March 22, 2025, Saturday
२०८१ चैत्र १०

लुम्बिनीको प्रदेश सभा बैठक १८ दिन पछि धकेलियो

भैरहवा– लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । विपक्षी गठबन्धनको बहिस्कार पछि आइतबार स्थगित भएर आज बस्ने भनिएको प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

संसद सचिवालयमा सूचना टाँस गर्दै प्रदेश सभाको दशौं बैठक १८ दिनको लागि स्थगित गरिएको छ ।

Advertisement

बैठक सुरु नहुँदै प्रदेश सभा सचिवालयले सूचना टाँस गरि असार २७ गतेसम्मको लागि स्थगित गरेको हो । आइतबारको प्रदेश सभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजका लागि बोलाइएको थियो ।

आइतबारको बैठकमा बजेटका विषयमा छलफल प्रारम्भ भएलगत्तै विपक्षी गठकन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै अल्पमतको सरकारले बजेट प्रस्तुत गर्न नमिल्ने भन्दै बहिस्कार गरेका थिए ।

‘पूर्व सूचना अनुसार निर्धारित आठौं अधिवेशनको दशौं बैठक विशेष कारणवश स्थगित भएकाले आगामी दशौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल आषाढ २७ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सचिवालयमा टाँस गरेको सूचनामा उल्लेख छ ।

विपक्षी गठबन्धनले प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत सिद्ध गर्नु पर्ने माग राख्दै आएको छ । अल्पमतका मुख्यमन्त्रीको नेतृत्वको सरकार अस्कीवार गर्ने विपक्षी गठबन्धनको अडान राखेका छन् ।

मुख्यमन्त्री नियुक्त हुँदा पदमुक्त भएका र पार्टीमा नभएका सांसदहरुको समेत हस्ताक्षर गरि मुख्यमन्त्री पोखरेलले दाबी प्रस्तुत गरेको उनीहरुको आरोप छ । जसले गर्दा प्रदेश सभा बैठक नै सर्दै आएको छ । मुख्यमन्त्री पोखरेलले भने नीति तथा कार्यक्रम बहुमतले पारित भएको भन्दै आफूले विश्वासको मत नलिने मनस्थितिमा छन् ।