October 15, 2024, Tuesday
२०८१ आश्विन २९

जसपाले फेरि सोध्यो लुम्बिनी प्रदेशका चार मन्त्रीलाई स्पष्टीकरण

भैरहवा– जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना सांसदलाई पुनः स्पष्टिकरण सोधेको छ । जसपाले मन्त्रीसमेत रहेका सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको हो ।

केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले चारैजना मन्त्रीलाई छुट्टाछुट्टै पत्र पठाएर पाँच दिनभित्र वस्तुनिष्ट सन्तोषजनक स्पष्टीकरण लिखित रुपमा बुझाउन निर्देशन दिएका छन् । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले उनीहरुलाई स्पष्टिकरण सोधेको हो ।

Advertisement

लुम्बिनीमा जसपा संसदीय दलले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर उनीहरु चार जनाले ह्वीप उल्लंघन गरेकाले कारवाहीका लागि केन्द्रीय समितिमा पत्राचार गरिएको थियो । जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सहषराम यादवले संसदीय दलको सिफारिसअनुसार पार्टी केन्द्रीय समितिले स्पष्टीकरण सोधेको जानकारी दिए ।

गत वैशाख १९ मा पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि उनीहरुलाई कारबाही गरिएको थियो । त्यसपछि उनीहरु पदमुक्त भएका थिए । तर सर्वोच्च अदालतले चारै जनालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

जसपाले तोकिएको अवधिभित्र सन्तोषजनक स्पष्टीकरण नबुझाएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ (४ र ५ ) तथा पार्टीको अन्तरिम विधान २०७७ धारा ४९ र ५० (१) बमोजिम आवश्यक कारवाही हुने पत्रमा उल्लेख छ ।