रुपन्देही र कपिलवस्तुमा घट्दै संक्रमण, खाली हुन थाले आइसोलेसन


भैरहवा/तौलिहवा– वैशाखको अन्तिम सातातिर रुपन्देहीमा कोरोना भाइरस संक्रमण भयावह थियो । अस्तापल र स्थानीय तहले बनाएका आइसोलेसन संक्रमितले भरिभराउ थिए । अक्सिजन अभाव उस्तै थियो । बेड नपाएर संक्रमितको भूइँमै राखेर उपचार भएको थियो । तर, अहिले अवस्था फेरिएको छ । जिल्लामा संक्रयि संmक्रमित घट्दै जाँदा आइसोलेसन सेन्टर र अस्पतालहरु खाली हुन थालेका छन् ।
बैशाख २९ गते रुपन्देहीमा १४ सय जनाको कोरोना परीक्षण गर्दा ९०७ जनामा संक्रमण पुष्टि भयो । त्यसको भोलिपल्ट एकैदिन १७ जनाको मृत्यु भयो । त्यसबेला जिल्लामा ७ हजार बढी संक्रीय संक्रमित थिए । स्थानीय हतले बनाएका आइसोलेसन सेन्टरका २३४ र ६ वटा कोरोना अस्पतालहरुमा रहेका आईसीयू, भेन्टिलेटर, एचडीयू र नर्मल बेड गरी ३९९ बेड भरिएका थिए ।
बेड नपाएर सबैजसो अस्पतालमा संक्रमितको भूइँमा राखेर उपचार भएको थियो । त्यतिबेला भारतबाट घर फर्किनेको सीमानाकामा लर्को उस्तै थियो । ‘यसरी कुनैबेला कोरोनाको ‘हटस्पट’ नै बनेको रुपन्देही भने अहिले सामान्य अवस्थामा फर्किन थालेको छ, संक्रमण दैन्दिन घट्दैछ, यो हाम्रा लागि सुखद् पक्ष हो’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने ।
जिल्लामा सोमबार साँझसम्म कोरोनाबाट ४ सय ७३ जनाको मृत्यु भएको छ । पछिल्लो समय संक्रमण ह्वात्तै घटेको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सक्रीय संक्रमित ६ सय १५ मा झरेको छ । ‘१६ वटा स्थानीय तहले बनाएका आसोलेसनमा जम्मा ३५ जना मात्रै संक्रमित हुनुहुन्छ’, रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले भने, ‘यसअघि अधिकांश तहका आइसोलेसन भरिएका थिए ।’
मुख्य सहरबाहेकका स्थानीय तहले बनाएका आइसोलेसन खाली भएका छन् भने अस्पतालहरुमा पनि विरामी चाँप छैन । जिल्लाका ६ वटा कोरोना अस्पतालमा अहिले डेढसयको हाराहारीमा रहेका संक्रमितको उपचार जारी छ । अन्य संक्रमित होम आइसोलेसनमा बसेका छन् ।

साहकाअनुसार अहिले ५ सय ७ जना संक्रमित होम आइसोलेसनमा छन् । एक सय ८ जनामा मात्रै लक्षण तथा चिन्ह देखिएको छ । ‘पहिला भारतबाट आउनेहरुको संख्या अत्यधिक थियो, भारतबाट आएर सिधै गाउँमा जाँदा संक्रमण फैलियो । हामीले कन्ट्रयाक ट्रेसिङ गर्ने, सचेतना फैलाउने काम गर्यौ । निषेधाज्ञाले पनि काम गर्यो । यस कारण संक्रमण घटेको हो’, साहले भने ।
जनस्वास्थ्य विज्ञले परीक्षण दर घटेका कारण संक्रीय संक्रमित घटेको बताउँदै आएका छन् । तर जिल्लाका सरकारी अधिकारीहरु भने भारतबाट आउनेहरु घटेको, सचेतना र निषेधाज्ञा कारण संक्रमित नै घटेको दावी गर्दै आएका छन् । जिल्लामा बैशाख अन्तिमतिर दैनिक १४ सयको हाराहारीमा कोरोना परीक्षण हुँदै आए पनि अहिले जम्मा ४ सयको हाराहारीमा हुँदै आएको छ ।
यता कपिलवस्तुमा पनि संक्रमितको संख्या घटेको छ । दैनिक ४–५ जना मात्र नयाँ विरामी थपिँदै गएका छन् । उनीहरु घरमै आइसोलेसनमा बस्ने खालका छन् । संक्रमण घटेपछि जिल्लाका अस्पतालहरुमा बिरामीको चाप कम भएको छ ।
कोरोना संक्रमितका लागि छुट्याइएका बेड पनि खाली भएका छन् । जिल्लामा भाइरसको दोस्रो लहर सुरुभएपछि पहिलो पटक चैत्र १९ गते संक्रमण देखिएको थियो । त्यसयता बढेर ३ हजार ३ सयमा संक्रमण पुष्टि भएको थियो । अहिले घटेर ४ सयभन्दा कम भएको छ । सदरमुकाम तौलिहवाको अस्पतालमा आईसीयूमा ५ जना मात्रै छन् ।
तौलिहवाका कोविड अस्थाई अस्पतालमा ७ जनामात्रै छन् । उनीहरुको अवस्था सामान्य छ । कुनै बेला यी दुबै अस्पतालमा दैनिक ६० बढी शंकास्पद विरामी आउँथे । उपचार गर्दा बेड अभाव भएर भूइँमा राखेर गर्नु पथ्र्यो । शिवराज नगरपालिकाले संचालन गरेको १५ बेडको नगर आधारभूत अस्पतालको बेड शनिवारबाट खाली भएको छ ।
संक्रमित बढेर ५ सय पुगेपछि गत बैशाख २१ गतेबाट जिल्लामा निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञा अहिले पनि जारी छ । सामाजिक दूरी पालनासँगै सचेतना र सतर्कता अपनाउँदा संक्रमण दर घट्दै गएको चिकित्सक बताउँछन् । संक्रमित घटदै गए पनि सावधानी अपनाउन छाड्न नहुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस्