March 22, 2025, Saturday
२०८१ चैत्र १०

आशै मारेका अपराधी पक्राउ पर्दा पीडितलाई न्यायको अनुभूति

भैरहवा– २०६० साल फागुन १७ गते ।
मुद्दाः कर्तव्य ज्यान ।
स्थानः रुपन्देही जिल्ला साविक मक्रहर गाविस, हाल तिलोत्तमा नगरपालिका ११ ।
कैद सजायः १० वर्ष ।

बहिनी र बहिनीको सासु आमा धनकुमारी बिश्वकर्माबीच सधै हुने छेडछाडको आवेगमा धन बहादुर बुढाथोकीले कुटपिट गर्छन् । धनकुमारीको उपचारको क्रममा आठ दिनपछि मृत्यु भयो ।

Advertisement

हत्या गरिएकी धनकुमारीको फोटो देखाउँदै उनका आफन्त । तस्बिरः पब्लिक कुरा

पक्राउ परेका बुढाथोकी धरौटीमा रिहा भए । जिल्ला अदालतले २०६३ साल असार ११ गते फैसला गर्याे । तर उनी पक्राउ परेनन् । घरमै बसिरहे । पीडित परिवारमा सोधपुछ गर्ने कोही भएनन् । मृतकका छोराहरु रोजगारको सिलसिलामा विदेशतिर थिए भने श्रीमानको मृत्यु भैसकेको थियो ।

अदालतले सफाई दिएको रहेछ भन्ने लागेर अन्य आफन्तहरु पनि मौन बसे । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उनी फरार सूचीमा थिए । यहीँ जेठ १८ गते रुपन्देही प्रहरीले पक्राउ गरेको छ । १८ वर्षपछि पीडितका आफन्तले न्यायको अनुभूति गर्न पाएका छन् ।

‘हामीले आसै मारेका थियौँ न्याय पाइँदैन भन्ने लागेको थियो’, ‘बुहारी ईश्वरी सुनारले भनिन् । ‘न्याय मरेको रैनछ, ढिलो भए पनि त्यो हत्यारालाई कारबाही भयो’, छोरी सुमित्राले भनिन्, ‘बल्ल मन शान्त भयो ।’

२०६३ सालमा साविकको गजेडी गाविस वडा नं १ मा बस्ने पर्शुराम पौडेलले नजिकैको जंगलमा एक बालकको हत्या गरे । साथी युवराज ढकालसँग मिलेर जंगलमा शव पुरेका थिए । पक्राउ पर्ने डरले युवराज भारतमा गएर लुके । उनको परिवार चितवनमा बसाईसर्यो ।

२०६५ सालमा युवराज भारतबाट आएर चितवनको साविक गितानगर गाविस वडा नं. ७ बाट भुवोन ढकालका नाममा नागरिकता निकाले । घटना घटाएको १४ वर्षपछि उनी गएको माघमा रुपन्देही फर्के । त्यसपछि कञ्चन गाउँपालिका वडा नं. २ हात्तीबजारमा कुखुरा फार्म खोलेर बसेका थिए ।

उनलाई गएको बैशाख १५ गते फार्मबाटै प्रहरीले पक्राउ गर्यो । रुपन्देहीमा बैशाख १६ गते देखि निषेधाज्ञा जारी छ । योबीचमा अपराधका गतिविधि कम भएका छन् । यसले अपराध अनुसन्धानमा खटिने प्रहरी फुर्सदिला बने । रुपन्देही प्रहरीले यो फुर्सदिलो समयको सदुपयोग गर्दै फरार अपराधी पक्राउ अभियान चलाएको छ ।

अभियानपछि २० वर्षदेखि फरार अपराधी समेत प्रहरीको फन्दामा परेका छन् । आसै मारेका प्रतिवादी पक्राउ परेपछि पीडितका आफन्तले न्यायको अनुभूत गर्न पाएका छन् । घटना घटाए पश्चात ठाउँ परिवर्तन र पहिचान लुकाउने गरेका छन् ।

प्रविधिको प्रयोगसँगै गरिने सूक्ष्म अध्ययनबाट फरार अपराधी पक्राउ सम्भव भएको अनुसन्धानमा खटिने अधिकारीहरुको अनुभव छ । कोही शिक्षण पेशमा छन्, कसैले ठूलै व्यापार व्यवसाय गरेर बसेको पाइएको प्रहरी निरिक्षक केशव केसीले बताए । ‘उसले हत्या गरेको हो भनेर विश्वास नै लाग्दैन, प्रतिष्ठित पहिचान बनाएर बसेका छन्’, केसीले भने ।

रुपन्देही प्रहरीले गएको बैशाखदेखि फरार अपराधी खोजतलास तथा पक्राउ कार्यक्रम सञ्चालन गरेको हो । यो बीचमा १९ जना पक्राउ परेका प्रहरी उपरीक्षक मनोज केसीले बताए ।

प्रहरीले अहिले जघन्य अपराधमा दश वर्ष बढी सजाय भएका फरार अपराधी पक्राउ गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए । ‘पहिला हामीले फरार रहेका सबैलाई पक्राउ गर्ने सोँचमा थियौँ । त्यो अभिलेखको संख्या बढी भयो त्यसपछि दश वर्ष बढी सजाय भएका कसूरदार समात्न थाल्यौँ’, उपरीक्षक केसीले भने ।

रुपन्देहीमा करिव चार हजार ६ सय फरार अपराधी रहेको प्रहरीको तथ्यांक छ । त्यसमा दश वर्ष बढी कैद सजाय भएका एक सय ८६ जना छन् । मुख्यतः कर्तव्य ज्यान, जवर्जस्ती करणी र लागु औषध मुद्दामा कैद सजाय फैसला भएका अपराधी फरार छन् । फरार प्रतिवादीहरुको पक्राउले अपराध न्यूनिकरण प्रभावकारी हुनेछ ।