा कार्यक्रम अघि सारेको जनाएको छ ।

वन्यजन्तुलाई जिस्क्याउने नभई उनीहरुलाई माया गर्ने र आहार बिहारमा सहयोग गरेमा आक्रमण कम हुने प्रजिअ सुनारले बताए । होटल एशोसिएसन नेपाल बर्दियाका अध्यक्ष मेहनलाल चौधरीले निकुंजले बीमा कार्यक्रम अघि सारे पनि त्यो प्रभावकारी हुनेमा शंका गरे । उनले स्थानीयसँग सरसल्लाह नगरी योजना अघि बढाइएको भन्दै यसलाई व्यापक छलफलपछि मात्रै अघि बढाउन आग्रह गरे ।

बर्दिया निकुंज ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । जसमध्ये ५ सय ७ वर्ग किमी मध्यवती क्षेत्र छ । निकुंजमा ६१ भन्दा बढी स्तनधारी प्रजाति छन् । ५१३ बढी पन्छी प्रजाति, ४२ बढी घस्रने प्रजाति छन् । निकंजकाअनुसार ८७ बढी बाघसहित हात्ति, गैंडा पनि यहाँ पाइन्छ । समुन्द्र सतहबाट नजिकै पर्ने भएकाले यहाँ धेरै वन्यजन्तु तथा पन्छी र घस्रने प्रजातिको बसोबास छ ।